असार १८ गते साँझ जयश्वर सापकोटाले फेसबुकमा एउटा स्टाटस पोस्ट गरे। शीर्षक थियो- छोरी हराएको सूचना।
फोटोसहित राखिएको सूचनामा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा घरबाट निस्किएकी विना सापकोटा अहिलेसम्म पनि कसैसँग सम्पर्कमा नआएकाले देख्ने/भेट्नेले नजिकैको प्रहरी कार्यालय वा आफ्नो मोवाइल नम्बरमा सम्पर्कगरी जानकारी दिन आग्रह गरिएको थियो। जयश्वरको घर नवलपुरको गैंडाकोट नगरपालिकाको झपर्दीमा हो।
फोटोमा विना नारायणी नदीको पुलमा उभिएर मुस्कुराएको देखिन्छन्। तर यो फोटो उनी हराउनुभन्दा केही दिन अघिको हो। हराएको दिन त्यही कपडा लगाएर निस्किएकाले जयश्वरले छोरीको फेसबुकबाट निकालेर त्यो फोटो पोष्ट गरेका थिए।
बाबुले छोरी हराइन् भनेर सामाजिक सञ्जालमा राखेको सूचनालाई आधार मानेर धेरैले विनाको विषयमा चासो राखे। जयश्वरले छोरी हराएको विषयमा सुरूमा इलाका प्रहरी कार्यालय गैंडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिए। तर घरबाट निस्किएको ८ दिनसम्ममा पनि छोरीको अवस्थाको विषयमा कुनै पनि जानकारी प्राप्त नभएको बाबु जयश्वरले बताए।
२१ वर्षीया विना गैंडाकोटमै रहेको जनक कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन्।
प्रहरीले विनाका प्रेमी भरतपुर महानगरपालिका-४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएको छ।
जयश्वरका अनुसार सो दिन कँडेलले विनालाई गैंडाकोटस्थित घरैबाट मोटरसाइकलमा राखेर लगेका थिए।
विनाले फेसबुकमा देखिने ‘रिलेशनसिप स्टाटस’ मा ‘रिलेशन विथ प्रवेश कँडेल’ उल्लेख गरेकी छन्। प्रवेशले पनि फसबुकमा ‘रिलेशन विथ विना सापकोटा’ उल्लेख गरेका छन्।
बेलायतमा रहँदै आएका प्रवेश वैशाखमा नेपाल आएका थिए। अहिले उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनको साथबाट प्रहरीले विनाले चलाउँदै आएको मोबाइल फुटेको अवस्थामा भेटाएको छ।
प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुबै परिवारलाई थाहा थियो। प्रवेश विनाको घरमा बेलाबेलामा पुगिरहन्थे।
असार १४ गते अपरान्ह स्कुटर चढेर उनी विनाको घरमा पुगे। प्रवेशलाई विनाले नै घरमा बोलाएकी थिइन्।
‘उनीहरूका बीचमा प्रेम सम्बन्ध थियो। हामीले पनि स्वीकार गरेका थियौं,’ बाबु जयश्वरले भने, ‘त्यसदिन छोरीले प्रवेश अर्की केटीसँग सम्बन्ध रहेको मेसो पाइछन्। त्यही कुरा गर्न बोलाएकी रहिछन्।’
विनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए। विना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागिन्।
‘आधा घन्टा मा फर्कन्छु भनेर हिँडेकी छोरी आठ दिन हुँदा पनि आइनन्,’ जयश्वरले भने, ‘यतिका दिनसम्म छोरी कहाँ छन्, के गर्दै छिन् अत्तोपत्तो छैन।’
जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवेशले दिएको बयानमा भरतपुरस्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो।
सुरूमा ती युवतीले प्रवेशसँग आफ्नो सामान्य कुराकानीमात्रै हुने गरेको बताएकी थिइन्।
‘कुरा बढ्दै गएपछि प्रवेशले विना र कुशुमलाई मात्रै कुरा गरून् भनेर चुप बसेछन्। त्यतिखेर दुई जनाका बीचमा बाझाबाझ भएछ,’ प्रवेशको बयानलाई उद्धृत गर्दै जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापा भन्छन्, ‘विना बेहास भइछन्। त्यसपछि विनालाई ती युवतीको घरमा लगेछन्। त्यहीँबाट प्रवेशले बाबु जयश्वरलाई फोन गरेर जानकारी गराएछन्।’
साढे साँझ ६ बजेतिर छोरी बेहोस भएको खबर सुनेपछि जयश्वर आत्तिए। उनले मोबाइल छोरीलाई दिन भने, तर विना राम्रोसँग बोल्न सकिनन्।
‘तिमीहरू कता छौ म आउँछु भन्दा प्रवेश र विना दुबैले उनीहरू भएको ठाउँ बताएनन्,’ जयश्वरले भने, ‘प्रवेशलाई मेरी छोरीलाई घर ल्याइदिइहाल भनें।’
उनले प्रवेशसँग सवारी साधन नभएको भए गाडी रिजर्भ गरेर ल्याउन वा भाडाका लागि चाहिने पैसा दिएर दिएर अटोरिक्सामा पठाइदिन आग्रह गरे।
प्रवेशले बयानमा त्यो दिन आफूले साथीको स्कुटर प्रयोग गरेको बताएका छन्।
ती युवतीको घरबाट गैंडाकोट पुर्याउन स्कुटर निकाले पनि विना त्यसमा बस्न नमानेको उनले बताएका छन्। उनका अनुसार विना पैदल नै अघि बढेकी थिइन,उनी विनाको पछिपछि लागेर चौबीसकोठीसम्म पुगेछन्। त्यहाँ आफू पैसा निकाल्नका लागि एटिएममा पसेको प्रवेशको बयानमा उल्लेख छ।
‘उनको एटिएमबाट पैसा निस्किएनछ, बाहिर निस्कँदा विनालाई पनि देखिनँ भनेका छन्,’ डिएसपी थापाले भने।
विनाका परिवार भने छोरीको प्रतिक्षामा थिए।
‘हामी छोरी आउलिन् भनेर बाटो हेरिरह्यौं तर धेरै समय भइसक्दा पनि आएनन्,’ उनले भने।
छोरी नआएपछि फोन गर्दा प्रवेशले आफू चौबीसकोठीमा रहेको तर विना आफूसँग नरहेको बताए। आत्तिएका जयश्वर हतार-हतार भरतपुर निस्किए, त्यतिखेर रातिको ८ बजिसकेको थियो।
जयश्वर र प्रवेशले राती २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा विनालाई खोजे।
नभेटेपछि प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर पुगे, घटनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराए।
जयश्वरले १५, १६ र १७ गते पनि छोरीलाई खोजिरहे तर भेटाएनन्।
१८ गते उनले प्रवेश कँडेलले घरैबाट लिएर गएकी आफ्नी छोरी भरतपुरबाट हराएकाले खोजिदन आग्रह गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिए। त्यही दिनको साँझ उनले फेसबुकमा छोरी हराएको सूचना पोष्ट गरेका थिए।
प्रवेशले आफू चढेर आएको स्कुटर चौबीसकोठीबाट साथीलाई फोन गरेर जिम्मा लगाएको बताएका छन्।
फोन गरेर बोलाएपछि दुई जना साथी आएर स्कुटर लगेको उनले बताएका छन्। प्रहरीले ती प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरी अनुसन्धान चलाइरहेको बताएको छ।
डिएसपी थापाले चौबीसकोठी क्षेत्रमा सिसिटिभी क्यामरा नभएका कारण बयानमा भनिएका कुराहरूको परीक्षण गर्न असजिलो भइरहेको बताए।
‘एटिएम पसेको कुरा त हामीले सिसिटिभीको फुटेजमा देख्यौं तर बाहिरका क्यामेराले काम नगर्ने भएकाले विना, स्कुटर र अन्य दुई युवाको गतिविधि देख्न पाइएन,’ उनले भने, ‘यद्यपी प्राप्त प्रमाणका आधारमा अनुसन्धान अघि बढिरहेको छ। हामीसँग विनाको मोबाइल छ, उनको खोजीको काम पनि भइरहेको छ।’
उनले प्रवेश र विनाका बीचमा प्रेम सम्बन्ध रहेको विनाको परिवारले पनि स्वीकार गरेको बताए।
जयश्वर विना र प्रवेशको प्रेम ५ वर्ष पुरानो रहेको बताउँछन्। उनकाअनुसार प्रेम सम्बन्ध सुरू भएको केही दिनमै उनीहरू घरबाट भागेका थिए।
‘छोरीको उमेर कम रहेको भनेर सम्झाइबुझाइ गरियो, बिस्तारै सबै कुरा ठीक हुँदै गयो,’ उनले भने, ‘मेरो सामुन्ने सँगै बाच्ने, सँगै मर्ने कसम खाएका थिए।’
पछि प्रवेश बेलायत गएका थिए। उनी वैशाखको दोस्रो हप्ता नेपाल फर्किएका थिए।
घर फर्किपछिका धेरै दिन प्रवेशले विनाको घरमा बिताएका छन्।
‘असारमै ज्वरो आयो भनेर हाम्रो घरमा आए, लगातार ४ दिन यहीँ बसेर आराम गरेपछि निको भएर घर गएका थिए,’ जयश्वर भन्छन्, ‘उनीहरूको प्रेम सम्बन्ध माथि त हामीलाई कुनै शंका थिएन।’
उनकाअनुसार विवाहका लागि कुरा राख्दा जयश्वरले २ वर्ष कुर्न भनेका थिए। प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ।
‘मलाई त मेरो बुबाले भन्दा पनि माया गर्नुहुन्छ भन्थ्यो तर उसको परिवारले भने यो सम्बन्धलाई स्वीकार गरेको थिएन,’ जयश्वर भन्छन्, ‘आफ्नो परिवारले स्वीकार नगर्दाको पीडा मैले उसमा देखेको थिएँ।’
विना जयश्वरकी कान्छी छोरी हुन्। जेठी छोरीको विवाह भइसकेको छ। उनका एक छोरा छन्। जयश्वर पहिले साइकल पसल चलाउँथे। अचेल पसल छाडेर घरको काममा व्यस्त रहँदै आएका छन्।