गम्भीर खान असार १६ गते बुधबार बिहान बुटवलबाट एक ट्रक आँप बोकेर काठमाडौंका लागि निस्किए। दस टन काँचो आँपले भरिएको उनको ट्रक दाउन्नेमा रोकियो। अविरल वर्षाका कारण सडक बिग्रिएपछि उनी ‘ट्राफिक जाम’मा परे। उनको त्यो रात दाउन्नेको सडकमै बित्यो।
भोलिपल्ट नवलपरासीको दाउन्नेमा रोकिएका गाडी चल्न थाले। गम्भीर खानले पनि आँप बोकेको ट्रक चलाए। नवलपुरको थुम्सी नजिकैको खोलाको डाइभर्सन भत्किएपछि बाटो बन्द भयो। बिहीबारको उनको बास थुम्सीपारि नै भयो।
शुक्रबार डाइभर्सन तयार भयो, लाम लागेका गाडी अघि बढ्न थाले।
पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएकाले प्रहरीले उक्त सडक भएर जान लागेका गाडीलाई गैंडाकोटमा रोकिदियो। गम्भीर खानको त्यो दिनको यात्रामा करिब दस किलोमिटर पछि नै पूर्णविराम लाग्यो।
शनिबार ११ बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो पन्छाएर सञ्चालनमा आउन थालेको खबरले उनी उत्साहित थिए। करिब एक घन्टामा नारायणगढ, रामनगर, दासढुंगा हुँदै चौधकिलो पुग्दा उनको उत्साह हराउन थाल्यो। त्यतिखेर चारकिलो भन्ने ठाउँमा पुनः पहिरो खसेर ट्राफिक जाम सुरू भइसकेको थियो। साँझसम्ममा त्यो पहिरो त हट्यो तर अन्य ठाउँमा पहिरो खस्न सुरू भयो।
शनिबार मध्यान्न १२ बजे चौधकिलो भन्ने ठाउँमा रोकिएको उनको ट्रक २६ घन्टासम्म एक इन्च पनि अघि बढ्न पाएन। सेती र त्रिशूली नदी मिसिएको सेतीदोभान भन्ने ठाउँमा झरेको पहिरो पन्छाएपछि दिउँसो ३ बजेतिर गाडी चल्न थालेका छन्।
‘बिक्रीका लागि काठमाडौं लैजान लागेका आँप बाटैमा पाकेर कुहिन थाले तर पुग्ने कहिले हो कहिले निश्चित भएन,’ उनले भने, ‘यो बाटोले सधैंभरि दुःख दिने भयो।’
सेतीदोभानको पहिरो झर्न अझै रोकिएको छैन। बडेमानका ढुंगा सडकमा झर्न ठिक्क परेका देखिन्छन्। साना, ठूला ढुंगा झरिराख्दा पनि यात्रुहरू जोखिम मोल्दै गन्तव्यतर्फ लागिराखेका छन्। बेला-बेलामा डोजरले बाटो सफा गर्ने गरेको छ।
पहिरो झर्न छाड्ला र गन्तव्यतर्फ लाग्न पाइएला भनेर सयौं यात्रु पहिरो हेर्दै आइतबार दिनभरजसो कुरेका थिए। बाराको निजगढबाट मकैको पिठोले भरिएको ना ६ ख ७६४७ नम्बरको ट्रक चलाएर आएका गोविन्दलाल श्रेष्ठले मुग्लिन-नारायणगढ सडक बिस्तार हुन थालेपछि हरेक सालको वर्षायाममा यस्तै दुःख भोग्नु परेको बताए।
‘काभ्रेको बनेपाका लागि शुक्रबार निजगढबाट निस्किएको अझैं यहीँ छु। कहिले पुगिएला खोई,’ गोविन्दले भने, ‘पछिसम्मलाई हेरेर, जनतालाई दुःख नदिने सडक बने पो सजिलो हुन्थ्यो।’
नारायणगढ-मुग्लिन सडकको पहिरोका कारण शुक्रबार चितवन र मकवानपुरको सीमा क्षेत्रमै रोकिएको गोविन्दको गाडी शनिबार दिउँसोदेखि दासढुंगामा छ। उनी भने करिब ३ किलोमिटरको बाटो पैदल हिँड्दै पहिरो हेर्न पुगेका थिए।
ठाउँ-ठाउँमा पहिरो झरेर सडक अवरूद्ध भएपछि हजारौं यात्रु प्रभावित भएका छन्। बिरामी बोकेर अस्पताल जान लागेका दर्जनौं एम्बुलेन्स घन्टौंसम्म सडकमा रोकिएका छन्।
विवाहका गाडी, तरकारी, दूध, फलफूल, पोल्ट्रीजन्य वस्तु, पशु चौपाय बोकेका गाडीदेखि यात्रुवाहक बस, निर्माण सामग्री बोकेका गाडीका लामा लाइन ठाउँ-ठाउँमा देखिन्छन्। कतिपयले त बाटैमा खाना पकाएर खाएका थिए।
बुधबारदेखि परेको अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक खण्डमा दर्जन बढी पहिरो झरेका छन्। एकै ठाउँमा पनि पटक-पटक पहिरो झर्ने गरेको छ। चौधकिलोमा झरेको ढुंगो फुटाउने काम आइतबार बिहानबाट सुरू भए पनि सक्न केही दिन लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। कार्यालयका इन्जिनियर शिव खनालले उक्त ढुंगोले यातायात सञ्चालनमा अवरोध भने नगरेको बताए।
‘झट्ट हेर्दा कमजोर जस्तो देखिए पनि ढुंगा बहुतै बलियो रहेछ, फुटाउन असाध्यै गाह्रो भइरहेको छ,’ रक ब्रेकरका चालक प्रकाश घर्तीले भने, ‘सुरूमा त धेरै समय नलाग्लाजस्तो लागेको थियो तर २-३ दिन लाग्लाजस्तो छ।’
पृथ्वी राजमार्गअन्तर्गत चितवनकै फिस्लिङमा त्रिशूली नदीले कटान गरेर राजमार्ग नै भासिएको छ। इन्जिनियर खनालले तत्कालका लागि पहिरो पन्छाएर यातायात सञ्चालनमा आएपनि पानी परिहाले पुनः पहिरो खस्न सक्ने सम्भावना रहेको बताए।