लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिदैछन्।
बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ खुवाउने कार्यक्रम छ।
मुख्यमन्त्रीले सानो आकारको मन्त्रिपरिषद् गठन गरी नवनियुक्त मन्त्रीहरूलाई आजै शपथ खुवाउने तयारी गरेका छन्।
स्रोतका अनुसार माओवादी केन्द्रका एक सांसद र अन्य दुई दलका थप दुई गरी तीन मन्त्रीले आज शपथ लिँदैछन्।
माओवादीबाट धनबहादुर मास्की आर्थिक मामिला मन्त्रालयसहित प्रदेश सरकारमा सहभागी हुने निश्चितकरिब छ। उनी दाङ ३(२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
अन्य दुई मन्त्रीको भने टुङ्गो लागिसकेको छैन। लोसपा,नागरिक उन्मुक्ति र जनमत मध्ये दुई पार्टीका दुई जनालाई सरकारमा लैजाने तयारी छ।
कांग्रेसबाट भने आज कसैले पनि मन्त्रीको शपथ लिने छैनन्।
सत्ता गठबन्धनमा मन्त्रीको भागबन्डा मिलाएर यथाशिघ्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी मुख्यमन्त्री चौधरीको छ। भागबन्डाबारे प्रारम्भिक छलफल गर्न बिहान ८ बजेपछि कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ।
लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेपछि बिहीबार आठ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। यहाँ नेपाली कांग्रेस र माओवादीबीच आधा–आधा कार्यकाल प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ।
८७ सदस्य लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४ – ४ , जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३ – ३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १ – १ र स्वतन्त्रबाट १ सांसद छन् ।