परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन्।
स्वदेश फर्किएपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको बताइन्। त्यस्तै नेदरल्यान्ड्सको हेग अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय मागका लागि आधारहरू प्रस्तुत गरेको जानकारी दिइन्।
मन्त्री राणा गत मंसिर २२ मा युरोप गएकी थिइन्। उनको यो भ्रमणको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट प्रस्तुति दिने थियो।
मन्त्री राणाले आफू र आफ्नो नेतृत्वको प्रतिनिधि मण्डलले गत मंसिर २४ मा अन्तर्राष्ट्रिय अदालतमा यस विषयमा कुरा उठाएको बताइन्। अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय माग गरेको पनि उनले जानकारी दिइन्।
त्यु्तै लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेल र बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी गरेको पनि जानकारी दिइन्।
आफूले यस भ्रमणकै क्रममा युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रा र कमिसनर फर इन्टरनेसनल पार्टनरसिप जोजेफ सिकेलासँग बेल्जियमको ब्रसेल्समा छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध, जलवायु परिवर्तनका कारण नेपालमा परेको असर र नेपालले पाउनुपर्ने जलवायु न्यायका बारेमा कुरा गरेको बताइन्।
साथै उनले युरोपेली आकासमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि उनीहरूलाई आग्रह गरेको बताइन्।
मन्त्री राणाले जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा पुगेर त्यहाँका वैज्ञानिक एवं अनुसन्धानदाताहरूसँग अन्तर्क्रिया गरी जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र र समुदायमा परेको असरबारे अनुसन्धान गर्न आग्रह पनि गरेकी थिइन्।
त्यसैगरी यही पुस २ गते जर्मनीको बर्लिनमा आयोजित समान अधिकार सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समूह (एलजिबिटीक्युआइए प्लस) व्यक्तिहरूको समावेशीकरण र मानव अधिकारका पक्षमा नेपालले धेरै उपलब्धि हासिल गरेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराएको पनि बताइन्।
मन्त्री राणा जर्मनीको बर्लिनबाट शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी थिइन्। नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फरेन्स) लाई शुक्रबार सम्बोधन गर्दै उद्दले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रूटका लागि अनुरोध गरेको जानकारी गराइन्।
त्यस अवसरमा उनले हालसालै निर्माण भएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरूसँग थप उडानका लागि आग्रह गरेको जानकारी पनि दिइन्।