पूर्वडिआइजी छविलाल जोशीले गोर्खा मिडियाबाट आफूले एक पैसा पनि नलिएको जिल्ला अदालत कास्कीमा बयान दिएका छन्।
जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा सोमबार भएको बयानमा जोशीले उक्त कुरा बताएका हुन्।
उनले आफ्नो काठमाडौंमा रहेको घर नेचर हर्ब्स इन्टरनेसनल कम्पनीको कार्यालय राख्न भाडामा दिएको पनि बताएका छन्। सम्झौता पत्र रहेको भन्दै उनले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन्।
इजलासमा न्यायाधीश राईले जोशीसँग १५ वटा प्रश्न राखेका थिए। जबाफमा जोशीले उक्त बयान दिएको इजलासमा उपस्थित एक कानुन व्यवसायीले बताए।
‘छविलाल जोशीसँग आज श्रीमानले १५ वटा प्रश्न सोध्नुभयो। जोशीले सहकारीबाट र गोर्खा मिडियाबाट एक पैसा पनि लिएको छैन भनेर जबाफ दिनुभएको छ,’ती कानुन व्यवसायीले भने।
जोशीसँग बयान नसकिएकाले मंगलबार पनि निरन्तर जारी रहनेछ। जोशीको बयान सकिएपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, रामप्रसाद खनाल, लिला पछाई लगायतको बयान लिइने अदालत प्रशासनले जानकारी दिएको छ।
जोशीसँगै ६३ जनालाई विपक्षी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूसँग पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा १ अर्ब ५१ करोड बिगो माग गरिएको छ।
अदालतमा मुद्दा दायर भएसँगै प्रतिवादीहरूसँग अदालतले बयान लिन सुरू गरेको हो। बयान सकिएपछि थुनछेक बहस हुनेछ।