राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले रास्वपाको प्रवेशले संसद हेर्न र सुन्न लायक भएको बताएका छन्।
मंगलबार पार्टीको युवा विभागले ललितपुरमा गरेको कार्यक्रममा बोल्दै अर्यालले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेको जस्तो लाग्ला तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन। सदन अहिले सुन्न, हेर्न लायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरूले पनि भनिरहेको अवस्था छ। यसको अर्थ सबै जना रास्वपा नै हुनुपर्छ, यो नै अन्तिम हो भन्ने होइन।’
उनले आधुनिक पुस्ताको लागि नीति बनाउनुपर्ने बताए।
‘संघीयता आएको छ, नयाँ संविधान देशमा बनेको छ भने यसलाई कार्यान्वयन गर्ने बाटोमा जान आगामी पुस्तालाई हेरेर बौद्धिक नक्सा यस्तो कोर्नुपर्यो कि देश निर्माणको लागि ५० वर्षको नक्सा कोर्नुपर्छ। जुन नक्सामा टेकेर देश निर्माण हुनसक्छ, युवापुस्ता यहीँ बस्न सक्छ। राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको हामीले देखेका छौं,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)