गत जेठ पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा सम्बोधनका क्रममा नेपालका सडकको अवस्थाबारे भनेका थिए-बाटा त खुल्दै गएका छन् तर अचम्म लाग्छ त्यस बाटाबाट गाडी बहादुर गोर्खालीले बाहेक अरू कसैले हिँडाउनै सक्दैन।
प्रधानमन्त्री ओलीले त्यतिबेला त्यो कुन बाटो हो जसमा ‘बहादुर गोर्खाली’ मात्र गाडी चलाउन सक्छन् भन्ने खुलाएका थिएनन्। तर पछिल्लो समय देशकै प्रमुख राजमार्गमा पर्ने नारायणगढ-मुग्लिन सडकमा चालकहरूले देखाएको ‘गोर्खाली पारा’ले सायद ओलीले भनेको त्यो बाटो यही थियो भन्ने लाग्छ। जहाँ चालकहरू पहिरो खस्दाखस्दै ज्यान जोखिममा राखेर भगवान् भरोसामा सवारी हुँइकाइरहेका छन्।
भरतपुरका रमेश सेढाईलाई मंगलबार काठमाडौं पुग्नु थियो। मोटरसाइकलमा निस्किएका उनी लामो ट्राफिक जामलाई छिचोल्दै सेतीदोभानसम्म पुगे। त्यहाँ सवारी साधन रोकिएका थिए। सेती र त्रिशूली नदीको दोभानको ठीक माथि नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो झर्दै थियो। करिब एक घन्टापछि सडकमा झरेको पहिरो डोजरले सफा गर्यो।
‘बाटो त खुल्यो तर माथिबाट झर्न ठीक्क परेका ढुंगा देख्दा आङ सिरिङ्ङ भएको थियो,’ उनले भने, ‘तैपनि मलाई काठमाडौं नपुगी नहुने थियो। भगवानलाई सम्झँदै बाइक कुदाएँ।’
मंगलबार दिउँसै त्यही पहिरोबाट झरेको ढुंगो एउटा स्कार्पियोमा बजारिएको थियो। सडक खुल्ला देखेर अघि बढेको स्कार्पियोमा अकस्मात ढुंगा बजारिएको हो।
‘स्कार्पियोको अघिल्लो भागमा केही क्षति पुर्याएर ढुंगो त्रिशूली नदीमा खस्यो,’ उक्त घटनाका प्रत्यक्षदर्शीसमेत रहेका बागमती ट्रफिक प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘धन्न ठूलो क्षति हुन पाएन।’
त्यो घटनामा स्कार्पियोमा सवार चितवनको केराबारीका हरिबहादुर राना घाइते भएका थिए।
आइतबार दिउँसो पनि यो सडकमा यस्तै आङै सिरिङ्ङै हुने घटना भएको थियो। पहिरो खसिरहेको सडकमा मोटरसाइकल कुदाएका एक जना चालक माथिबाट आएको ढुंगाले धन्नै छोएको थियो।
मिडियामा आएका यी भिडिओहरू हेर्दा लाग्छ- नारायणगढ-मुग्लिन सडक खण्डमा चालकहरूले ज्यानलाई जोखिममा राखेर ‘बहादुर गोर्खाली’ पाराले चलाइरहेका छन्। उनीहरूको यस्तो दुस्साहसलाई प्रशासनले रोक्न सकेको छैन।
एसपी कोइरालाले प्रहरीले दिन-रात खटिएर सवारी साधनलाई सुरक्षित तवरले बाटो कटाउने प्रयास गरिरहेको छ।
‘पहिरो झर्न लागेपछि रोक्ने र सुरक्षित देख्दामात्रै सवारी साधन चलाउन दिने गरिएको छ। पहिरो झरिहाले सडक डिभिजन कार्यालयको डोजरले पन्छाएर पुनः यातायात सुरू गर्ने काम गरिएको छ,’ उनले भने, ‘हामीले गरेर हुनेजति प्रयास गरेकै छौं।’
उनले प्रहरीले प्रयास गर्दागर्दै पनि कतिपय चालकहरुले अटेरी गर्दा दुर्घटनाको खतरा बढेको बताए।
‘अलि टाठा चालकहरू अवस्थालाई विचार गरेर कटिहाल्छन्, मंगलबार नयाँ चालक परेकाले सामान्य सडकमा झैं अघि बढ्न खोज्दा दुर्घटना भयो,’ उनले भने, ‘ट्राफिक प्रहरीले सडकको दुवैतर्फ बसेर सिग्नल दिइरहे पनि त्यसलाई नटेर्ने, नबुझ्नेहरू समस्यामा पर्ने देखियो।’
दुर्घटनाका घाइते रानाले पनि चालकलाई रोक भन्दा पनि नमानेर कुदाएको बताएका थिए।
एसपी कोइरालाले सेतीदोभानको पहिरोमा अझै पनि केही ठूला ढुंगाहरू झर्न ठीक्क परेकाले जोखिम उस्तै रहेको बताए।
‘ठूलो पानी पर्यो भने त ती ढुंगाहरू खसिहाल्छन्, जोखिम धेरै छ,’ उनले भने, ‘तैपनि जोखिम छ भनेर हामीले बाटै बन्द गरेर राख्न त मिलेन। अवस्था हेरेर सुरक्षित रूपमा कटाउने काम गर्ने हो।’
उनले पहिरोमा रहेका ठूला ढुंगाहरू विपद् व्यवस्थापनको संयन्त्र, सडक डिभिजन कार्यालयले हटाउन सके यात्रा सुरक्षित हुन सक्थ्यो भनेर कुरा भए पनि सम्भव हुन नसकेको बताए।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नारायणगढ-मुग्लिन सडकको पहिरोले रातको निद्रा र दिनको भोक सबै हराएको बताए।
‘अप्रिय घटना नहोस् भनेर प्रहरी चौबीसै घन्टा खटिएको छ। कसरी पहिरो पन्छाएर बाटो फेरि चलाउने भन्ने चिन्ता छ,’ उनले भने।
लामिछानेले सवारी साधन रोकेर पहिरो पन्छाउन सकिन्छ कि भनेर सडक डिभिजन कार्यालयका इन्जिनियरलाई हेर्न लगाएको भए पनि त्यो सम्भव नभएको बताए।
‘तैपनि हामी सुरक्षित तवरले सवारी साधन कटाउने कोशिश गरिरहेका छौं, प्रहरी र सडक डिभिजनका कर्मचारीलाई जबर्जस्ती गरेर अघि बढ्न खोज्ने हो भने जे पनि हुन सक्ने भयो,’ उनले भने, ‘अत्यावश्यक वस्तु बाटैमा रोकिएका छन्। अत्यावश्यक रूपमा यात्रा गर्नुपर्नेहरू अलपत्र परेका छन्, उनीहरूलाई सुरक्षित रूपले गन्तव्यमा पठाउन हाम्रो प्रयास जारी छ।’
जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि शुक्रबारसम्म यस क्षेत्रमा वर्षा हुने उल्लेख गरेको छ।
‘हाम्रो चिन्ता अब पानी पर्यो भने कसरी व्यवस्थापन गर्ने भन्ने छ,’ लामिछानेले भने, ‘आशा गरौं विपद्बाट जोगिन अधिकतम प्रयास गर्ने हो। त्यो गर्दैछौं।’
गत बुधबारदेखि यता नारायणगढ-मुग्लिन सडक खण्डमा दर्जन बढी पहिरोहरू झरेका छन्। केही दिन अघिसम्म चारकिलो र पाँचकिलो भन्ने ठाउँमा झरेको पहिरोले दुःख दिएको थियो भने अहिले सेतीदोभानको पहिरोले यात्रुले सास्ती व्यहोर्दै आएका छन्।
बागमती ट्राफिक प्रहरीका प्रमुख कोइरालाकाअनुसार मंगलबार नारायणगढदेखि मुग्लिन हुँदै धादिङको समेत सडकमा गरी करिब १० हजार वटा सवारी साधन रोकिएका थिए। बुधबार बिहानबाट सेतीदोभानको पहिरो पन्छाएपछि सडक एकतर्फी रूपमा चलेका छन्।
‘तीन-चार दिनदेखि रोकिएका गाडीहरू पनि जाममा थिए, जाममा परेका गाडी आज अघि बढिरहेका छन्,’ उनले भने, ‘लामो समयदेखि रोकिएका गाडीहरू साँझसम्ममा कटिसक्छन् भन्ने अपेक्षा छ।’