लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र तीन बिनाविभागीय मन्त्रीहरूले शपथ लिएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले बुटवलस्थित आफ्नो कार्यालयमा शुक्रबार मध्याह्न मुख्यमन्त्री चौधरीलाई शपथ खुवाएका हुन्।
त्यसपछि दाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा माओवादी केन्द्रबाट निर्वाचित धनबहादुर मास्की, रूपन्देहीको ३ (१) मा लोसपाका सन्तोषकुमार पाण्डे र बर्दियाको २ (२) मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित धर्मबहादुर चौधरीलाई शपथ खुवाइएको थियो।
उनीहरू तीनै जनाले बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्।
मुख्यमन्त्री चौधरी र मन्त्री मास्की गत मंसिर ४ गतेको निर्वाचनका क्रममा एकै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। चुनावी गठबन्धन गरी देशैभर तत्कालीन सत्ता साझेदारले उम्मेदवार खडा गरेका थिए।
कांग्रेसले दाङको निर्वाचन क्षेत्र नं. ३ (१) मा मुख्यमन्त्री चौधरीलाई उम्मेदवार बनाएको थियो भने माओवादीले ३ (२) मा मास्कीलाई उम्मेदवार बनाएको थियो।
उनीहरू निर्वाचनका क्रममा संयुक्त चुनावी प्रचार अभियानमा सँगसँगै एक अर्काका लागि भोट माग्न हिँडेका थिए।
निर्वाचनको परिणामपछि पनि उनीहरूले तुलसीपुरका संयुक्त विजयी र्यालीको आयोजना गरेका थिए। निर्वाचनकै क्रममा चौधरीलाई मुख्यमन्त्रीका रूपमा र मास्कीलाई मन्त्रीका रूपमा प्रस्तुत गरिएको थियो।
गठबन्धनका चुनावी भाषणहरूमा निर्वाचन क्षेत्रका सबैलाई जिताउन माग गर्दै जितपछि तीनै जना मन्त्री हुने र पश्चिम दाङको विकासका लागि भूमिका खेल्नेजस्ता आश्वासन उनीहरूले बाँडेका थिए।
दाङको टरिगाउँ एयरपोर्ट बिस्तारदेखि कृषि क्याम्पस स्थापना, सिँचाइका प्रबन्ध गर्ने, तुलसीपुर–घोराही, तुलसीपुर– कालिमाटी सडक खण्डको स्तरोन्नति जस्ता विकासका योजना ल्याउने उनीहरूले वाचा गरेका थिए।
यो निर्वाचन क्षेत्रबाट निर्वाचनमध्ये कांग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सांसद दीपक गिरी भने यो पटक मन्त्री हुन पाएका छैनन्।