२०५० साल, माघ महिनाको कुरा हो।
चितवनको माडी (साविकको बघौडा गाविसको बसन्तपुर नजिकैको रमाइलो डाँडा) मा कोटी होम महायज्ञ चल्दै थियो। कोटी होमका हर्ताकर्ता थिए योगी नरहरिनाथ।
वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराणका ज्ञाता मानिने नरहरिनाथ विश्व हिन्दु महासंघका अध्यक्ष थिए। नरहरिनाथको दरबारसँग निकट सम्बन्ध रहेकाले कोटी होममा तत्कालीन राजा वीरेन्द्र शाह पनि सहभागी हुने चर्चा थियो।
आफ्नै प्रस्तावमा हुन लागेको कोटी होममा जातीय आधारमा कसैलाई विभेद नगरिने घोषणा नरहरिनाथले गरेका थिए। नरहरिनाथको यो घोषणाबाट माडी क्षेत्रको दलित समुदाय उत्साहित भयो। सार्वजनिक धारो, मन्दिरसमेत प्रवेश नपाएका उनीहरू कोटी होममै सहभागी हुन पाउँदा खुसी नहुने कुरै भएन।
'नरहरिनाथले कोटी होमस्थलको माइकबाटै एउटै धर्म मान्नेहरू सबै बराबरी हुन्, सानो र ठूलो जात छैन भनेर सबैलाई सहभागी हुन आह्वान गरेका थिए,' राजनकुमार परियारले एउटा लेखमा लेखेका छन्।
'माडीको कोटी होम संघर्षः योगी नरहरिनाथको द्विविधा' शीर्षकको उक्त लेख 'दलनविरूद्धको प्रतिरोध' नामक किताबमा संकलित छ। यो किताब राजेन्द्र महर्जन र डा. यामबहादुर किसानले सम्पादन गरेका हुन्।
परियारले आफ्नो लेख स्थानीय दलित अगुवाहरूसँगको कुराकानीका आधारमा लेखेका थिए।
'यसै क्रममा योगी नरहरिनाथले म लिंगभेद र जातभेद गर्दिनँ भनेका थिए। दलितले गायत्री मन्त्र सुन्नु हुँदैन भन्ने मान्यता नेपाली रूढिग्रस्त समाजमा व्याप्त थियो। त्यस्तो मान्यतालाई चुनौती दिँदै उनी माइकबाट साँझ–बिहान गायत्री मन्त्र वाचन गर्थे,' परियारले लेखेका छन्, 'यस्ता गतिविधि पचाउन नसकेका ब्राह्मण र क्षत्रीहरूले मन अमिलो पार्दै नरहरिनाथ बौलाए, दलितहरूले गायत्री मन्त्र सुने, अब धर्म नासिने भो भनेर कुरा काट्थे।'
जब कोटी होममा दलित समुदायका महिला पूजा सामग्री लिएर पुगे, अवस्था फरक देखियो।
माघ १४ गते उनीहरूले लिएर गएका तरल सामग्री कोटी होम आयोजकले लिन मानेनन्। ठोस वस्तुहरू जेनतेन पूजा सामग्रीका रूपमा ग्रहण गरेको आयोजकले दूध, घिउ, तेल लगायत सामग्री छोइन्छ भन्दै लिएनन्।
नरहरिनाथको विश्वासमा उत्साहित भएर आएको दलित समुदायलाई यो घटनाले निराश मात्रै गराएन, आक्रोशित बनायो। उनीहरूले कोटी होम भएको स्थलबाटै विद्रोहको आवाज उठाउन थाले। प्रतिरोध गर्ने निर्णय गरे।
तत्कालै एउटा निवेदन लेखेर दलितहरूको ठूलो समूह कोटी होमस्थल पुग्यो। नेपाल उत्पीडित दलित जातीय मुक्ति समाजका क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर विक र डिलबहादुर विकको नेतृत्वमा गएको समूहले नरहरिनाथलाई निवेदन दियो। उनले ठूलो जमातसँग कुरा गर्न नसक्ने भएकाले आधिकारिक वार्ता गर्न सानो टोली बनाएर आउन आग्रह गर्दै निवेदन फर्काइदिए।
निराश दलितहरूले संस्थागत रूपमै विरोध गर्ने मनसाय बनाए। त्यसै दिन माडीमा क्षेत्रीय भेला गरे। भेलाले दलित भक्तजनले चढाएको ठोस वस्तु लिइनु र तरल वस्तु नलिइनुको कारणबारे कोटी होम व्यवस्थापन समितिलाई पत्राचार गरेर जवाफ माग्ने निर्णय गर्यो। साथै, कोटी होमका मूल पुजारी योगी नरहरिनाथसँग पनि प्रष्टीकरण माग्ने निर्णय गर्यो।
माघ २० गते माडीका चारै गाविसका दलितको भेला बस्यो। भेलाले २१ गते कोटी होममा ठोस र तरल पूजा सामग्री चढाउने निर्णय गर्यो। वार्ताका लागि लालबहादुर विकको नेतृत्वमा तीन सदस्यीय समिति पनि बनायो।
२१ गते बिहान करिब ५०० जना दलितहरू पूजा सामग्री लिएर कोटी होम स्थल पुगे। आफ्ना कुरा राखे। तर आयोजकले तरल पूजा सामग्री ग्रहण नगर्ने अडान दोहोर्यायो। दलितहरूसँग वार्ता गर्न नरहरिनाथ आइपुगे।
'हिन्दु धर्मको वेद–पुराणले सबैलाई समान व्यवहार गर्न भन्छन्। तर समाजका टाठाबाठाले आफ्नो फाइदाका लागि जातको आधारमा उँचनीचको व्यवहार गरेका हुन् भन्ने आशयको कुरा नरहरिनाथले राखेको वार्ताटोलीमा सहभागी भिमसेन विकले बताए,' राजनकुमार आफ्नो लेखमा लेख्छन्, 'त्यसपछि वार्ता टोलीका अर्का सदस्य लालबहादुर विकले हामी पनि यी कुरा जान्दछौं, हामीलाई योगी नरहरिनाथले आँखा देखाउनुपर्दैन भनेपछि वार्तास्थल सनसनीपूर्ण भएको थियो।'
पछि कोटी होममा चढाउन ल्याइएको दुई लोटा दूध र दुई लोटा घिउ प्रयोग गर्न हुने/नहुनेबारे माघ २५ गते मूल समिति र धर्मसभामा प्रस्तुत गर्ने सहमति भयो। माडीका दलित समुदायका अगुवाले यो कुरा नेपाल उत्पीडित दलित जातीय मुक्ति समाजको जिल्ला केन्द्रीय समितिसमक्ष पुर्याए।
'फलफूल पनि चिसो छ, छोइन्छ भनेछन्। दूध, घिउ, तेल त उनीहरूले देख्नै सकेनन्,' समाजका तत्कालीन केन्द्रीय कोषाध्यक्ष रणेन्द्र बरालीले सेतोपाटीसँग भने, 'माडीका साथीहरूको गुनासो हामीकहाँ आइपुग्यो।'
त्यतिखेरसम्म नरहरिनाथ माडी छाडेर देवघाट आइसकेका थिए। बराली उनलाई भेट्न देवघाट पुगे, माडीमा के भएको हो भनेर सोधे।
'उहाँले विभेद हुनु हुँदैन, अब त्यस्तो हुँदैन भन्नुभयो। त्यो कुराले हामी फेरि उत्साहित भयौं,' उनले सुनाए।
माडी घटना केही दिनमा छिमेकी जिल्लामा फैलिसकेको थियो। माघ २५ गते बरालीको नेतृत्वमा भरतपुरबाट सयौं दलितको र्याली माडीतर्फ हिँड्यो।
'र्यालीमा चितवनका मात्रै नभएर छिमेकी जिल्लाका साथीहरूको पनि सहभागिता थियो। हामी विजय र्यालीको भावमा अघि बढ्यौं,' उनले भने, 'तर जब कोटी होम स्थल पुग्यौं, आयोजकले पुरानै कुरा दोहोर्यायो।'
उनका अनुसार देवघाटमा हिन्दु शास्त्रअनुसार दलितमाथि विभेद हुँदैन भनेर आश्वस्त बनाएका नरहरिनाथ माडी फर्किएनन्।
'हामीलाई विश्वस्त बनाएपछि उहाँ किन माडी जानुभएन थाहा भएन। तर कोटी होमको आयोजक आफ्नो अडानबाट पछि हट्न मानेनन्,' बरालीले भने, 'दलित समुदायको ठूलो आक्रोश देखियो त्यो दिन।'
आयोजकले राजा वीरेन्द्र आउने कार्यक्रम रहेकाले नरहरिनाथ स्वागतको तयारीमा देवघाट गएको जानकारी गराएका थिए। उनी सोही दिन फर्किने भनिए पनि आइपुगेनन्।
'हामीले त्यहाँका आयोजक, पण्डितहरूसँग धर्मको विषयमा शास्त्रार्थ गर्यौं। कुन शास्त्रले दलितको भेटी, प्रसाद बुझ्दैन भनेर प्रश्न गर्यौं। तर कसैले चित्तबुझ्दो जवाफ दिएनन्। दलितलाई समावेश गर्न पनि तयार भएनन्,' उनले भने, 'दलितहरू उत्तेजित हुन थाले। ठूलो द्वन्द्वको अवस्था पैदा भयो। जनमोर्चा नेपालका चितवन अध्यक्ष दिवाकर भुषाल नेतृत्वको गैरदलित समुदायले पनि दलितको विद्रोहमा साथ दियो।'
सयौं संख्यामा रहेका दलितले कोटी होम गरिएको क्षेत्रमा प्रवेश गरेर पूजा सामग्री ओइर्याए।
'पण्डितहरू लौ सत्यनास भयो, प्रलय भयो भन्दै यज्ञस्थल छाडेर पछाडिको बाटो खेतखेतै भागे,' बरालीले सम्झिए, 'कोटी होम लथालिंग भयो। जनमोर्चा नेपालको नेतृत्वमा गैरदलितको समेत साथ नभएको भए रक्तपातै हुन सक्थ्यो। दुर्घटना हुन पाएन।'
नरहरिनाथ दलितमाथि विभेद गर्न हुँदैन भन्ने पक्षमा रहँदा रहँदै पनि चेपुवामा परेर कोटी होम छाड्न बाध्य भएका थिए। दलितको विद्रोहले ठूलो रूप लिने देखेपछि प्रशासनले त्यस क्षेत्रमा प्रहरी परिचालन गरेको थियो। प्रहरीले कोटी होम स्थललाई घेरेर सुरक्षा दिए।
'हामीलाई प्रशासनले पनि दलितमाथि विभेद गर्यो भन्ने लाग्यो। दलितहरू प्रशासनकै विरूद्ध उत्रन थाले,' बरालीले भने, 'प्रशासन, कानुनले पनि दलितमाथि भएको विभेद नदेख्नु त अन्धकारै भयो भनेर हामीले रमाइलोडाँडादेखि बसन्तपुरसम्म दिउँसै लालटिन बालेर जुलुस निकाल्यौं।'
बसन्तपुरमा ठूलो आमसभा भयो। वक्ताहरूले दलितको संघर्षले ऐतिहासिक सफलता पाएको बताए।
कोटी होम भने दलितले छोएको भन्दै सप्ताह पूरा नगरी बन्द गरियो। मुक्ति समाजका केन्द्रीय प्रतिनिधिहरू बराली, ऋषिबाबु परियार लगायतले कोटी होममा दलितविरूद्ध जातीय विभेद भएको भन्दै फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए।
जिल्ला अदालतमा पनि उक्त घटनाविरूद्ध मुद्दा दायर भयो। केही महिनापछि अदालतले दलितको पक्षमा फैसला सुनायो। दोषीलाई कैद र जरिवाना तोक्यो।
'फैसला कार्यान्वयन नभए पनि यसले विभेदकारीलाई कानुनी धक्का दियो। दलितले मुद्दा जितेको खबर पत्रपत्रिकामा छापिए,' भिमसेन विकले २०७० कात्तिक १० गते भनेका कुरा राजनकुमार परियारले उक्त लेखमा उल्लेख गरेका छन्।
बरालीले यो संघर्षले कोटी होममा दलितको सहभागिता हुन नसके पनि त्यसपछिका धार्मिक गतिविधिमा समान व्यवहारको अनुभूति गर्न थालेको बताए।
उनका अनुसार नरहरिनाथको प्रस्तावमा कोटी होम भएको करिब दुई वर्षपछि सोही क्षेत्रमा धनधान्याचल महायज्ञ भएको थियो। त्यो महायज्ञमा माडीका दलित सामुदायले पनि समान सहभागिताको अवसर पाए। महायज्ञमा जातीय आधारमा पक्षपात नगरी सबैले ल्याएका सामग्री एक व्यक्तिले बुझेर संकलन गर्ने परिपाटी बसाइएको बरालीले जानकारी दिए।
'त्यसपछिका प्राय: धार्मिक कार्यक्रम यसैगरी हुँदै आए। त्यो कोटी होमले दलित समुदायलाई विभेदविरूद्ध संघर्ष गर्न सिकायो,' उनले भने, 'माडीका कम्युनिस्टको सहयोगमा दलितको त्यो विद्रोहले सार्थकता पाएको थियो।'
माडीमा त्योभन्दा निकैअघि २०२८ र २०३२ सालमा दलितले चिया पसलमा खाएपछि भाँडा पखाल्नुपर्ने चलनविरूद्ध दलित र गैरदलितबीच झडप भएको अगुवाहरू बताउँछन्।
२०२८ सालमा विवाहमा जन्ती गएका दलितले चिया खाएर गिलास नपखालेपछि झडप भएको थियो।
२०३२ सालमा तीजको दिन दलित युवाले चिया खाएर गिलास नपखाली हिँडेपछि पसलेले बजारमै हातपात गरेका थिए। घटनाको उजुरी दिइए पनि त्यति बेलाको प्रशासनले चासो देखाएन।
दलित अगुवाहरू कोटी होमको संघर्षले दलितलाई मन्दिर र सार्वजनिक क्षेत्रमा प्रवेशका साथै समानताका लागि लड्न ठूलो सहयोग गरेको बताउँछन्। माडी क्षेत्रमा दलितले होटलमा चिया खाएपछि गिलास पखाल्नुपर्ने चलन यो घटनापछि स्वतः हट्यो। दलितलाई गैरदलितको घरमा प्रवेश गर्न सहज भयो। दलितको अधिकारका लागि सहयोग गरेपछि माडीमा जनमोर्चा नेपालको पकड थप बलियो बनेको थियो।
उक्त पार्टीका कार्यकर्ता पदम क्षेत्रीले आफ्नो घरमा दलित र गैरदलितबीच सहभोज गरे। दलित भान्से रहेको सहभोजमा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाले भने असहयोग गरे। एक हजार जनाभन्दा बढी मान्छे सहभोजमा आए।
त्यसअघि २०३८ सालमा पनि माडीको कान्तिपुर गाउँमा जातीय विभेद अन्त्य गर्न भन्दै कम्युनिस्ट नेता रूपलाल विश्वकर्माको सल्लाहअनुसार दलित र गैरदलितबीच सहभोज गरिएको थियो। जनमोर्चाका नेता दिवाकर भुषालले सहभोज संयोजन गरेका थिए। कान्तिपुर गाउँमा अहिले पनि गन्धर्व जातिको बाहुल्य छ।
२०५५ सालमा बघौडा–८ मा कोटघर मन्दिर दलित प्रवेशको विषयमा पनि तत्कालीन संयुक्त जनमोर्चाले ठूलो भूमिका खेलेको थियो। दलितहरूले धार्मिक किताब पढेर कोटघर मन्दिर प्रवेश गरेपछि प्रतिकार गर्न नसकेका गैरदलितले नयाँ कोटघर मन्दिर बनाएर पूजा गर्न थालेका थिए।
दलित समुदायको त्यो विद्रोहको साक्षी आफू पनि भएको माडी नगरपालिकाका मेयर ठाकुर ढकाल बताउँछन्।
'ईश्वर छन् भने हामी सबैका साझा हुन्, हामीले पनि समान रूपमा पूजा गर्न पाउनुपर्छ' भन्दै दलितले सुरू गरेको आन्दोलनमा गैरदलितको पनि सहयोग रहेको उनले बताए।
'त्यतिखेर म संयुक्त जनमोर्चामा थिएँ। सार्वजनिक जमिनमा कोटी होम गरिएको थियो। त्यसमा सबैको सहभागिता हुनुपर्छ भन्ने आन्दोलनमा हाम्रो पार्टीले महत्वपूर्ण सहयोग गर्यो,' उनले भने, 'दलितमाथि भएको अपमानविरूद्ध त्यो ठूलो विद्रोह थियो। मुख्य कुरो यहाँको विद्रोहले गर्दा अन्त पनि आन्दोलन चलाउन सहज भयो।'
नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारको बसोबास पनि पहिले माडी नै थियो। उनी कोटी होम विद्रोहपछि मन्दिर प्रवेशदेखि दूध बिक्रीको आन्दोलन सफल भएको बताउँछन्।
२०६१ सालमा भरतपुरको हरिकीर्तन चोकस्थित लक्ष्मीनारायण बैंकटेस मन्दिरमा दलितहरू प्रवेश गर्न खोज्दा ठूलो भिडन्त भएको थियो। दलित र स्थानीय गैरदलितको झडपमा दर्जनौं व्यक्ति घाइते भए।
घाइते दलितको पक्षमा उभिएका गैरदलित अधिकारकर्मीदेखि राजनीतिक दलका नेताहरू पनि थिए। स्थिति नियन्त्रणमा लिन सेना परिचालन गर्नुपरेको थियो। मंसिर १९ गते विशाल विरोध प्रदर्शन गर्दै दलितहरू त्यस मन्दिरमा प्रवेश गर्न सफल भएका थिए।
दलितलाई पूजा गर्न नरोक्नू भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश अवज्ञा गर्ने मन्दिर व्यवस्थापनलाई झुकाउन दलित समुदायले महिनौं संघर्ष गर्नुपरेको थियो। माओवादीका जिल्ला अध्यक्ष परियार मन्दिर प्रवेशका लागि मात्रै नभएर दलितले उत्पादन गरेको दूध बिक्री गर्न पनि ठूलो संघर्ष गर्नुपरेको सम्झिन्छन्।
२०५५ साल, असार २४ गते दूध बिक्रीका लागि नवलपरासीको गैंडाकोटस्थित गैंडाकोट बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय पुगेका हरिबहादुर विकसहितका व्यक्तिलाई सहकारीले किन्न नसक्ने जानकारी गरायो।
दलितहरूले यसविरूद्ध संघर्ष सुरू गरे।
जिल्ला अदालतले सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकले जातीय छुवाछुत गरेको ठहर गर्दै जरिवानाको फैसला गर्यो। तर पनि सहकारीले दलितको दूध किनेन।
दलितहरूले सहकारीको डेरीमा लगेर दूध पोख्नेदेखि सरकारी संस्थाले बिक्रीका लागि पठाउन लागेका ट्यांकर नियन्त्रणमा लिनेसम्मका आन्दोलन गरे। त्यसपछि बल्ल सहकारी संस्था झुक्न तयार भयो।
'गाईभैंसी पालेर दूध उत्पादन गर्यो, डेरीले दलितको भनेर नकिनिदिने,' अध्यक्ष परियारले भने, 'चितवन र नवलपुरमा दलितले आन्दोलन नै गर्नुपर्यो। पछि डेरी सञ्चालकले दलितको दूध पनि किन्न थाले।'
आन्दोलनपछि दलितले उत्पादन गरेको दूध बिक्री हुन थाल्यो। त्यसयता डेरीमा दूध किन्दा दलित र गैरदलित भन्ने विभेद कम सुनिन थालेको परियार बताउँछन्। चितवनका ग्रामीण क्षेत्रमा पनि यस्ता घटना सुनिन्थे तर गैंडाकोटको सहमतिपछि समस्या हट्दै गयो।
दलितमाथि विभेद नहुने गरी संविधान, कानुन निर्माण क्रममा देशका विभिन्न ठाउँमा भएका यस्तै विद्रोहले भूमिका खेलेको परियार बताउँछन्। भन्छन्, 'अझै पनि दलितमाथिको विभेद छँदैछ, संघर्ष त चलिराख्छ।'