लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चखौरा थारूहरूको नक्कली र सुकौराकोट सक्कली ठाउँ भएको बताएका छन्।
सोमबार तुलसीपुर-११ स्थित प्राचिन दंगीशरण थारू राजाको दरबार रहेको स्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले त्यस्तो बताएका हुन्।
प्राचिन थारू राजाको कोट सुकौरालाई ओझेल पारेर चखौरामा थारू संग्राहलय बनाएको भन्दै मुख्यमन्त्री चौधरीको आलोचना हुँदै आएको थियो। त्यसबारे स्पष्ट पार्दै चखौरामा संग्राहलयमात्रै बनेको र सुकौराकोट दरबारलाई ऐतिहासिक पवित्र भूमिको रूमा विकास गर्नुपर्ने बताए।
‘हामीले बुद्ध जन्मेको ठाउँ पवित्र भूमि भने जस्तै दंगीशरण राजा जन्मेको ठाउँ पनि पवित्र भूमी हो भनेर बनाउन खोजिरहेका छौं,’ उनले अगाडि भने, ‘आज पनि डिल्लीले सुकौरा ओझेल पारेर चखौरा बनायो भन्ने गरिन्छ, त्यसो होइन चखौरा थारूहरूको लागि नक्कली संग्राहलय हो भने सुकौरा साँच्चिकै थारूहरूको पूज्य थलो हो।’
विगतमा आफूले सुकौराकोट दरबारको विकास गर्न धेरै प्रयास गरेपनि आपसी झगडाका कारण बनाउन नसकिएको उनको गुनासो थियो।
‘विगतमा कहिले सुकौरा र कहिले बेलगनारको झगडा यो ठाउँ बन्न सकेन,’ उनले भने, ‘अब झगडा होइन यो ठाउँ बनाउन लाग्नुहोस, विकासका लागि एक पार्टीले अर्को पार्टीको विरोध नगर्नुहोस्।’
अझै सुकौराकोटमा थप अध्ययन र उत्खननहरू हुन बाँकी नै रहेको भन्दै त्यहाँको माटोलाई कसैले पनि मनपरी नचलाउन उनले आग्रह गरे।
इतिहासको आधारमा दंगीशरण थारू राजाको दरबार क्षेत्रको विस्तृत गुरू योजना तयार गरी विकास गरिने उनले बताए। यसका लागि मन्त्रिपरिषदबाटै निर्णय गराएर सकौराकोट विकास प्राधिकरण गठन गरिने उनले बताए।
‘दंगीशरण राजाको इतिहास कसरी खोज्ने त्यो मुलभूत कुराहरू हो,’ उनले भने, ‘दंगीशरण राजाका पैसाहरू हामीले पाएका छौं र उत्खनन् पछि पुरातत्व विभागमा घोडाका कैंजाहरू, माटाका सिक्काहरू अहिले पनि सुरक्षित छन् अब त्यसका आधारमा विकास अगाडि बढ्नुपर्छ।’
तर इतिहास नखोजेर मनपरी सुकौराकोटमा कामहरू हुन थालेको भन्दै उनले असन्तुष्टि जनाएका थिए।
‘हामी कोही पर्खाल बनाउन तर्फ लाग्यौं, कोही टावर बनाउन तर्फ लाग्यौं,’ उनले भने, ‘त्यसो होइन बरू हामीले थारू राजाहरू कहाँ नुहाउँथे, रानीले कहाँ नुहाउँथिन्, कहाँ बसेर पूजा गर्थिन् त्यो पत्ता लगाएर डिपिआर बनाउनुहोस्। बनाउने पैसाको अभाव हुन दिने छैनौंं।’
थारूका अन्तिम राजा रत्नपारूखुको मन्दिर घोराहीमा रहेको उनले बताएका थिए। गोरखनाथबाट दिक्षान्त भएपछि रत्नपारूखुले राजकाज त्यागेर तपस्वी बनेको मुख्यमन्त्री चौधरीले उल्लेख गरे। अहिले पनि घोराहीको रतननाथ मन्दिर जिल्लाको एक चर्चित धार्मिक स्थलका रूपमा परिचित छ।
विगतमा दंगीशरण राजाले नै भारतको पाटनमा पूजा आरधनाका लागि डोली बोकाएर मानिसहरू पठाउने प्रचलन रहेपनि अहिले आएर त्यो क्रम रोकिएको उनले चर्चा गरेका थिए।
‘अहिले पनि थारूहरू पाटन देवीको पूजा गर्ने गर्छौं,’ चौधरीले भने, ‘त्यो प्रचलन र इतिहासको खोजी गरि सोही अनुरूप सुकौराकोटको विकास गर्नुपर्छ।’
त्यतिबेला नै दंगीशरण राजाले संघीयताको मर्म अनुसार शासन पद्दति चलाएको पनि मुख्यमन्त्री चौधरीले दाबी गरे। जसलाई थारू समुदायले प्रगन्ना भन्ने गर्छन्। त्यतिखेर दाङ उपत्यकालाई आधा दर्जन जति भागमा विभाजन गरी थारूहरूले शासन गरेको उनले बताए।
‘मानिसहरू भन्छन् सुकौराकोटलाई के गराउने,’ उनले भने, ‘के गराउने हैन इतिहास झल्किने बनाउने र यहाँको माटो पूज्य बनाउने हो।’
त्यसका लागि आजैदेखि समिति बनाएर छलफल गरि गुरू योजना बनाउन भूमिका खेल्न उनले आग्रह गरेका थिए।
‘तपाईहरू यो वर्ष यहाँ कति काम गर्नुहुन्छ ५० लाखसम्म भए हुन्छ होला तर काम इतिहास अनुसार गर्नुहोला,’ उनले भनेका थिए, ‘मान्छे पूर्खाको इतिहास हेर्न आउने हो यो पर्खाल र भ्यूटावर हेर्न आउँदैनन्।’
अमेरिका गएकाबेला विगतमा एक जना कोलम्बियाका अध्येताले दाङको उत्पत्तिसंगै पृथ्वीको उत्पत्ति कसरी भयो ? दंगीशरण थारू राजा को थिए भन्ने कुरा आफुलाई पढ्न लगाएको उनले स्मरण गरे। सिकागो युनिभरसिटीमा पनि आफूले दंगीशरण राजाको बारेमा थुप्रै कथाहरू पढ्न पाएको मुख्यमन्त्री चौधरीले बताएका थिए।
टारिगाउँ एयरपोर्ट बनाउन आजबाटै सुरू गर्छौं- मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्ट बनाउन सुरू गर्ने बताएका छन्।
सोमबार एयरपोर्टको टर्मिनल भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले अब धेरैको मुख नताक्ने र दाङको एक मात्र एयरपोर्ट बनाउन आजैबाट सुरू गर्ने बताएका हुन्।
दाङकै स्थानीय र हालका हवाई विभागका प्रमुखले नै विगतमा एयरपोर्ट कालोपत्रे गर्दा स्वरूप विकारेको दोषरोपन गर्दै उनले अहिले आएर फेरि ९ अर्ब पैसा लाग्छ भनेर भ्रम सृजना गरिरहेको भन्दै रोष प्रकट गरे।
‘उहाँले नै यो एयरपोर्ट बनाउन कठिन रहेको गतल अफवाह फैलाउँदै आउनु भएकोले अहिले उहाँलाई बोल्नपनि लाज भइरहेको छ,’ उनले भनेका थिए, ‘मैले यसअघि दाङ एयरपोर्ट कालोपत्रे गरेका निर्माण व्यवसायी कान्छु लामासँग आफूले नेपाली कांग्रेसका पार्टी सभापति देउवा निवासमा भेट भएर गम्भीर छलफल गर्दा ७२ सिटे प्लेन अवतरण गर्न ७० करोड रुपैयाँ भए बनाउन सक्छु भनेको हुँदा म उत्साहित भएको छुं।’
एयरपोर्ट बनाउन प्रदेश सरकार र तुलसीपुर उपमहनगरपालिकासँग मिलेर ३० प्रतिशत लगानी गर्ने र बाँकी रकम संघीय सरकारबाट विनियोजन गर्न लगाइने उनले बताए।
आइतबार मात्रै अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर दाङ एयरपोर्टका लागि बजेट छुट्याइदिन आग्रह गरेको मुख्यमन्त्री चौधरीले बताए।
सोही कुरा नागरिक उड्ययन प्राधिकरणका पदाधिकारीलाई पनि आग्रह गरिएको हुँदा यदी उनीहरूले वास्ता गरेनन् भनेपनि अब आफूहरू मिलेरै आजैबाट एयरपोर्ट बनाउने अभियान थाल्ने उनले बताएका थिए।
एयरपोर्ट विस्तारको काम थालनी गर्न उत्तर तर्फ रहेको आफ्नै संस्था ब्याकवार्ड सोसाइटी एजुकेस (बेस) संस्थाको घरको माथिल्लो तला भत्काउने र दक्षिण तर्फको खाने पानीको ट्याङ्कीक भत्काउन उनले निर्देशन दिएका थिए। ती संरचना भत्काउँदा लाग्ने खर्चपनि प्रदेश सरकार आफैंले बेहोर्ने उनले बताएका थिए।