‘पार्थेनियम’ झट्ट हेर्दा पातीजस्तै हुन्छ।
पातीलाई हितकारी बुटी मान्ने गरिन्छ। गाउँ घरमा यसको प्रयोग औषधोपचारमासमेत हुने गरेको छ। हिन्दु संस्कारमा पातीको छुट्टै धार्मिक महत्व पनि छ। पार्थेनियम पातीजस्तै देखिने विपरीत गुण भएको झार हो। यो कृषि, वन्यजन्तुदेखि मानव स्वास्थ्यका लागिसमेत घातक देखिएको छ।
केही वर्षयता वन क्षेत्रमा भुसको आगोसरी फैलँदै गरेको पार्थेनियम संरक्षणकर्मीका लागि टाउको दुखाइको विषय बनेको छ।
चितवन राष्ट्रिय निकुञ्जले गएको चैतमा गैंडा गणना क्रममा संकलन गरेको तथ्यांककाअनुसार गैंडाको बासस्थानको ६ प्रतिशत क्षेत्र यो झारले ओगटेको छ।
सन् २०१५ मा संकलन गरिएको तथ्यांकमा गैंडाको बासस्थानमा यो झार करिब २ प्रतिशत क्षेत्रमा देखिएको थियो।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र सौराहाका प्रमुख डाक्टर बाबुराम लामिछानेका अनुसार गैंडाको बासस्थान बाहेकका क्षेत्रमा पनि यसको फैलावट देखिन्छ।
‘चैतमा गैंडा गणना गर्दा पालुवा पलाउने समय भएका कारण हात्ती चढेर हेर्दा नयाँ पालुवा झट्ट देखिएन। अहिले त्यतिखेर भन्दा निकै धेरै क्षेत्रमा फैलिएको देखिन्छ,’ डा.लामिछानेले भने, ‘यो मिचाहा झारले टाउको दुखाएको छ।’
लामिछानेले गैंडा लगायतका वन्यजन्तु चर्नका लागि तयार पारिएको घाँसे मैदानमा यो झार फैलनेक्रम निकै बढेको बताए।
उनकाअनुसार पार्थेनियम वन्यजन्तुले खाँदैनन्, मिचाहा प्रवृत्तिको यो झार भने वन्यजन्तुले रूचाउने अन्य घाँसलाई मिचेर फैलिँदैछ।
यसका कारण वन्यजन्तुका लागि लाभवर्द्धक मानिने रैथाने वनस्पती लोप हुने खतरा देखिएको छ।
फागुनतिर पलाउन सुरू हुने यो झार भदौसम्म रहन्छ। करिब ६ महिनामा यसमा फूल फुलेर बिउ निस्कन्छ।
एउटै बोटमा ३० हजार वटासम्म बिउ तयार हुने र उक्त बिउको माध्यमबाट द्रुत गतिमा फैलने देखिएको लामिछानेले बताए। उनका अनुसार यसको फैलावट वन क्षेत्रमा मात्रै नभएर कृषि क्षेत्रमा पनि बढेको छ।
‘सडक सञ्जालको विस्तारसँगै पार्थेनियमको बिउ पनि धेरै ठाउँमा पुगेको पाइन्छ,’ उनले भने, ‘वन क्षेत्रमा मात्रै नभएर खेत र ग्रामीण क्षेत्रमा पनि फैलन थालेको छ। मुस्ताङसम्म पुगिसकेको रहेछ।’
नेपालमा सन् १९६७ तिर त्रिशूली भ्यालीतिर यो झार देखिएको थियो। करिब एक दशकदेखि भने धेरै ठाउँमा देखिन थालेको छ।
भारत हुँदै नेपाल आएको मानिने पार्थेनियम चितवन निकुञ्जमा सन् २०१२ तिर पहिचान गरिएको हो।
भारतमा भने सन् १९५७ मा रेकर्ड भएको थियो। भारतमा मेक्सिकोबाट गहुँ आयातकोक्रममा पाथ्रेनियमको बिउ पनि भित्रिएको अनुमान गरिन्छ। नेपालमा भने भारतबाट आउने गाडी तथा कृषि सामग्रीसँगै यो भित्रिएको पाइएको छ।
करिब दश वर्ष अघि सौराहा नजिकैको खोरसोर क्षेत्रमा अध्ययनका क्रममा विज्ञहरूले पार्थेनियम झारको पहिचान गरेका थिए। उनीहरूले त्यतिखेरै त्यो झारलाई नष्ट गर्न सचेत गराएका थिए। तर विज्ञका कुरालाई सरोकारवाला निकाय तथा स्थानीयले महत्व दिएनन्।
नेपालमा मिचाहा प्रवृत्तिका वनस्पतिको विषयमा लामो समयदेखि अनुसन्धान गर्दै आएका त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र केन्द्रीय विभागका सह-प्राध्यापक डा. भरतबाबु श्रेष्ठ भन्छन्, ‘त्यतिखेर हाम्रो कुरा सुनेको भए यति ठूलो क्षेत्रमा फैलनै पाउने थिएन। अब त यो नियन्त्रणभन्दा बाहिर गइसकेको छ।’
त्यसयता यसको फैलावट भित्री मधेश र मध्य पहाडका वन क्षेत्रमा निकै बढ्दै गएको पाइएको छ।
सूर्यको प्रकाश पर्ने र खुकुलो माटो भएको ठाउँमा यो सजिलै हुर्कन्छ। वन्यजन्तुका लागि आवश्यक पर्ने वनस्पति र घाँसका लागि पनि यस्तै ठाउँ अनुकूल हुन्छ।
श्रेष्ठका अनुसार सुरूआतमा नेपालमा यो झार सडकको छेउतिर मात्र देखिन्थ्यो।
‘सडकमा गुड्ने गाडीमार्फत यसको बिउ सडक सञ्चाल पुगेका क्षेत्रहरूमा विस्तार हुँदै गयो, सन् २०१३ मा हामीले करिब ५० वटा जिल्लामा यसको अध्ययन गरेका थियौं,’ उनले भने, ‘त्यो अध्ययनले भारतबाट भित्रिएको झार चीनसँगको सीमा क्षेत्रसम्मै पुगेको देखायो। अहिले सडक पुगेको ठाउँमा केही न केही त देखिएकै छ।’
उनले सडक आसपास र सहरी क्षेत्रमा देखिने बेलै नष्ट नगरेका कारण यसले प्राकृतिक र कृषि क्षेत्रमा प्रवेश गर्ने अवसर पाएको बताए।
वन्यजन्तुको मात्रै नभएर घरपालुवा जनावरको चरन क्षेत्रमा पनि यसको असर बढ्दै गएको उनको भनाइ छ।
श्रेष्ठका अनुसार पार्थेनियमले मानव स्वास्थ्यमासमेत असर गर्छ।
‘यसको फूलको पराग कणले श्वासप्रश्वासमा समस्या हुने, डाँठमा हुने झुसले छालामा समस्या ल्याउने गरेको अनुसन्धानले देखाएको छ,’ वनस्पति विज्ञ श्रेष्ठले भने,‘पार्थेनियमको पराग कणकै असरले भारतमा धेरै मान्छेको मृत्यु भएको छ। झुसबाट छालामा देखिएको समस्याले पनि मान्छे मरेको पुष्टि भएको छ।’
यो धेरै फैलिएपछि अनुसन्धानबाट मानव स्वास्थ्यमा असर पर्ने देखेर भारतमा यसबाट सतर्क रहन मान्छेहरूलाई सचेत नै गराइएको छ।
नेपालमै पनि पार्थेनियम झारसँग नजिक भएर अनुसन्धान गरेका व्यक्तिलाई नै एलर्जी हुने, श्वासप्रश्वासमा समस्या देखिएको उनले बताए।
श्रेष्ठका अनुसार पार्थेनियम वन्यजन्तुले नखाने भए पनि वन्यजन्तुले खाने वनस्पतिमा यसको परागकण टाँसिने गरेको र त्यो खाँदा उनीहरूलाई असर गरेको पाइएको छ।
‘धेरै किसानले यस्तो गुनासो सुनाउन थालेका छन्, यसको परागकणको असर गाई, भैंसीले दिने दूधमा पर्ने रहेछ, दूध नै तीतो हुने र किसानले मूल्य नपाउने समस्या देखियो,’ उनले भने।
कृषि क्षेत्रमा तोरी, मकै, आलु र उखु बारीमा यसको असर देखिएको छ। पानी जमेको क्षेत्रमा भने यो हुर्कन सक्दैन तर बिउ माटोमा १५ वर्षसम्म पनि नबिग्रने भएकाले यसको असर दीर्घकालीन हुन्छ।
‘अफ्रिकामा त यसको कारण भोकमरीकै अवस्था आयो,’ श्रेष्ठले भने, ‘नेपालमा पनि बेलैमा सचेत नभए त्यस्तै अवस्था आउन सक्छ।’
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले तयार पार्ने विश्वका सबभन्दा आक्रामक १०० मिचाहा प्रजातिमा यो पर्दैन। तर पार्थेनियमको फैलावट र असर बढ्दोक्रममा देखिएको श्रेष्ठले बताए।
उनकाअनुसार मध्य र दक्षिण अमेरिकाको रैथाने झार मानव गतिविधिसँगै अस्ट्रेलिया, अफ्रिका, एसियामा फैलिएको हो। यसले कृषि र पशु उत्पादनमा ठूलो असर पारेको अध्ययनले देखाएको छ।
पार्थेनियमको असर अस्ट्रेलियामा असाध्यै धेरै देखियो। यसले त्यहाँ हरेक वर्ष लाखौं डलर मूल्यका उपजमा नोक्सान गर्ने गरेको छ। यो झारका कारण अस्ट्रेलियाको मासु व्यवसायमा वर्षेनी १६.५ मिलियन डलरले नोक्सान हुने गरेको छ।
‘अस्ट्रेलियामा अमेरिकाबाट घाँसको बिउ मगाउने क्रममा बिउमा मिसिएर पार्थेनियम पुगेको भन्छन्,’ लामिछानेले भने,‘त्यहाँ यसलाई नियन्त्रण गर्न ठूलो समस्या भइरहेको छ।’
अमेरिकाको कृषि विभागका अनुसार मिचाहा झारले त्यहाँका विभिन्न प्रजाति लोपोन्मुख हुनमा ४२ प्रतिशत योगदान दिएका छन्। १८ प्रतिशत लोपोन्मुख प्रजाति हराउनमा मिचाहा झार कारण बनेका छन्।
नेपालको वन क्षेत्रमा समस्याका रूपमा देखापरेका मिचाहा वनमारा झारमा पार्थेनियम १० औं नम्बरमा पर्ने लामिछाने बताउँछन्।
यस्तै, मिचाहा अर्को झार हो ‘माइकेनिया मिक्रान्था’।
यो वनमारा झार नेपालको वन क्षेत्रका लागि सबभन्दा ठूलो समस्याका रूपमा देखिन्छ। यद्यपी पछिल्ला वर्ष यसको फैलावट घट्दोक्रममा छ।
यो झारले वन क्षेत्रमा ठूलो समस्या निम्त्याउने देखिएपछि सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले चितवन निकुञ्ज पुगेर यो झार नियन्त्रणको अभियान थालेका थिए।
निकुञ्जले पनि निरन्तर प्रयास गरेपछि अहिले करिब ३५ प्रतिशत क्षेत्रमा मात्रै देखिन थालेको छ। सन् २०१५ मा गैंडाको बासस्थानमा गरिएको अध्ययनमा ४६ प्रतिशत क्षेत्रमा माइकेनिया मिक्रान्था देखिएको थियो।
सन् १९६३ मा इलाममा देखिएको यो वनमारा झार सन् २००० मा चितवनमा देखिएको थियो। पछि लुम्बिनी क्षेत्र हुँदै दाङसम्म पनि ठूलो परिमाणमा यो फैलियो।
ठूलो झाङ हुने भएकाले दोस्रो विश्वयुद्धताका बर्मा क्षेत्रमा यसलाई सैनिकले ‘क्याम्प कम्पाउण्ड’ का लागि प्रयोग गर्थे।
नेपालको इलाम क्षेत्रमा पनि सुरूमा यसको प्रयोग चिया बगानको कम्पाउण्डका लागि प्रयोग भएको पाइन्छ। बिस्तारै वन क्षेत्रमा फैलिएको यो झार वन्यजन्तुको वासस्थानमै असर पर्नेगरी समस्याका रूपमा देखिएको लामिछानेले बताए।
‘सुरूमा फैलने क्षमता बढी भए पनि बिस्तारै त्यो क्षमता घट्दै जान्छ, माइकेनियाको पनि त्यस्तै अवस्था देखिन्छ,’ लामिछाने भन्छन्, ‘पार्थेनियम पनि केही वर्ष माइकेनियाझैं द्रुत गतिमा फैलन सक्छ।’
माइकेनिया मिक्रान्था भित्रिएकै समयतिर नेपाल भित्रिएको पार्थेनियम लामो समयपछि ठूलो परिमाणमा देखिएको उनले बताए।
नियन्त्रण कसरी गर्ने?
वनस्पति विज्ञ श्रेष्ठकाअनुसार यो झारलाई नियन्त्रण गर्ने मुख्य उपाय फैलन नपाउँदै नष्ट गर्ने हो। तर नेपालमा धेरै क्षेत्रमा यो फैलिसकेका कारण त्यो उपायले मात्रै अब काम गर्दैन।
श्रेष्ठ अस्ट्रेलिया, अफ्रिका, भारततिर जैविक विधिको प्रयोग गरेर यसलाई नियन्त्रणमा लिने काम भइरहेको बताउँछन्। जाइगोग्राम(खपटे कीरा) र ढुसी पार्थेनियम झारका लागि बाधक बन्ने अध्ययनले देखाएको छ।
खपटे कीराले पात खाइदिने र फूल फुल्न नदिने गरेको देखिन्छ भने ढुसीले बोट मर्ने गरेको भेटिएको छ।
‘पार्थेनियमको असर बढेपछि भारतमा सन् १९८० बाट तीन वर्ष लगाएर खपटे कीराको विषयमा अनुसन्धान गरियो। त्यो अनुसन्धानले यो कीराको उत्पादन बढाउन सक्ने हो भने पार्थेनियमलाई नियन्त्रण गर्न सक्ने देखायो,’ उनले भने, ‘त्यसैको आधारमा ल्याबबाट कीरा उत्पादन गर्दै असर भएको ठाउँमा छाडियो।’
तर केही वर्षपछि यो कीराले सूर्यमुखी फूललाई पनि असर पारेको गुनासो अयो। तर पछि अनुसन्धान गर्दा पार्थेनियमकै परागकण सूर्यमुखी फूलमा पुगेका कारण खपटे कीरा त्यता पनि पुगेको देखियो।
‘यो कीराले पार्थेनियमबाहेक अन्य वनस्पतिलाई असर नगर्ने प्रमाणित भएपछि थप सतर्कता अपनाउँदै कीराको उत्पादन बढाउने र राज्य-राज्यमा पठाउने काम भयो’, उनले भने, ‘त्यतैका कीरा अहिले नेपालमा पनि देखिन्छन्।’
उनकाअनुसार नेपालका विभिन्न ठाउँमा खपटे कीरा देखिए पनि पर्याप्त छैनन्।
अस्ट्रेलियामा पनि ९ जातका कीरा र २ जातका ढुसीलाई ल्याबबाट उत्पादन गरेर असर भएको ठाउँमा पुर्याई नियन्त्रण गर्ने काम गरिरहेको छ। अफ्रिकामा पनि दुई किसिमका कीरा उत्पादन गरेर छाडिएका छन्।
त्यसो त नेपालमा पनि कृषिसम्बन्धी अनुसन्धान गर्ने संस्था नार्क र विश्वविद्यालयमा अध्ययनरत केही विद्यार्थीले यो कीरा र ढुसीको विषयमा अनुसन्धान गरिरहेका छन्।
‘तराई, काठमाडौंदेखि ताप्लेजुङसम्म देखिएको पार्थेनियम, यसमा ढुसी र कीराले पार्ने असरको विषयमा केही अनुसन्धान भएका छन्, तर सरकारी निकायबाट यसमा खासै चासो पुगेको छैन,’ श्रेष्ठले भने, ‘सरकारी कागजमा पार्थेनियम लगायतका मिचाहा झार प्राकृतिक बासस्थानका लागि बाधक रहेकाले नियन्त्रण गर्नुपर्ने उल्लेख छ तर ती कागज यसै थन्किएका छन्, कार्यान्वयनमा कसैले चासो दिएका छैनन्।’
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पार्थेनियमकै लागि भनेर छुट्टै योजना नबनाइएको भए पनि समय-समयमा हुने घाँसे मैदान व्यवस्थापनका क्रममा यसलाई फूल नफुल्दै काटेर नष्ट गर्ने गरिएको बताए।
‘यसको फैलावट बढ्दै जानु दुखद विषय हो,’ उनले भने, ‘निकुञ्जले यसलाई नियन्त्रण गर्न सक्दो प्रयास गर्छ।’
अरू पनि छन् मिचाहा झार
पार्थेनियम र माइकेनिया मिक्रान्थाजस्तै मिचाहा प्रवृत्तिका झारहरू ठूलो लज्जावती, सेतो वनमारा र काँडे वनमारा पनि वन र वन्यजन्तु संरक्षणमा चुनौती बनेका छन्।
गैंडाको बासस्थानमा सेतो वनमाराले २२ र काँडे वनमाराले १० प्रतिशत क्षेत्र ओगटेका छन्। लज्जावती झारको जस्तै देखिने तर ठूलो आकारको ठूलो लज्जावती पूर्वी नेपालमा ठूलो समस्या बन्दै गएको छ। उल्टो काँडा हुने यसको झाडीभित्र पसेपछि मुसा पनि बाहिर निस्कन नसक्ने स्थानीयले बताउने गरेको श्रेष्ठले सुनाए।
केही दिन अघिमात्रै काभ्रेमा ‘सिंगापुर डेइजी’ नामको मिचाहा वनस्पति रेकर्ड गरिएको छ।
यो विश्वकै मिचाहा वनस्पतिमा १०० वटा भित्रमा पर्छ। श्रेष्ठले नेपालमा त्यसको रेकर्ड सरकारी निकायमा पनि भएको तर नियन्त्रणका लागि कुनै काम सुरू नभएको बताए।
१०० मिचाहा वनस्पतिको सूचीमा रहेका फूल फुल्ने ३४ प्रजातिका वनस्पतिमध्ये ६ वटा नेपालमा फैलिँदोक्रममा छन्। तीमध्ये नेपाली पशुपालकले घाँसका लागि प्रयोग गर्दै आएको ‘इपिललिपिल’ पनि एक हो।
‘घाँसका लागि घर, फार्म वरपर लगाइएको भए पनि यसको बिउ प्राकृतिक क्षेत्रमा पनि फैलन थालेको छ,’ श्रेष्ठ भन्छन्, ‘विदेशबाट भित्र्याइएको इपिललिपिलले रैथाने वनस्पतिलाई असर गर्छ।’