यसपालि असारको सुरूआत नै वर्षाबाट भयो। लगत्तै किसानहरूमा धान रोप्ने माचो सुरू भयो। राप्ती-३ स्थित सुजिता भण्डारीको परिवारले पनि असार १२ गतेका लागि रोपाइँको तयारी गरेको थियो। यो परिवारको घरदेखि करिब एक किलोमिटर पर चार कठ्ठा खेत छ। नजिकैको थप पाँच कठ्ठा खेत पनि उनीहरूले अधियाँमा कमाएका छन्। त्यहाँ जोत्नका लागि स्थानीय राजु सेढाईंको ट्याक्टर र अन्य खेतालाको चाँजो पनि मिल्यो।
तर ११ गते नै ट्याक्टर खाली बस्ने भएपछि रोपाइँ एक दिनअघि नै हुनेभयो। बिहानीको समयमा रोपाइँ गर्ने तय भएपछि भण्डारी परिवार तयारीमा थियो। सुजिता भने त्यो दिन सबेरै जितपुरस्थित साथीले तरकारी लिन बोलाएको भनेर घरबाट निस्किइन्।
सुजिताको घर पूर्व-पश्चिम राजमार्गको गड्यौलीबाट करिब ३०० मिटर दक्षिणतर्फ पर्छ। जितपुर पनि सुजिताको घरभन्दा पनि दक्षिणतर्फ।
सुजिता घरबाट निस्किएको केही समयपछि उनको परिवार भने रोपाइँमा व्यस्त भयो। जब रोपाइँ सकेर उनीहरू घर फर्किए, परिवारकी साइँली छोरी कविताले मोबाइलमा बहिनीको ‘मिस्ड कल’ देखिन्। लगत्तै कविताले सुजितालाई फोन गरिन्। कविताकाअनुसार सुजिताले उनलाई आफू अपहरणमा परेको जानकारी दिँदै बचाउन आग्रह गरेकी थिइन्। सुजिताले स्थानीय राजु सेढाईंको नाम पनि लिएर आफू अपहरणमा परेको जानकारी उनलाई गराइहाल्न भनेकी थिइन्।
सुजिताको घरबाट करिब ५० मिटर पर कृष्णप्रसाद गैरेको घर छ। गैरे घर नजिकैको खेतमा आली बनाउँदै थिए।
‘कविता एक्कासि रुँदै-चिच्याउँदै बाहिर निस्की। ऊ बहिनी अपहरणमा परी, अब के गर्ने, कसो गर्ने भन्दै थिई,’ कृष्णप्रसादले सुनाए, ‘त्यसरी कराउँदै आएपछि नजिक आएर कुरा बुझ्दा सुजिताले आफू अपहरणमा परेको, अपहरण गर्नेले कुन ठाउँमा राखेका छन् थाहा नभएको जानकारी गराएको कविताले बताइन्।’
उनका अनुसार त्यसको केहीबेरमा यो विषयमा गाउँमा हल्लीखल्ली भइसकेको थियो। भण्डारी परिवारले प्रहरीदेखि सञ्चारकर्मीसम्म यो कुरा पुर्याए।
सुजिता जितपुर जान्छु भनेर हिँडेका कारण स्थानीयवासी खोजीका लागि त्यतै गए। जितपुर पर चितवन राष्ट्रिय निकुञ्ज छ। उनीहरूले असार ११ यता त्यस क्षेत्रमा हरेक दिन सुजिताको खोजी गरे।
छिमेकी कृष्णप्रसाद पनि एकदिन सुजितालाई खोज्न भनेर जंगल पुगे।
‘दिनभर खोज्दै हिँडियो, केही मेसो पाइएन,’ उनले भने, ‘म त्यही एक दिन गएँ, अन्य छिमेकीले पालैपालो गरेर खोजी गरिरहेका थिए।’
कविताले बहिनी सुजिताले फोनमा बताएका कुरा जानकारी गराएपछि प्रहरी पनि यसबारे बुझ्न उनीहरूको घर आइपुग्यो। प्रहरीहरूले पनि राजमार्गबाट दक्षिणतर्फ खोजी गर्न थाल्यो। प्रहरीले सुजिताको परिवारलाई उनको मोबाइलको अन्तिम लोकेसन दक्षिणतर्फ रहेको जानकारी गराएको थियो।
हराएको ९ दिन पछि भेटियो शव
यहाँ पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब ५०० मिटरमा मात्रै बस्ती छ। त्यसभन्दा माथि जंगल छ। राजमार्गको झुरझुरेदेखि करिब ४ किलोमिटर परसम्म कच्ची सडक छ। धमिले भन्ने ठाउँबाट करिब आधा घन्टा उकालो उक्लिएपछि पुगिने भिरको एउटा खोल्सामा आइतबार सुजिताको शव भेटिएको थियो।
निउरो, च्याउ खोज्न जंगल पुगेका व्यक्तिले ब्रम्हस्थानी सामुदायिक वनको त्यो भिरालो जमिनमा मान्छेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर सुनेपछि प्रहरीको टोली आइतबार अपरान्ह त्यहाँ पुगेको थियो। परिवारका सदस्यले उक्त शव सुजिताको रहेको पहिचान आइतबार नै गरेका थिए।
शव खोल्सामा लहरोमा अड्किएको अवस्थामा भेटिएको चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। अनुसन्धानमा प्रहरीले तामिलप्राप्त कुकुरको पनि प्रयोग गरेको छ।
उक्त वन राप्तीको वडा नम्बर ३ का स्थानीय घाँस, दाउरा काट्न जाने क्षेत्र हो। सुजिताकै परिवार पनि घाँस, दाउराका लागि यही वन जाने गर्दथ्यो।
‘तर त्यति माथि त गइन्थेन, तलैबाट घाँस काटेर फर्किन्थ्यौं,’ छिमेकी कृष्णप्रसादले भने, ‘शव देखिएको ठाउँ त धेरै माथि हो।’
शवसँगै भेटियो पतेरो मार्ने विष
शव भएको स्थानमा आइतबार पुगेको प्रहरी त्यो रात त्यहीँ बस्यो। केही स्थानीयवासी पनि राति त्यहीँ बसेका थिए। सोमबार बिहान मुचुल्का उठाएर प्रहरीले शव उठाएको थियो। शव भेटिएको ठाउँमा सोमबार राप्ती नगरपालिकाका मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामालगायतका जनप्रतिनिधि तथा सयौं स्थानीय पुगेका थिए।
प्रहरीले शवसँगै एउटा बोत्तल, तीन सय रुपैयाँ नगद र एउटा च्यातिएको झोला भेटेको छ।
‘यो बोतलमा भएको तरल पदार्थ पतेरो मार्न प्रयोग गर्ने विष हो भन्ने कुरा मृतकका बुबाले पहिचान गर्नुभएको छ, हामी यस विषयमा अनुसन्धान गर्दैछौं,’ चितवनका एसपी ओम अधिकारीले भने, ‘घटनास्थलमा भेटिएका सबै प्रमाणको विषयमा अनुसन्धान सुरू भएको छ।’
त्यो स्प्राइटको बोतलमा भेटिएको त्यो तरल पदार्थ धानमा लागेको पतेरो मार्न प्रयोग गरिन्छ। सुजिताको परिवारले त्यहाँ भेटिएको झोला पनि आफ्नै भएको पहिचान गरेको थियो।
केही दिनदेखि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली पनि चितवनमै बसेर यो घटनाको विषयमा अनुसन्धान गरिरहेको छ। एसपी अधिकारीले शवलाई सकेसम्म काठमाडौं लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको बताए।
‘केही समयअघि हामीले यस्तै जटिल विषय भएकाले शवलाई काठमाडौं लगेर पोष्टमार्टम गरेका थियौं, अहिले पनि त्यही गर्न खोजेका छौं,’ उनले भने।
उनले सुजिताको अपहरण भएको भन्ने उजुरी पनि प्रहरीमा आएको र त्यो पाटोबाट पनि अनुसन्धान चलिरहेको बताए।
‘हामीलाई अनुसन्धान अघि बढाउन लिखित उजुरी नै आउनुपर्छ भन्ने छैन, मौखिक उजुरी, मिडियामा आएका कुराहरूलाई पनि हामी हेर्छौं,’ उनले भने, ‘ती सबै कुराहरुलाई हेरेर सबै कोणबाट अनुसन्धान भइरहेको छ।’
स्थानीय भन्छन्: हत्या नै हो, अनुसन्धानमा प्रहरीले बेवास्ता गर्यो
प्रहरीले आधा बाटो स्टेचरमा अनि एम्बुलेन्समा शव राखेर पूर्व-पश्चिम राजमार्गमा झारेको थियो। शव आइपुग्दा राजमार्गमा स्थानीयबासीको ठूलो भीड जम्मा भइसकेको थियो। उनीहरूले अपहरणमा परेको जानकारी समयमै दिँदा पनि सुजितालाई बचाउन नसकेको भन्दै नाराबाजी गरेका थिए।
‘हामीले सबै कुरा प्रहरीलाई बेलैमा भनेका थियौं तर प्रहरीले यस विषयमा राम्ररी अनुसन्धान नै गरेन’, मृतककी दिदी कविताले भनिन्, ‘उनीहरूले समयमै काम गरिदिएको भए यो दिन आउने थिएन।’
मृतकको परिवारलाई शवसँगै भेटिएको बोतललाई देखाएर प्रहरीले आत्महत्या प्रमाणित गर्न खोजेको आशंका छ।
‘मेरी छोरीले त्यसरी आत्महत्या गरेकी होइन। उसलाई कसैले हत्या गरेकै हुनुपर्छ,’ मृतककी आमा अम्बिका भण्डारीले भनिन्, ‘मलाई बचाउनु भन्थी छोरी, बचाउन सकिएन।’
स्थानीयबासीले राप्तीको झुरझुरेस्थित पूर्व-पश्चिम राजमार्गमा यातायातका साधन तेर्स्याएर दिनभर एम्बुलेन्स रोकेका थिए। उनीहरूले सुजिताको मृत्युको घटनालाई पनि निर्मला पन्तको जस्तैगरी ढिसमिस पार्ने कोसिस भइरहेको आरोप लगाएका थिए। पछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मेयर, वडाध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि र परिवारका सदस्यको छलफलपछि शवलाई भरतपुरतर्फ ल्याउन दिने सहमति भयो तर स्थानीयबासीले त्यसलाई मानेनन्।
प्रहरीले जतिसक्दो छिटो घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने सहमति भएपछि अहिले सडक खुलेको छ। । स्थानीयले ८ घण्टाभन्दा बढी समय राजमार्ग अवरूद्ध पारेका थिए ।
जागिर खोज्दै थिइन् सुजिता
भण्डारी परिवारको टिनले छाएको पुरानो घर छ। घरसँगै जोडिएको गोठमा केही बाख्रा र गाई बाँधिएका छन्। यसबाहेक त्यही चार कठ्ठा जमिन उनीहरूको सम्पत्ती हो।
कृतिका चौलागाईं सुजताकी मिल्ने साथी हुन्। उनकाअनुसार सुजिता पछिल्लो समय जागिरको खोजीमा थिइन्। जागिरको खोजीमा उनी निषेधाज्ञा अघिका तीन महिना काठमाडौं बसेकी थिइन्। तर उनी जागिर नखाई घर फर्किइन्।
सुजिताले स्थानीय बुद्धशान्ति माविमा प्लस टु र बुद्धशान्ति क्याम्पसमै स्नातक गरेकी थिइन्। किसान बुबा, आमाको आर्थिक अवस्था कमजोर भएका कारण उनीमाथि जागिर गर्नेपर्ने दबाब थियो।
‘ऋण लिएर छोरा, छोरी पढाउँदै आएका थिए, सुजिताको पढाइ राम्रो थियो,’ उनले भनिन्, ‘परिवारले उनीबाट धेरै अपेक्षा राखेको थियो।’
सुजिताका तीन दिदी र एक भाइ छन्।
आमा अम्बिकाले स्थानीय खानेपानी संस्थामा छोरीलाई जागिर लगाउन आग्रह पनि गरेकी थिइन्। उक्त संस्थाका अध्यक्ष राजकुमार भट्टले आर्थिक अवस्था कमजोर भएका कारण परिवारका एक जनालाई जागिर लगाइदिन पाए हुन्थ्यो भन्दाभन्दै मृत्यु भएको बताए। उनले सुजिता हराएको थाहा पाएबाटै आफूले पनि खोजीमा सहयोग गर्दै आएको बताए।
‘असाध्यै सरल र सोझी छिन् भन्ने सुनेको थिएँ,’ उनले भने, ‘जीवितै होला, परिवारलाई भन्न नसकेरै कतै बसेको होला भन्ने थियो हामीलाई।’
सुजितालाई कक्षा ९ देखि ११ सम्म अर्थशास्त्र विषय पढाएका बुद्धशान्ति विद्यालयका विश्वराम सेढाईं उनी जेहेन्दार विद्यार्थी रहेको बताउँछन्।
‘पढाइमा टाठी, स्कुलमा कहिल्यै गल्ती नगर्ने, कहिल्यै नराम्रो काम नगर्ने विद्यार्थी थिइन्। उनको अपहरण भएको सुन्दा अचम्मै लाग्यो,’ उनले भने, ‘शव भेटियो भन्ने सुनेर आएँ, शव पनि देखें, अझै पनि उनको होइन की झैं लागेको छ।’