लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो जग नै तल्लो तहका र पछाडि पारिएका जनता भएको हुँदा अब पनि उनीहरूलाई नै केन्द्रमा राखेर काम गर्ने बताएका छन्।
मुख्यमन्त्री भएपछि पहिलो पटक सोमबार गृहनगर तुलसीपुर उपमहानगर आएका मुख्यमन्त्री चौधरीले सेतोपाटीसँग कुरा गर्दै तल्लो तहका सामान्य जनतालाई केन्द्रमा राखेर काम गर्ने सेतोपाटीसँग बताए।
‘मेरो खास तल्लो ग्राउन्ड नै बेस संस्था हो र अहिलेसम्म म जहाँ पुगेको छु त्यो ग्राउन्डमै टेकेर पुगेको हुँदा त्यो कहिल्यै भुल्ने छैन,’ उनले अगाडि भनेका थिए, ‘म मुख्यमन्त्री भए पनि म ती तल्लो तहका मानिस कहिल्यै भुल्ने छैन।’
आफूले विगतमा ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्थाको माध्यमबाट गाउँका दूरदराजमा गरेको सामाजिक सेवा होस् वा प्रौढ शिक्षा त्यो एक किसिमको समाज रूपान्तरणको क्रान्ति भएको भन्दै उनले त्यो आधारलाई अब पनि भुल्न नसक्ने तर्क गरे।
तुलसीपुर–६ स्थित बेस संस्थाको केन्द्रीय कार्यालयले आफ्ना संस्थापक अध्यक्ष तथा मुख्यमन्त्री चौधरीका स्वागत तथा सम्मान कार्यक्रममा पुगेका उनले आफू लुम्बिनी प्रदेशको पर्यटन मन्त्री हुँदा पनि त्यस्तै पछाडि पारिएका र सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर उनीहरूकै हकहितमा काम गरेको बताएका थिए।
‘त्यतिखेर आफूले तल्लो तहका मानिससम्म कसरी पुग्न सकिन्छ भनेर हामीले बादी, गन्दर्व, थारूहरूका हकहितका लागि थुप्रै कार्यक्रमहरू तयार पारेका छौं,’ उनले भनेका थिए, ‘अब फेरि म ती कार्यक्रमलाई निरन्तरता दिनेछु।’
सोमबारमात्रै आफूले बाँकेको नेपालगञ्जमा भएको छलफलमा त्यस्ता सीमान्तकृत समुदायको हिकहितमा काम गर्नका लागि स्रोत प्रशस्त रहेको हुँदा त्यसलाई अधिकतम परिचनाल गरी अगाडि बढ्नु पर्ने कुरामा जोड दिएको जानकारी दिए।
‘हिजो गाउँ गाउँमा प्रौढ शिक्षा विद्यालय जानबाट बञ्चित भएका समुदायलाई त्यसको माध्यमबाट चेतनाको दियो बालेका थियौं,’ उनले भने, ‘अब गाउँ-गाउँका त्यस्ता समुदायका हरेक मानिसले मासिक दश हजारभन्दा बढी कमाउने गरी कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्नेबारे मेरो मुख्य उद्धेश्य रहने छ।’
यसअघि उनी ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्री छँदा उनले बादी र गन्दर्व समुदायका लागि उनीहरूका परम्परागत सीप मादल बनाउने, परम्परागत उनीहरूका लोक भाषाको संरक्षण गर्ने, वाद्यवादन कलालाई कसरी पर्यटन प्रवर्द्धनसँग जोड्ने भन्नेबारे कार्यक्रम तयार पारेका हुँदा त्यसैको आधारमा अब पनि अगाडि बढ्ने उनको भनाइ थियो।
मुख्यमन्त्री चौधरीले विगतदेखि नै थारु, मगर, गुरुङ समुदायले उत्पादन गर्ने रैथाने अन्नबाली, उनीहरूका रैथाने परिकार र उनीहरूले बनाउने मदिरालाई ब्रान्डिङ गरी विदेशसम्म पठाउने भन्नेबारे कुरा गर्दै आएका थिए।
उनले विदेशी महँगा रक्सीहरूभन्दा थारु, मगर, गुरुङ लगायतका जनजातिहरूले परम्परागत रूपमा घरमा आफ्नै खपतका लागि बनाउँदै आएको मदिरा कयौंगुणा स्तरीय भएको भन्दै त्यसको ब्रान्डिङ गरी ती विदेशसम्म निर्यात गर्न सके नेपालको अर्थतन्त्रमा सुधार आउन सक्ने धारणा राख्दै आएका छन्।
उनी गत मंसिर ४ गते भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए।
मुख्यमन्त्री चौधरीले वैशाख १९ गते विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री चौधरीले आफूले विश्वासको मत लिइसकेपछि जति हुन्छ छिटो सरकारलाई पूर्णता दिने सेतोपाटीलाई बताए।
‘हामीलाई ढिला गर्ने मौका नै छैन,’ उनले भने, ‘विश्वासको मत लिएको हप्ता दिनभित्रै सरकारलाई पूर्णता दिइने छ।’