अविरल वर्षापछि झरेको पहिरोले मुग्लिन-नारायणगढ सडक छिनछिनमा अवरूद्ध भइरहेको छ।
पहिरो पन्छाउने काम सडक डिभिजन कार्यालय भरतपुरले जारी राखे पनि पहिरो खस्ने क्रम रोकिएको छैन। पहिरोले सडक अवरूद्ध हुँदा हजारौं यात्रुले सास्ती खेप्नुपरेको छ।
गत बुधबारदेखि यो सडकखण्डमा साना-ठूला पहिरो खसिरहेको छ। पहिरो खस्ने क्रम आइतबार दिउँसोसम्म पनि जारी छ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतीदोभानमा पहिरो झरिरहे पनि चालकहरूले जोखिम मोलेरै मोटरसाइकल पार गरेका छन्।
यहाँ गए राति १० बजे ठूलो पहिरो झरेको थियो। आज बिहानैदेखि दुइटा जेसिबी लगाएर पहिरो हटाउने काम गरिएको छ तर माथिबाट पहिरो खसिरहेकोले सडक सुचारू हुन सकेको छैन।
(हेर्नुस् भिडिओ)