देश र माटो भनेपछि हुरूक्कै हुने प्रवासी नेपाली समाजलाई बाढी, पहिरो, भुईँचालो या कोरोनाले मुलुक दुखेको बेला थप पीडा दिन्छ र सहयोगमा एकजुट हुन्छ।
एनआरएनका नाममा गफ हाकिए होलान् या डलरका कलरमा कसैले भुलाए होलान् तर यसको स्वार्थ र उद्धेश्य भनेको मुलुकको मायानै हो।
जन्मेको ठाउँ र हुर्केको गाउँ कसलाई प्यारो हुँदैन र? विदेशमा बसेर कमाएको धन अनि ज्ञानलाई मुलुकसँग जोड्ने काममा पनि एनआरएन सफल भएकै छ। प्रवासमा छरिएका लाखौं नेपालीलाई एकाकार बनाउने यो संगठन यतिखेर राजनीति र विकृतिका कारण छिन्नभिन्न हुने अवस्थामा छ।
प्रवासमा रहेका नेपाली राजनीतिक दलका भगिनी संस्थामा बढ्दो प्रभाव र हस्तक्षेपले यसलाई चिरा चिरामा विभक्त पार्ने सम्भावना देखिएको छ।
राजनीतिक रंगभन्दा नेपालीपनको उमंग बोकेर अगाडि बढ्ने यस संस्थाको महत्वकांक्षालाई राजनीतिक दलको प्रत्यक्ष सहभागिताले मृत अवस्थामा पुर्याउन थालेको छ।
संसारका ८० भन्दा बढि राष्ट्रका नेपालीको छाता संगठन एनआएरएन यतिखेर राजनीतिक परिवन्दको शिकारस्वरुप पराराष्ट्रमा बन्धक छ। अक्टोबरमा हुने भनिएको निर्वाचन अनिश्चत छ। विदेशमा रगत पसिना बगाएर मुलुकको हितका लागि पाइपाइ संकलन गर्ने यो संस्था कांग्रेस र कम्युनिष्टको भगिनी संस्थाझै बन्दैछ।
चुनावअघि पार्टीका निर्देशन र दलका नेताको नेतृत्वमा समिति बन्न थालेका छन्। यो प्रवासी नेपालीका लागि दुर्भाग्यको विषय हो। अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वासिलो साझेदारका रूपमा अगाडि बढेको एनआरएन यतिखेर राजनीतिक किचलोको शिकार बन्दै खतरनाक भाइरसको बिकारझै खोक्रो बन्न थालेको छ।
प्रवासमा रहेका राष्ट्रिय संघमासमेत राजनीतिक सिन्डीकेट र पार्टीको इन्डिकेटमा नेतृत्व चयनको परिपाटी बस्न थालेको छ। प्रवासी नेपालीको यो संगठनलाई राजनीतिमा मुछ्ने हो भने धन्धावाल, हुन्डीवाल र बिचौलीयाले आफ्नो स्वार्थमा प्रयोग गर्न थाल्नेछन्। नेपालका नेताको काम अलिकति दाममै बिक्ने भएकोले पनि उनीहरूले यो संस्थामा सहजै राजनीती प्रवेश गराएर स्वार्थ पूरा गर्न लागेका हुन्।
पछिल्लो समयमा राजनीतिक दलका लेटरप्याडमा आएका मानार्थ, तदर्थ र बैकल्पिकजस्ता विशेषणका नियुक्तिपत्र यसैका ज्वलन्त प्रमाण हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा उम्मेदवारी दिएका कुल आचार्यको समूहलाई जिताउन कांग्रेसले आफ्नो संगठनलाई निर्देशन दिएको पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ । पत्रमा एनआरएनको लागि क्षेत्र हेर्ने केन्द्रीय नेतासमेत तोकिएको छ। जुन पार्टीका लागि लाजमर्दो विषय हो।
युरोप क्षेत्रको लागि सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य गगन थापा, एसिया क्षेत्रको लागि केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशी, अमेरिका क्षेत्रका लागि केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व र नेपाली जनसर्म्पक समितिका लागि केन्द्रीय सदस्य एवं नेपाली जनसर्म्पक समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मा र ओसियाना क्षेत्रका लागि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी दिएको पत्रमा भनिएको छ।
आस्था र विचारमा कटिबद्ध मात्र होइन, नेता र नैतिकतामा पनि खरो उत्रेका यी युवा नेता प्रवासी नेपालीको संगठनमा राजनीति मुछ्न किन उदृत भएका होलान् त्यो बुझन सकिएन।
एनआरएनको १० औं महाधिवेशनको लागि कुल आचार्य, बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन्। निर्वाचन अक्टोबरमा हुने भनिए पनि परराष्ट्रको विवादले अन्यौल छ।
यसपटकबाट प्रतिनिधिले विश्वभरबाट अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ। यी तीन वटा समूहमा रविना र आचार्य कांग्रेस निकट उमेदवार मानिन्छन् र आचार्यलाई सघाउन पार्टीले ह्वीपसमेत जारी गरेको छ।
राजनीतिक विचार बोक्ने कयैन ब्यक्ति दुबै समूहबाट उम्मेद्वार होलान्। तर झ्याली पिटेर पत्र काटेर सामाजिक संजालमा भाइरल भएर कुनै एक पात्रका लागि पार्टीले आफ्नो पहिचान र सम्मान बेच्नुहुन्थ्यो कि हुँदैनथ्यो भन्ने प्रश्न यतिखेर प्रवासमा रहेका लोकतन्त्रवादीबीच बहसको विषय बनेको छ।
संकट समाधान र मुलुकको पहिचानको लागि कहलिएको एउटा गैर राजनीतिक संस्थामाथि नेपाली कांग्रेसको खुलेआम चिरहरणले पार्टीको शाख गिर्ने काम भएको छ।
हुन त एनआरएनमा कम्युनिष्टले पनि राजनीति नगरेका होइनन्। तर उनीहरूको देखाउने दात यतिबिघ्न लाजको पसारो बनेको भने छैन।
चुनावमा देखिएका अनुहार हेर्ने हो भने दुबै समूहमा मिक्स म्याक्स राजनीतिक छायाँ देख्न सकिन्छ। एकातिर माओवादी र कांग्रेसको गठबन्धन र अर्कोतिर पनि एमाले कांग्रेसकै गठबन्धन देखिएको छ।
यस्तो अवस्थामा राजनीतिको प्रभावले कुनै अर्थ राख्न सक्दैन। टिम मिलाएर लाने कुरामा लोकतन्त्रवादी चुकेका छन्। आफ्नो कमजोरी छोप्न र अर्काको लाज ढाक्न पार्टी गुहार्ने काम भने पटक्कै सुहाएको छैन।
त्यसमाथि पनि सत्तामा रहेको नेपाली कांग्रेसले एउटा ब्यक्ति तोकेर राजनीतिक संयन्त्रलाई चुनावमा प्रयोग गर्नु आफैंमा गलत निर्णय हो। यसले राजनीतिक आस्था र उद्धेश्यमासमेत गम्भीर प्रश्न उठाएको छ।
बिपीको बाणी सम्झँदै भन्न मन लाग्यो- पार्टीका गलत क्रियाकलापविरूद्ध बोल्नेनै पार्टीका इमानदार सीपाही हुन्। त्यसैले पार्टी सभापतीज्यू बेलैमा बुद्धि पुर्याएर यस्ता गल्ती रोक्नुहोस्। नत्र पार्टीको शाख र तपाईँको नाकमा कालो लाग्न सक्नेछ।