लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिने भएका छन्।
यसअघि वैशाख १८ गते (सोमबार) विश्वासको मत लिने भनिएको थियो। उक्त दिन श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले उनले मंगलबार विश्वासको मत लिने उनको सचिवालयले जानकारी दिएको छ।
गत मंसिर ४ गते भएको संसदीय निर्वाचनका क्रममा नेपाली कांग्रेसका नेता चौधरी दाङको निर्वाचन क्षेत्र नं.३ को प्रदेश सभा १ बाट निर्वाचित भएका थिए। नेकपा (एमाले) र राप्रपाबाहेक प्रदेशमा क्रियाशील अन्य सबै आठ दल तथा एक स्वतन्त्र सांसदसमेत ५३ जना सांसदको समर्थनमा वैशाख १४ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने वैशाख १५ गते शपथ लिएका थिए।
नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने समय निकट आउन लागेको हुँदा लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई छिटो सरकारलाई पूर्णता दिएर समयमै बजेट ल्याउनु पर्ने बाध्यता छ।
मुख्यमन्त्री चौधरीले विश्वासको मत लिइसकेपछि जति हुन्छ छिटो सरकारलाई पूर्णता दिने सेतोपाटीलाई बताए।
‘हामीलाई ढिला गर्ने मौका नै छैन,’ उनले भने, ‘विश्वासको मत लिएको हप्ता दिन भित्रै सरकारलाई पूर्णता दिइने छ।’
मुख्यमन्त्री चौधरीसँगै वैशाख १५ गते तीन जना बिनाविभागीय मन्त्रीहरूले शपथ लिएका थिए।
दाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा माओवादी केन्द्रबाट निर्वाचित धनबहादुर मास्की, रूपन्देहीको ३ (१) बाट निर्वाचित लोसपाका सन्तोषकुमार पाण्डे र बर्दियाको २ (२) बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री बनाइएको भए पनि उनीहरूलाई हालसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी तोएिको छैन।
८७ सस्दय लुम्बिनी प्रदेश सभामा मन्त्री बन्न चाहनेहरूको संख्या ठूलो रहेको हुँदा दलहरूलाई मन्त्री छनोट गर्न भने सकस हुने देखिएको छ। कांग्रेस, माओवादीमा त्यसका लागि छलफल जारी रहे पनि क-कसलाई मन्त्रीमा पठाउने भन्ने टुंगो लागि नसकेको स्रोतले बताएको छ।