राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गण्डकी प्रदेशस्तरीय विस्तारित बैठक पोखरामा बसेको छ।
पार्टीभित्र मतभेद बढेका बेला बसेको बैठकमा अध्यक्ष लिङ्देन सहभागी भए र सम्बोधन गरेका छन्।
आइतबार भएको विस्तारित बैठकमा अध्यक्ष लिङ्देनले बलियो पार्टीका लागि बलियो संगठन आवश्यक पर्ने बताए।
‘एजेण्डा स्थापित गर्नका लागि बलियो पार्टी, बलियो पार्टीका लागि बलियो संगठनको अपरिहार्यता छ,’ उनले भने, ‘बलियो पार्टी बनाउन तपाईंहरूको साथ र सहयोग अपेक्षा गरेको छु।’
पार्टी शुद्धीकरणका लागि आफूले पछिलो समय केही काम गरेको पनि उनले बताएका थिए।
संगठनको पुनर्ताजगी अभियानमा आफू होमिएको अध्यक्ष लिङ्देनको भनाइ छ।
अध्यक्ष लिङ्देनले आफैले मनोनीत गरेका केही पदाधिकारीहरूबाट अहसयोग भएपछि पदमुक्त गरेका थिए। अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई असार २५ गते लिङ्देनले पदमुक्त गरेका थिए भने साउन २ गते उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए। त्यसविरूद्ध सुवेदी, लावती र गिरी निर्वाचन आयोगमा गएका छन्।
तर अध्यक्ष लिङ्देनले पार्टी विभाग प्रमुख र प्रवक्ता तोक्ने काम निर्वाचन आयोगको नभएको बताएका छन्।
उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शम्शेर राणा र कुन्तिकुमारी शाहीले अध्यक्ष लिङ्देनले नेताहरूलाई पदमुक्त गर्नु विधानविपरीत भएको भन्दै पटकपटक विज्ञप्ति निकालेर ध्यानाकर्षण गरेका थिए भने निर्वाचन आयोगमा पुगेर ध्यानाकर्षण पनि गराएका थिए। आयोगले पनि राप्रपालाई यस विषयमा के भएको हो भनेर पत्र काटेको छ।
तर अध्यक्ष लिङ्देनले पार्टीमा मौलाएको गलत प्रवृत्ति र पार्टीको गरिमा, अनुशासन कायम गर्न आफूले केही निर्णय लिएको भन्दै बचाउ गरेका छन्। उनले आफूले विधानअनुसार नै निर्णय लिएको गण्डकी प्रदेशका अगुवालाई जानकारी गराएको उनीनिकट एक नेताले जानकारी दिए।
विस्तारित बैठकमा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला अध्यक्ष र बैठकका सहभागीहरुले पार्टीको मर्यादा र अनुशासन कायम राख्न अध्यक्ष र पार्टीले लिएको निर्णयको समर्थन गरेको पनि उनले बताए।
बैठकका अधिकांश सहभागीहरूले सार्वजनिक रूपमा पार्टी परित्यागको घोषणा गरेको नवराज सुवेदीलाई बोकेर वरिष्ठ नेताहरू निर्वाचन आयोग जानु र पार्टीमा योजनाबद्ध रूपमा विवाद सिर्जना गर्नु इतर पक्षको गम्भीर 'रणनीतिक भुल भएको' बताएको अध्यक्ष लिङ्देननिकट ती नेताको दाबी छ।
राप्रपामा महाधिवेशनलक्षित गतिविधि बढिरहेको बेला मतभेद बढ्दो छ। त्यसको असर तलसम्म कार्यकर्ताहरूमा पनि देखिन थालेको छ।
संस्थापन पक्षबाट लिङ्देन अर्को कार्यकालका लागि अध्यक्षको दाबेदार छन्। अर्कोतर्फ उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धबल शम्शेर राणा दुवै अध्यक्ष पदमा लिङ्देनसँग भिड्ने पक्षमा छन्।
वडादेखि नगर तहसम्मका अधिवेशनमा समेत भाग लिएर अध्यक्ष लिङ्देनले तलैदेखि आफूनिकटलाई जिताउन खोजेको आरोप इतर पक्षका नेताहरूको छ। लिङ्देन शनिबार झापाको दमक अधिवेशनमा पनि सहभागी भएका थिए।
पोखरामा गण्डकी प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभा र स्थानीय तहका अध्यक्षहरूको बैठकबाट पाएको साथ र समर्थनले लिङ्देन उत्साहित देखिएको उनीनिकट ती नेताले दाबी गरे।
लिङ्देनले पार्टीका सबै स्थानीय तहको अधिवेशन गर्दै निर्धारित समयमा जिल्ला अधिवेशन सम्पन्न गर्न आग्रह गरिरहेका छन्।