तुलसीपुर–घोराही चार लेन सडक खण्ड नबनेको विषयमा बिहीबार दिउँसो गृहनगर दाङमा सञ्चार मन्त्री रेखा शर्मालाई स्थानीयले घेराबन्दी गर्दै प्रश्न सोधेका छन्।
घोराही उपमहानगरपालिका वडा नं. १० को नारायणपुरमा नारायणपुर उद्योग वाणिज्य संघको आयोजना गरेको सञ्चालन चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्न गएकी मन्त्री शर्मालाई स्थानीयले सडकमै घेराबन्दीमा पारी किन सडक नबनेको हो? भनेर प्रश्न सोधेका थिए।
उनीहरूले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न माग गर्दै छिटो चार लेन सडक बनाउन दबाब दिएका थिए।
‘चुनावी नारामा मात्रै चार लेन सडक सीमित नहोस्,’ भिडमा धेरैले प्रश्न सोधेका थिए, ‘अन्यथा हामी जस्तोसुकै आन्दोलन गर्न बाध्य हुनेछौं।’
उनीहरूले चुनावभन्दा अगाडि सुनेको भाषण अनुसार काम हुनुपर्ने माग गरेका थिए।
सरकार प्रवक्तासमेत रहेकी मन्त्री शर्मा गत मंसिर ४ गते भएको संसदीय निर्वाचनका क्रममा दाङको निर्वाचन क्षेत्र नं. २ अर्थात् यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।
उक्त निर्वाचनका क्रममा उनले आफूले जितेर गए पहिलो काम चार लेन सडक विस्तारमा ध्यान दिने बताएकी थिइन्। सोही कुरा स्थानीयले मन्त्री शर्मालाई सोधेका थिए।
स्थानीयले घेरेपछि जवाफ दिन मन्त्री शर्मा सडकमै हाते माइक लिएर तयार भएकी थिइन्।
उनले चार लेनको काम भने अनुसार नभएको भन्दै छिट्टै सम्झौता रद्द गर्ने दिशामा सरकार अगाडि बढेको जवाफ दिएकी थिइन्।
भिडभाडका बीच जिल्लाका उच्च नेता र प्रहरी अधिकारीले सकार प्रवक्तासमेत रहेकी शर्मालाई मेला स्थलमा पुर्याएका थिए।
आफूमाथि भएको घेराबन्दीबारे मन्त्री शर्माले मेला उद्घाटनका क्रममा बोलेकी थिइन्।
मेलालाई सम्बोधन गर्दै उनले लमही–घोराही–तुलसीपुरको चार लेन सडक सरकारको पहिलो प्राथमिकता रहेको बताइन्।
‘यो चार लेन सडकलाई सरकारले पहिलो प्राथमिकताका रूपमा लिएको छ,’ उनले भनेकी थिइन्, ‘सरकारले यसलाई संवेदनशील रूपमा लिएको छ।’
तर, उनले चार लेन सडकलाई राजनीतिक मुद्दा बनाएर अतिरञ्जनात्मक रूपमा प्रस्तुत नगर्न आग्रह गरेकी थिइन्।
नागरिकस्तरबाट रचनात्मक दबाब सृजना गरेर पनि सरकारलाई ध्यानाकर्षण गराउन सहज हुने भन्दै उनले जनप्रतिनिधिलाई प्रवेश निषेधले समस्या समाधान नहुने बताइन्।
‘यो चार लेन सडकको कार्य प्रगति आधारमा यथाशीघ्र ठेक्का तोडिने र नेपाल सरकारले बोलपत्र आह्वान कार्य प्रक्रिया अगाडि बढाउने छ,’ उनले भनेकी थिइन्, ‘यो रोड फ्री नगरेसम्म सरकारले काम गर्न नसकिने प्रावधान रहेकोले सरकार पहिलाको ठेक्का सम्झौता तोडेर रोड फ्री बनाएर काम सुरू गर्नेछ।’
त्यसपछि सरकार आफैंले पहिलो चरणमा बिग्रिएको बाटो मर्मत गर्नतर्फ लाग्ने उनले जानकारी दिइन्।
त्यस्तै उनले जिल्लाको लाइफ लाइनका योजना अन्तर्गत खंग्रा नाकादेखि नारायणपुर हुँदै होलेरी, रक्षाचौरको बाटो, मुर्कुटी प्यूठानको बाटो, प्रहरी चौकी, स्वास्थ्य चौकीको स्तरोन्नतिलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउन चाहेको जानकारी दिइन्।
उनले सकेसम्म तुलसीपुरको एयरपोर्ट विस्तार गर्न प्रयास गरिने र त्यो कुरा प्राविधिक कारणले सम्भव नभए दाङभित्रै अर्को कुनै ठाउँमा विकल्प खोजिने पनि जानकारी दिएकी थिइन्।