सौराहाको पल्लो छेउ राप्ती नदीको नजिकै रहेको होटल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मी वल्लो छेउको चित्रसारी पुलमा दिनभर रोकिए। खोलो बढेमानको भएपछि तरेर पारि जान उनलाई अपरान्हसम्मै कुर्नुपर्यो।
चित्रसारीबाट सौराहा प्रवेश गर्ने पुल कटेपछिको सडकमा बिहानैदेखि खोलो बगिरहेकाे छ। लगातारको वर्षाले चितवनको पहाडी क्षेत्र, शक्तिखोर, टाँडी हुँदै आउने कयर खोलो बढेर निकै फराकिलो बनेको छ। खोलाको पानी खेत, बस्ती हुँदै बग्न थालेपछि त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त हुन पुगेको छ।
‘कोरोना महामारीले होटल व्यवसाय तहसनहस भएको थियो, अब त निषेधाज्ञा खुल्ला, अवस्था सहज बन्ला भन्ने लागेको थियो फेरि बाढीले समस्या ल्याउन थाल्यो,’ रेग्मीले भने, ‘व्यवसायीलाई तनाबमाथि तनाब आइलागेको छ।’
यसपालि राप्तीले असर नपुर्याए पनि बुढीराप्तीले सौराहा क्षेत्रमा ठूलो असर पुर्याएको उनले बताए। उनकाअनुसार उक्त खोलो यसअघि २०५० र २०६१ सालमा यस्तैगरी बढेको थियो। २०७२ सालमा पनि यो खोलो बढे पनि यति ठूलो भने भएको थिएन।
‘बाटोमा खोलो बगिरहेकाे छ, बाटोको अवस्था पनि अब बिग्रने भयो,’ उनले भने, ‘बाढी र पहिरो जोखिमको खबर सुनेपछि निषेधाज्ञा खुलेपनि पर्यटक नआउने होलान्।’
बुढी राप्ती खोलामा आएको बाढीले रत्ननगर–८ बाघमारा क्षेत्रमा रहेको रमाइलो बस्तीका २१ घर डुवानमा परेका छन्। त्यहाँका १०० जनालाई नजिकै रहेको ग्रीन सोसाइटी पब्लिक स्कूलमा राखेर व्यवस्थापन गरिएको छ।
सौराहा नजिकैको मालपुर, मैनाहालगायतका गाउँमा पनि बाढी पसेको छ। सौराहाभन्दा केही वर रहेको चौर जलमग्न हुँदा त्यहाँ निर्माणाधीन सभागृह पनि डुवानमा परेको छ।
बाढीले वन्यजन्तु र तिनको बासस्थानमा पनि असर पुगेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङले बताए। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना जनावरहरुलाई बाढीले बगाउने गरेको उनले बताए।
‘बाघमारा वनको घाँसे मैदानमा खोलो बगिरहेको छ। यहाँ रहेका मृग, चित्तललगायत साना जनावरलाई बाढीले बगाउने चिन्ता छ,’ उनले भने। केही दिनअघि घडियाल गोहीले कोरलेका बच्चाहरुलाई पनि बाढीले बगाएर लगेको उनले बताए।
‘बाघमारा क्षेत्रमा पनि गोहीको अण्डाबाट बच्चा निस्कने बेला भएको थियो, बाढीले काम नलाग्ने बनाउने भयो,’ उनले भने। सौराहा जान खोज्ने र त्यहाँबाट फर्कनुपर्ने पर्यटकलाई हात्तीले खोलो तारिदिएको छ।
निषेधाज्ञाका कारण लामो समयदेखि बन्द हुँदा सौराहाको पर्यटन व्यवसाय धरासयी बन्दै गएको छ। होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायहरु सञ्चालन गर्न नपाउँदा बैंकको ब्याजसमेत बुझाउन नसकेको भन्दै व्यवसायीहरु निरास देखिन्छन्।
गत वर्षको लकडाउनको ठूलो असर परेको सौराहामा लकडाउन खुलेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको थियो। कोरोना संक्रमण बढेसँगै पुनः निषेधाज्ञा जारी गरिएपछि व्यवसायीहरु समस्यामा परेका हुन्। भाडामा लिएर होटल, रेष्टुरेन्ट, पसल सञ्चालन गर्न धेरैले छाडिसकेको र कतिपयले बिक्री गरेको पर्यटन व्यवसायी पूर्ण रिजाल बताउँछन्।
‘पोलेको ठाउँमा उपचार गर्दा करेन्ट लागेजस्तो भयो, अब त केही होला कि भनेको फेरि बाढी आइलाग्यो,’ उनले भने, ‘बाढीले सौराहाको व्यवसायलाई ठूलो असर गरेको छ।’
उनले सौराहाको पर्यटन व्यवसाय उकास्न सरकारले सहयोगको प्याकेज ल्याउनुपर्ने बताए। ‘सरकारले यहाँका सबै व्यवसायीहरुलाई बैंक ऋणको व्याजमा छुट, कर र नवीकरण दस्तुरमा छुट मात्रै गर्न सक्यो भनेपनि धेरै राहत हुन्थ्यो,’ उनले भने, ‘अहिलेको अवस्थाले त अब यहाँको पर्यटन व्यवसाय उभो लाग्न धेरै गाह्रो छ।’
यहाँका हात्तीपालक व्यवसायीहरुले व्यवसाय ठप्प हुँदा हात्तीलाई पाल्न पनि मुस्किल भइरहेको बताउने गरेका छन्। अघिल्लो पटक लकडाउन हुँदा यहाँका आधा दर्जन बढी हात्तीहरु भारतमा विक्री भएका थिए। गत वर्षसम्म पर्यटकलाई जंगल घुमाउने ६० भन्दा बढी हात्ती रहेको सौराहामा अहिले ३५ मात्रै छन्।