लुम्बिनी प्रदेशमा मन्त्री हुने तीन जनाको नाम टुंगो लागेको छ।
नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक-एक जनालाई पहिलो चरणमा मन्त्री बनाउन लागिएको हो।
माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री बन्ने भएका छन्।
मास्की दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र २, पाण्डे रुपेन्देहीको क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ र चौधरी बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट गत मंसिर ४ मा निर्वाचित भएका थिए।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनीहरु तीनै जनालाई बिनाविभागीय मन्त्रीको रुपमा सपथ गराउन लागेका छन्।
नवनियुक्त मुख्यमन्त्री चौधरीलाई आज प्रदेश प्रमुखले शपथ खुवाउने कार्यक्रम छ। त्यसपछि प्रदेश प्रमुखले ३ जना विनाविभागीय मन्त्रीलाई पनि शपथ खुवाउनेछन्।
मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिने र थप मन्त्री बनाउनेबारे पछि छलफल गरी निर्णयमा पुग्ने तयारी छ।