भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षमा भन्दा करिब ३ करोड कम बजेट विनियोजन गरेको छ।
बिहीबार नवौं नगर सभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै उपमेयर पार्वती शाह ठकुरीले सहरी पूर्वाधार, भू–उपयोग तथा बस्ती विकास र अधुरा योजनाको निरन्तरता, शिक्षा, स्वास्थ्य, पशु तथा कृषि विकास लगायतलाई प्राथमिकतामा राखेको बताइन्।
महानगरले आगामी वर्षका लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ। यो रकम चालू आर्थिक वर्षका लागि महानगरले विनियोजन गरेको बजेट भन्दा २ करोड ९० लाख १७ हजार रूपैयाँ कम हो।
आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ८४ करोड २ लाख ८२ हजार रूपैयाँ बजेट विनियोजन भएको थियो।
चालूतर्फ १ अर्ब ८९ करोड ७३ लाख ५ हजार विनियोजन भएकोमा असारको पहिलो हप्तासम्ममा १ अर्ब १८ करोड ४२ लाख ३३ हजार (६२.४ प्रतिशत) र पुँजीगततर्फ २ अर्ब ९४ करोड २९ लाख ७८ हजार रूपैयाँ विनियोजन भएकोमा १ अर्ब १४ करोड १४ लाख ६८ हजार (३९ प्रतिशत) खर्च भएको ठकुरीले बताइन्।
कुल बजेटको २ अर्ब ३२ करोड ५७ लाख रूपैयाँमात्रै चालू आर्थिक वर्षमा खर्च भएको छ।
आर्थिक वर्ष २०७६/०७७ को यही अवधिमा चालूतर्फ ६० र पुँजीगततर्फ ३०.६ प्रतिशत खर्च भएको थियो। यसलाई देखाएर चालू आर्थिक वर्षको खर्चलाई महानगरले सन्तोषजनक मानेको छ।
यस आर्थिक वर्षमा महानगरले पूर्ण बजेटले नपुगेको भन्दै पूरक बजेटसमेत ल्याएको थियो। तर खर्च हुन नसकेपछि चालूतर्फको १ अर्ब ७९ करोड ५० लाख, पुँजीगततर्फको १ अर्ब ७४ करोड ४५ लाख तथा संघीय र प्रदेश सरकारको सशर्त अनुदानमा प्राप्त भएको ६ करोड रुपैयाँ फ्रिज हुने भएको छ।
उपमेयर ठकुरीले यसमा आयमा असारको पहिलो हप्ता सम्ममा महानगरले ९५ करोड (घर जग्गा रजिष्ट्रेसन र जनसहभागितासहित) आन्तरिक आम्दानी गरेको बताइन्।
असार मसान्तसम्ममा यो बढेर १ अर्ब ५ करोड रूपैयाँ राजश्व आम्दानी हुने अनुमान महानगरको छ।
महानगरले आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजन गरेको बजेट रकम आन्तरिक आम्दानीबाट १ अर्ब २० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, बैंक मौज्दातबाट १ अर्ब, मर्मत सम्भार कोषबाट ३ करोड, सडक बोर्डबाट ३ करोड र जिल्ला समन्वय समितिबाट ३ करोड रूपैयाँ रहेको उल्लेख गरेको छ।
अन्तर सरकारी अख्तियारीबाट आउने १ अर्ब २० करोड मूल सञ्चित कोषमा जम्मा नहुने भएकाले अन्तर सरकारी अख्तियारी शीर्षकबाटै नै खर्च गरिने महानगरले उल्लेख गरेको छ।
महानगरले अधुरा योजना पूरा गर्नका लागि करिब १ अर्ब रूपैयाँ छुट्टाएको छ। चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि २ करोड र यस आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी हुन बाँकी रहेका योजनाका लागि ९८ करोड रूपैयाँ विनियोजन गरेको छ।
प्रत्येक वडालाई एक करोड ७० लाख रूपैयाँका दरले बजेट विनियोजन गरेको ठकुरीले बताइन्।
महानगरले सहरी पूर्वाधार, भू–उपयोग तथा बस्ती विकासका लागि ३१ करोड, महानगरको भवन बनाउन १० करोड, शिक्षामा १२ करोड ५० लाख, स्वास्थ्यमा ९ करोड विनियोजन गरेको छ।
कोभिड नियन्त्रण तथा प्रभावकारी उपचारका लागि १ करोड ९० लाख रूपैयाँको महानगरपालिका कोभिड कोष स्थापना गरिएको छ।
त्यसैगरी, कृषि र पशुपंक्षी विकासमा ८ करोड, अनुदानमा ८ करोड ७० लाख, वातावरण, तथा सरसफाइ र हरियाली प्रवर्द्धनमा ७ करोड, विपद् व्यवस्थापनमा १ करोड ५० लाख, नियमित मर्मतसम्भारमा ६ करोड, सहकारी तथा रोजगारी प्रवर्द्धन ३ करोड ५० लाख, निजी क्षेत्रसँग सहकार्यगरी पूर्वाधार विकास गर्न ३ करोड ५० लाख, युवा तथा खेलकुदमा ३ करोड, सूचना, प्रविधि एवम् डिजिटल प्रणालीका लागि २ करोड ५१ लाख ५८ हजार, पर्यटन तथा उद्योग वाणिज्यमा २ करोड ५० लाख, लैंगिक समानता, महिला सशक्तिकरण र सामाजिक समावेशीकरणमा २ करोड ५० लाख,राजश्व प्रशासन १ करोड ५० लाख विनियोजन गरिएको छ।
कर्मचारी प्रशासन तथा जनशक्ति विकास तथा सुशासनका लागि १ करोड ५० लाख र सेवा, प्रवाह र प्रशासन शीर्षकमा सरकारले बढाएको तलबको अतिरिक्त महानगर र अन्तर्गतका राजपत्रांकित कर्मतचारीलाई १० र अनंकितलाई १५ प्रतिशत तलब वृद्धि गर्न ५९ करोड रूपैयाँ विनियोजन गरिएको छ।