पश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियार पठाए रूसले युक्रेनमाथि थप आक्रमण गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्।
रूसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको सूची विस्तार गर्ने चेतावनी दिएको बिबिसीले जनाएको छ।
रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको बताएको छ, तर युक्रेनले रुसले रेलवे मर्मत केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ।
यस्तै युद्धकै अर्को घटनामा डोन्बास क्षेत्रको लडाइँमा एक रूसी जनरल मारिएका छन्।
रूसले मार्चको अन्त्यमा किएभ क्षेत्रबाट आफ्ना सेना फिर्ता गरेर डोन्बास क्षेत्रमा पुन: केन्द्रित गरेको थियो।
रूसले त्यहाँ स्थलमार्गमा ढिलो तर स्थिर प्रगति गरिरहेको बेला धेरै देशहरूले किभलाई शक्तिशाली अत्याधुनिक हतियार पठाउने वाचा गरेका छन्।
हालै मात्र अमेरिकाले एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली एचआईएमएआरएस पठाउने घोषणा गरेको थियो। यसले ७० किलोमिटरसम्म प्रहार गर्न सक्छ।
ह्वाइट हाउसका अधिकारीहरूले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ती प्रणालीहरू रूसी सीमाभित्र प्रहार गर्न प्रयोग नगर्ने सर्तमा मात्र किएभलाई उपलब्ध गराउन सहमत भएका छन्।
अमेरिकी सैन्य सहायता प्याकेजमा हेलिकप्टर, ट्याङ्कविरुद्ध प्रयोग गरिने अस्त्रहरू, रणनीतिक सवारीसाधन र स्पेयर पार्ट्स पनि समावेश छन्।
यस्तै रूसी हवाई आक्रमणबाट पूरै सहरलाई जोगाउन र युक्रेनलाई सक्षम बनाउन जर्मनीले आफ्नो सबैभन्दा आधुनिक वायु रक्षा प्रणाली आइरिस-टी पठाउने प्रतिबद्धतासमेत जनाएको छ।
रूसी राष्ट्रपति पुटिनले अमेरिकालगायत पश्चिमा मुलुकले लामो दूरीका क्षेप्यास्त्र पठाउने कदमविरुद्ध चेतावनी दिँदै यदि ती आपूर्ति गरिएमा आफूहरू उपयुक्त निष्कर्ष निकाल्ने र ती लक्ष्यहरूमा हाम्रा अहिलेसम्म प्रहार नगरेका अस्त्रहरू प्रहार गर्ने बताएका छन्।