रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट-ट्र्याक) को काम समयमै सकिनेमा आशंका व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफलमा उनले उक्त कुरा बताएका हुन्।
‘अहिल्यै ०८३ साल नआइकन सकिँदैन भन्न त नमिल्ला। ८३ भित्र सक्ने सम्भावना कठिन छ। तर म यति भन्न चाहन्छु, मेलम्चीको आयोजना जति लम्बिँदैन। यति धेरै लामो समय लाग्दैन,’ उनले भने।
छलफलमा उठेका प्रश्नको जबाफ दिँदै उनले अहिले सरकार फास्ट ट्रयाकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको बताए।
मन्त्री राईले नेपाली सेना जुनसुकै कालखण्डको सरकारमा पनि सरकारप्रति अनुशासित ढंगले अघि बढिरहेको बताए।
प्रधान सेनापति अशोकराज सिग्देलले भने फास्ट ट्र्याकको विवादित क्षेत्र खोकनाको सिकाली मन्दिर र किरियापुत्री बस्ने घर छाडेर पुरक डिपिआर निर्माण गरेको बताए।
उनले फास्ट ट्र्याकलाई समयमै सक्नेमा प्रतिबद्ध रहेको पनि बताए।