नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित हुने निश्चित भएको छ।
नेत्र चापागाईंलाई पछि पार्दै भट्टराई नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुने निश्चित भएको हो।
यद्यपि अनलाइनबाट प्राप्त केही मत गणना गर्न बाँकी नै रहेको छ।
नेसपा (नयाँ शक्ति) का नेता रूपनारायण श्रेष्ठका अनुसार अहिलेसम्म अध्यक्ष पदमा भट्टराईको ६८२ मत आएको छ भने अर्का उम्मेदवार चापागाईंको ७१ मत आएको छ।
विभिन्न देशमा रहेका प्रतिनिधिले अनलाइनमार्फत् गरेको मतदानको गणना गर्न बाँकी छ।
महाधिवेशनमा १३२४ जना प्रतिनिधि थिए भने ८२२ मत खसेको थियो। अब गन्न बाँकी मतभन्दा भट्टराई र चापागाईंबीचको मतान्तर धेरै भएकोले अध्यक्षमा भट्टराई निर्वाचित हुने पक्का भएको हो।
कास्कीका चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। उनले शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्दै आएका थिए।
भट्टराईलाई निर्विरोध अध्यक्ष नछाड्ने भन्दै उनले उम्मेदवारी दिएका हुन्। पार्टीले पनि मतदानबाटै अधिकांश पदमा नेतृत्व चयन गर्ने नीति लिएको थियो।
नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बिहीबार अपराह्न ५ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
नेसपा (नयाँ शक्ति) मा महिला उपाध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए भने ७० पदका लागि माघ २९ गते मतदान भएको थियो।