दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ र २ बाट निर्वाचित सांसदहरू लुम्बिनी प्रदेशको मुख्यमन्त्री र अर्थमन्त्री बनेका छन्।
गत मंसिर ४ को चुनावमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी प्रदेश सभा क्षेत्र १ र नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।
चौधरी मुख्यमन्त्री र मास्की अर्थमन्त्री बनेका छन्।
मुख्यमन्त्री चौधरीले मास्कीलाई केही समयअघि नै आर्थिक मामिला मन्त्री बनाउन खोजे पनि माओवादीभित्र विवाद थियो।
बाँकेबाट निर्वाचित माओवादी केन्द्रकी सांसद कृष्णा केसीले पनि आर्थिक मामिला मन्त्रालयमा दाबी गरेकी थिइन्।
तर आइतबार पार्टी बैठकमा कृष्णा अडानबाट पछि हटेपछि मास्कीलाई आर्थिक मामिला मन्त्री हुने बाटो खुलेको थियो। ‘मैले अर्थमन्त्रीमा दाबी गरेको भन्ने कुरा झुटो हो। मेरो विरूद्ध गलत प्रचार भएको छ। मलाई लखेट्ने काम भइरहेको छ,’ उनले भनिन्। तर माओवादीकै अर्का एक सांसदले केसीले अर्थ मन्त्रालयमा दाबी गरेको र छाडेपछि मात्रै मास्की अर्थमन्त्री बन्ने बाटो खुलेको बताए।
यसअघि नेकपा एमाले संसदीय दल नेता लीला गिरी मुख्यमन्त्री हुँदा केसी बिना विभागीय मन्त्री भएकी थिइन्। उनले त्यसबेला चाहेको मन्त्रालय नपाएपछि राजीनामा दिएकी थिइन्।
सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेका अनुसार अर्थमन्त्रीको जिम्मेवारी मास्कीलाई तोकिसकिएको छ।
लुम्बिनीमा अन्य २ जना बिनाविभागीय मन्त्रीलाई पनि मंगलबारसम्म मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। साथै थप २ जना नयाँ मन्त्री थप गर्ने तयारीमा मुख्यमन्त्री चौधरी छन्।
मुख्यमन्त्री चौधरीसँगै गत वैशाख १५ गते तीन जना मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए।
आठ दल र एक स्वतन्त्र सांसदसमेत ५३ जना सांसदको समर्थनमा वैशाख १४ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
चौधरीले वैशाख १९ मा विश्वासको मत लिएका थिए। चौधरी नेतृत्वको सरकारलाई नेकपा एमाले र राप्रपाबाहेक प्रदेशमा रहेका अन्य दलहरूको सर्मथन छ।
बजेट ल्याउनु पर्ने समय नजिकिएकोले मुख्यमन्त्री चौधरीलाई छिटो सरकारलाई पूर्णता दिएर समयमै बजेट ल्याउनु पर्ने बाध्यता छ।
साथै कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ। बैठकले मन्त्री क-कसलाई बनाउने भन्नेबारे निर्णय गर्नेछ।
कांग्रेसभित्र आकांक्षी धेरै भएका कारण मन्त्री हुन चाहानेहरू धेरै छन्। स्रोतकाअनुसार कांग्रेसलाई ४ र माओवादीलाई ३ मन्त्रालय दिने सहमति भएको छ। मुख्यमन्त्री चौधरी प्रदेशमा १२ वटासम्म मन्त्रालय बनाउने तयारीमा रहेको स्रोतले दाबी गरेको छ।