नेकपा (एमाले) को आठौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली अर्का उम्मेदवार झलनाथ खनालसँग पराजित भए। अध्यक्षमा पराजित भए पनि ओली केन्द्रीय सदस्यमा उल्लेख्य मतसहित निर्वाचित भए।
एमालेमा केन्द्रीय सदस्य र पदाधिकारी दुवै पदमा एकै पटक उम्मेदवारी दिन पाइन्छ।
केन्द्रीय सदस्यमा धेरै मत ल्याएर जिते पनि ओली पार्टीका गतिविधिमा भने कम सक्रिय भएको तत्कालीन एमालेका नेताहरू बताउँछन्। बरू उनले मदन भण्डारी फाउन्डेसनमार्फत् आफ्ना गतिविधि आधारभूत तहसम्म विस्तार गरे, समानान्तर भेला र बैठकहरू चलाइराखे। कतिपय ठाउँमा समानान्तर कमिटीसमेत गठन गरे।
ओलीको यस्तो गतिविधिपछि त्यसबेला एमाले अध्यक्ष रहेका झलनाथ खनालले सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने गरेका थिए।
आफू प्रधानमन्त्री भएका बेला एक पटक पनि ओली बालुवाटार नआएको र केन्द्रीय कमिटी बैठकमा समेत उपस्थित गराउन गाह्रो परेको झलनाथको भनाइ थियो।
अहिले ओली र खनाल एउटै पार्टीमा छैनन्। खनाल एमाले फुटेर माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) को सम्मानित नेता छन्।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नामबाट खोलिएको प्रतिष्ठानबाट समानान्तर गतिविधि गर्दै पार्टी नेतृत्वमा फड्को मारेका ओलीले अहिले त्यही संस्थाको आलोचना गर्न थालेका छन्।
मदनकी श्रीमतीसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने बताएका बेला ओलीले मदन भण्डारी फाउन्डेसनको आलोचना गर्न थालेको एमालेकै कतिपय नेताहरूको भनाइ छ।
भण्डारीले दुई वर्षअघि नै पार्टी सदस्यता नवीकरणसमेत गरेकी थिइन्। तर एमालेको साउन ५ र ६ गते बसेको केन्द्रीय समितिको नवौं बैठकले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन नमिल्ने निर्णय गर्यो। योसँगै भण्डारीको नवीकृत सदस्यता स्वतः निष्क्रिय भएको छ।
तर भण्डारी पछि हटेकी छैनन्।
एमाले पूर्वउपाध्यक्षको हैसियतले पत्रकार सम्मेलन गरेर उनले मदन भण्डारीले दिएको सदस्यता कसैले खोस्न, खारेज गर्न नसक्ने बताउँदै पार्टी निर्णयलाई चुनौती दिइन्। उनले ओलीतर्फ लक्ष्य गर्दै मुठीभरका मानिसहरूले हुलहुज्जत गरेर पार्टी सदस्य खोस्न नसक्नेसमेत बताइन्।
यही तर्कलाई अघि सार्दै उनी मदन भण्डारी फाउण्डेसनमार्फत् एमालेमा क्रियाशीलता बढाउने ध्याउन्नमा छिन्। फाउण्डेसनको अध्यक्ष उनकै छोरी उषाकिरण छिन्। उनले दोस्रो कार्यकाल अध्यक्ष चलाइरहेकी छन्।
फाउन्डेसनले आउँदो वर्ष मदन भण्डारी जन्मिएको ७५ वर्ष पूरा हुने भएकाले हीरक महोत्सवको तयारी गरेको छ। हीरक जयन्तीको तयारीका लागि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ। उक्त समितिको कार्यालय थापागाउँस्थित एमालेबाटै २०५४ सालमा काठमाडौं महानगरमा उपमेयर जितेका विदुर मैनालीको घरमा छ। सोही घरमा भण्डारीले सचिवालय राख्ने तयारी गरेकी छन्।
मदन भण्डारीको हीरक जन्मजयन्तीको मूल व्यवस्थापन समितिको संरक्षकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राखिएको छैन। पूर्वराष्ट्रपति भण्डारी मात्रै छिन्। यसअघि मदन भण्डारी फाउन्डेसनका हरेक गतिविधि र अभियानको संरक्षक ओली र भण्डारी दुवै हुने गरेका थिए।
मदन भण्डारी फाउण्डेसनको संरक्षक भने ओली पनि रहेको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले सेतोपाटीलाई जानकारी दिए।
भण्डारी पार्टीमा फर्कने घोषणा गर्दै सक्रियता बढाएपछि र फाउण्डेसनमार्फत गतिविधि बढाएकाप्रति अध्यक्ष ओली क्रुद्ध छन्। त्यसैले उनले पार्टी केन्द्रीय कमिटीको बैठकबाटै भण्डारी राजनीतिमा फर्कने बाटो रोकिदिए।
फाउन्डेसनमार्फत् गतिविधि हुन सक्ने सम्भावना देखेपछि ओली त्यस संस्थाप्रति पनि आक्रोशित देखिएका हुन्। मदन भण्डारी फाउन्डेसनलाई टक्कर दिन पछिल्लो समय एमालेले मदन–आश्रित स्मृति प्रतिष्ठानलाई सक्रिय बनाउने संकेत देखाएको छ।
उमहासचिव प्रदीप ज्ञवालीलाई त्यसको अध्यक्ष निर्वाचित गर्दै सोमबार ओलीले शपथ पनि गराए। उपमहासचिव ज्ञवाली ओलीका विश्वास पात्र मानिन्छन्। ज्ञवालीले पनि पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कन हुँदैन भन्ने मत राखेका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनलाई पार्टीले गठन नगरेको बताए।
‘मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज) को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो,’ ओलीले भने, ‘पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउण्डेसन खोलिएको थियो।’
मदन भण्डारी फाउन्डेसकै क्रियाशीलताको जगमा पार्टी सत्तामा पकड विस्तार गरेका ओलीले अहिले त्यही संस्थालाई आलोचना गर्न थालेका छन्।
सोमबारकै कार्यक्रममा ओलीले त्यसको पनि संकेत देखाए। मदन भण्डारी फाउण्डेसनले पार्टी आन्दोलनप्रति निष्ठा देखाउन छाडेको आरोप लगाए।
‘अहिले मदन भण्डारी फाउण्डेसनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ,’ उनले भने, ‘यस्ता संस्थाहरू पार्टीसँग निष्ठावान हुनुपर्छ।’
अध्यक्ष ओली यतिमै रोकिएनन्। उनले मदन भण्डारी फाउन्डेसन पार्टी हितविपरीत प्रयोग हुन थालेको बताएका छन्। फाउण्डेसनले मदन भण्डारीको हीरक जयन्तीकै सन्दर्भ पारेर तलतल जनताको बहुदलीय जनवादको बहस–विमर्श चलाउने निर्णय गरेको छ।
एमालेको वर्तमान नेतृत्वले जबज भजाउने तर यसको सम्बर्द्धन, विकासबारे कुने बहस–विमर्श नचलाएको भन्दै त्यो रिक्ततालाई मदन भण्डारी फाउण्डेसनले नै पूर्ति गर्ने अठोट लिएको छ।
त्यसमार्फत् भण्डारी पक्षले गतिविधि बढाउन खोजेपछि र आधारभूत तहसम्म जान खोजेको देखेपछि अध्यक्ष ओलीले असन्तुष्टि जनाएको उनीनिकट एक नेताले बताए।
फाउण्डेसनमो एमाले बराबरकै सांगठनिक उपस्थिति देखिन्छ। संघ, प्रदेश र जिल्ला मात्रै होइन, आधारभूत तहसम्मै संरचना छ। एमालेका सदस्यहरू फाउण्डेसनको पनि सदस्य र नेता छन्।
त्यही भयले अध्यक्ष ओलीले भने, ‘पार्टी हितविपरीत प्रयोग हुनु हुँदैन।’
अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन नहुने पनि बताएका छन्।