सुजिता भण्डारीको मृत्युको विषयमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले भण्डारीको परिवारसम्म पुग्नै सकस भइरहेको बताएको छ।
बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले न्याय प्राप्तिको प्रक्रिया चलिरहँदा त्यसलाई पूरा गर्नमा अवरोध खडा गरिएको बताए।
‘अपराध अनुसन्धानको कुरालाई लिएर सडकमा आवागमन बन्द गराइदिने काम भएको छ,’ उनले भने, ‘हामीलाई सूचना दिएर सहयोग गर्नुपर्ने समाज नै यसमा लगेपछि अनुसन्धानमै बाधा परिरहेको छ।’
उनले प्रहरीले तथ्यमा आधारित भएर अनुसन्धानको निष्कर्ष निकाल्नुपर्नेमा प्रक्रियामा जानै नदिइएको गुनासो गरे।
‘दुःखको साथ भन्नुपर्छ हामी प्रक्रियामा जानै नपाएको अवस्था हो। फेरि पनि न्यायको कुरा उठिरहेको छ,’ उनले भने, ‘भनाइ र गराइमा तालमेल मिलेको छैन।’
उनले प्रहरीले पीडित परिवारलाई जसरी भेटन पाउनुपर्दथ्यो त्यो नपाइएको बताए।
प्रहरीलाई मृतकको परिवारसम्म पुग्न जिल्ला बाहिरका मान्छेहरू आएर अवरोध गरिरहेको उनले बताए।
ती मान्छे को हुन् भन्ने नखुलाइ उनले भने, ‘काठमाडौंमा फ्लेक्स प्रिन्ट गरेर पोको पारेर, यहाँ बास बसी समूह तयार पारेर अनुसन्धानमा अवरोध गरिएको छ।’
एसपी अधिकारीले अनुसन्धानमा खट्नुपर्ने प्रहरी कर्फ्यू व्यवस्थापनमा खट्नुपरेको बताए।
‘म अनुसन्धानमा ध्यान दिनुपर्ने मान्छे कर्फ्यू व्यवस्थापनमा खट्नुपरेको छ, अनि फेरि अनुसन्धानमा प्रगति के भयो भनेर तुरून्तै जवाफ पनि दिनुपर्ने छ,’ एसपी अधिकारीले भने, ‘असाध्यै अप्ठ्यारो अवस्था छ।’
उनले मृतकका परिवार प्रहरीलाई सहयोग तयार रहे पनि अन्यले माहोल भड्काउने काम गरेको बताए।
‘हामीले सुजितालाई बचाउन त सकेनौं तै पनि अनुसन्धानमा परिवारका सदस्य सन्तुष्ट छन्, बाहिर कसले के गरिरहेको छ उनीहरूलाई राम्ररी थाहासमेत छैन’ उनले भने, ‘तर प्रहरी र परिवारका बीचमा राम्ररी कुरा हुने माहोल अझै बनेको छैन। आज पनि हामी जाँदैछौं।’
पत्रकार सम्मेलनमा एसपी अधिकारीले असार ११ गते सुजिता र परिवारका सदस्यबीच मोबाइलमा पटक–पटक कुराकानी भएको पाइएको बताए।
सुजिताले मोबाइलमा ‘डाटा प्याक’ समेत लिएको अनुसन्धानमा भेटिएको छ।
जिल्ला प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको र पोस्टमार्टमको भिसेरा रिपोर्ट आएपछि थप कुरा आउने उनले बताए। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा सुजिताको हत्या भएको देखिएको थिएन।
सुजिताको शव फेला परेपछि उनको गाउँ राप्ती–३ मा राजमार्ग अवरोध गरी स्थानीयबासी आन्दोलनमा उत्रिएका थिए।
उनको हत्या भएको भन्दै आन्दोलन गर्न विभिन्न ठाउँबाट महिला अधिकारकर्मीहरू यहाँ आइपुगेका थिए।
उनीहरूको उपस्थितिपछि माहोल उत्तेजित बनेको थियो। स्थिति नियन्त्रण बाहिर जाने अवस्था देखेपछि जिल्ला प्रशासनले त्यस क्षेत्रमा मंगलबार रातिदेखि कर्फ्यू आदेश जारी गरेको छ। बिहीबार पनि कर्फ्यू जारी छ।