घर नजिकैबाट मोटर चल्नुलाई धेरै मान्छे खुसीको विषय ठान्छन्। घरको अगाडिबाट मोटर बाटो निकाल्न मरिहत्ते गर्छन्। तर मोटर बाटोका कारण भइराखेकै घर, जमिन गुमाउनु पर्दाको पीडा कस्तो होला?
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, लैताक (जोगीमारा) का कुमार चेपाङलाई घर नजिकैबाट लगिएको मोटर बाटोले धरधरी रुवाएको छ।
कुमार चेपाङको परिवार यो ठाउँमा बस्न थालेको २२ वर्ष भयो। उनको घरमुनिबाट ग्रामीण सडक खनिएको एक दशक भयो।
पृथ्वी राजमार्गको हुग्दीखोलाबाट चितवनको हात्तीबाङसम्म जोडिने ग्रामीण सडक खन्दै गर्दा नै कुमारको मनमा चस्को पसेको थियो। उनले त्यतिखेरै बाटोले आफ्नो घर खेतलाई असर पार्नसक्ने भन्दै सचेत गराउन खोजेका थिए। तर त्यतिखेर उनको कुराको सुनुवाइ भएन।
त्यतिखेर बाटो माथि थुम्कोमा उनको चार रोपनी जग्गामा घर थियो। २०७२ सालको भूकम्पले क्षति गरेपछि पुरानो घरको आडैमा अनुदानको घर तयार पारे। घरअगाडि सानो आँगन अनि आँगनको अगाडि बारी थियो।
गत वर्षको माघमा बाटो बिस्तारका लागि भन्दै गाउँपालिकाले एक्साभेटर चलायो। असारको पहिलो हप्तामा परेको पानीले डेढ रोपनी बारी गर्लम्मै झर्यो।
‘चार रोपनी जग्गामध्ये अब एक-डेढ रोपनीमात्रै बाँकी छ,’ कुमारले सेतोपाटीसँग भने, ‘बाँकी रहेको घर र थोरै बारी पनि कुन दिन लैजान्छ भन्ने पीर छ।’
हुग्दीखोलाबाट उकालो चढ्ने सडकको नाम बुद्धमार्ग राखिएको छ। केही दिनअघिको ठूलो झरीमा यो सडक छिया–छिया भएको छ। धेरै ठाउँमा पहिरोले बाटो ध्वस्त पारेको छ। कतै माथिबाट पहिरो झरेको छ भने कतै सडकको छेउ भासिएको छ।
सडकको पहिरो कुमारको आँगनसम्मै पुगेको छ। केही दिनअघि अविरल हुँदा उनको परिवार घरमा सुत्न पनि सकेन। कैयौं रात अनिदै कटाए। गाउँका गन्यमान्यदेखि वडाअध्यक्ष हुँदै गाउँपालिकासम्म कुरा पुर्याए तर कसैले उनको कुराको वास्ता गरेनन्।
जोखिम बढेपछि उनी केही दिन सडकमै पुगे। खामो, डाडाभाटा जुटाएर पाँच दिनसम्म सडकमै टहरो बनाएर बसे।
‘सडकले गर्दा मेरो गरिखाने जग्गा नै गयो, घर पनि जाने अवस्थामा पुग्यो,’ उनले भने, ‘अब यहीँ बस्ने हो भनेर बाटैमा टहरो बनाएँ।’
कुमारले सडकमै टहरो ठडाएपछि बल्ल गाउँलेको टाउको दुख्न थाल्यो। स्थानीय जनप्रतिनिधिलाई पनि तनाव भयो। उनीहरू सबैले टहरो हटाउन अनुरोध गरे। पहिले आफू जोखिममा परें भन्दा बेवास्ता गरेका जनप्रतिनिधिले कुमारलाई फोन गरेर ‘खुरुक्क टहरो हटा’ भने। तैपनि कुमार मानेनन्। सडकको बसाइ उनको बाध्यता थियो। कुमारको माग सडकको कुनामा पर्खाल लगाएर आफ्नो घर खेतको सुरक्षा गरिदिनुपर्यो भन्ने थियो।
‘सोमबारबाट घाम लाग्न थाल्यो। पानी नपर्दा त जोखिम नहोला कि भनेर घरमा उक्लिएको छु, सबैको टोकसो सुन्नु परेपछि अहिलेलाई टहरो पनि हटाएको छु,’ उनले भने, ‘तर, मेरो समस्या कसले सुनिदिने हो थाहा छैन।’
कुमारको यो ठाउँबाहेक पखेरो र खोरिया गरेर थप ६ रोपनी जग्गा छ। त्यहाँ खासै राम्रो उब्जाउ हुँदैन। घरसँगै जोडिएको जग्गामा खेती गरेर उब्जिएको तरकारी बेचेर उनले वर्षौंदेखि परिवार चलाएका थिए।
‘पिँडालु, तने बोडी हुर्किएको थियो पहिरोले बारी नै लग्यो,’ उनले भने। कुमारले आफ्नो समस्या देखाएर वडा कार्यालय र गाउँपालिकामा पटक-पटक निवेदन दिए पनि केही समाधान ननिस्किएको बताए।
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष अमर गुरुङले यसपालि मात्रै नभएर हरेक वर्ष ग्रामीण सडकमा क्षति हुने गरेको बताए।
यसपालि पहिलेभन्दा अझ बढी क्षति भएको उनले बताए।
‘मर्का त परेकै हो, प्रकोपले गरेको हो,’ वडाध्यक्ष गुरुङले भने, ‘तर, त्यसो भनेर सडकमै टहरो बनाउन त भएन नि।’
उनले प्राविधिक पठाएर क्षति मूल्यांकन गर्ने बताए। तर कुमारले भनेजस्तो पर्खाल लाउने तयारी स्थानीय तहको छैन।
गत वर्ष यो वडाका जवाङखोला र मोवाखोलामा ठाडोखोलाको बाढीले ठूलो क्षति गरेको थियो। मोवाखोलाका ३ र जवाङखोलाका ६ घरमा पूर्ण क्षति भएको थियो। तिनीहरूलाई क्षतिपूर्तिका लागि लेखेर पठाएको उनले बताए।
‘तर, त्यसको केही जवाफ आएको छैन,’ वडाध्यक्ष गुरुङले भने, ‘हामीले गर्न सक्ने त्यत्ति हो, उहाँ (कुमार)को मात्रै होइन, उहाँको नजिकै अरू २ घर त भत्किसकेका छन्, तिनहरूको पनि समस्या आएको छ।’
बुद्धमार्ग सञ्चालक समिति अध्यक्ष कुमारी डल्लाकोटीले त्यहाँका चेपाङ समुदायका २ घरलाई धेरै नै असर परेको बताइन्।
‘घरगोठ नै पहिरोले तान्ने अवस्थामा छ,’ उनले भनिन्, ‘कंक्रिट पर्खाल वा ग्याबिन भरेर पहिरो रोकिहाल्नुपर्ने अवस्था छ।’
कुमारले मागेको पनि त्यही हो।
‘बाटो त सबैलाई चाहिन्छ नै,’ उनले भने, ‘हाम्रो घरगोठ पनि जोगिनुपर्यो होला नि! बाटोको माथिबाट माटो नबग्ने उपाय लगाइदिए हुन्थ्यो।’
अध्यक्ष डल्लाकोटीका अनुसार बुद्धमार्गमा पर्ने कम्तीमा ६ घरलाई तत्कालै सार्नुपर्ने देखिएको छ। करिब ८ किलोमिटर लामो यो सडकको कोटगाउँका ४ घर पनि जोखिममा छन्। त्यहाँका स्थानीय अक्कल मगरले सडकले घर र शौचालय पहिरोमा पर्ने जोखिम भएको बताए।
बुद्धमार्ग सञ्चालक समितिका पूर्वअध्यक्ष रामकृष्ण डल्लाकोटीका अनुसार यो सडक स्तरोन्नतिका लागि यसअघि २ करोड बजेट आएको थियो। सबै काम गर्न भ्याइएन। यसपालि फेरि करिब पौने ३ करोड बजेटमा काम हुँदै छ।
‘जोखिममा रहेका घरगोठ र जग्गा जोगाउनु पर्ने छ,’ उनले भने ।
स्थानीय राष्ट्रिय माध्यमिक विद्यालय खोरभञ्ज्याङका प्रधानाध्यापक दीपक रिजाल गाउँ–गाउँमा सडक खन्दा अति ध्यान दिनुपर्ने अवस्था आएको बताउँछन्।
‘विकासको पहिलो सर्त त सडक नै हो, सडक सबैलाई चाहिन्छ,’ उनले भने, ‘तर, विकाससँगै आउन सक्ने विनास रोक्नतिर पनि ध्यान दिनुपर्ने अवस्था आएको छ।’