बाघको आक्रमणबाट जागेश्वर महतोको मृत्यु हुँदा छोरी अस्मिता २ वर्षकी थिइन्।
यो २० वर्ष अघिको घटना हो।
पर्यटकीय क्षेत्र सौराह नजिकैको बछौलीका जागेश्वर चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा काम गर्थे।
हात्तीको स्याहार गर्ने हात्तीसारे उनी एकपटक नवलपरासीको जंगलमा जानु पर्ने भयो। उनी कामकै सिलसिलामा जंगल पसेका थिए, बाघले आक्रमण गर्यो। उनको मृत्यु भयो।
बाबुको मृत्यु भएको केही समयमा आमाले अर्को बिहे गरिन्। अस्मिताको सहारा कोही भएन।
भरतपुरको गौंरीगञ्जमा द मुर्रे फाउन्डेशन नामको संस्थाले सञ्चालन गरेको अनाथलयमा हुर्किइन्। त्यहीँ उनको कक्षा ८ सम्म पढिन्।
घर नजिकैको बछौली माविबाट १२ कक्षा पास गरिन्।
‘१० कक्षासम्म सौराहाका होटलहरू सेभेन स्टार र पार्क साइटले सहयोग गरे ११ र १२ कक्षा विद्यालयले नि:शुल्क पढाइदियो,’ अस्मिताले सुनाइन्। अहिले उनी स्नातक तह चौंथो वर्षमा पढ्दैछिन्।
२० वर्षअघि जुन जंगलमा जाँदा उनका बुवाको बाघको आक्रमणमा परी मृत्यु भयो त्यही जंगलको सहारामा अहिले उनले जिन्दगी काट्ने सोचिरहेकी छन्।
करिब ३ वर्ष अघिदेखि उनले वन र वन्यजन्तुको अवलोकनका लागि सौराहा आउने पर्यटकलाई घुमाउने ‘नेचर गाइड’को काम थालेकी थिइन्।
‘मध्यवर्ती वन, राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको गाइड बनेर पढाइ खर्च जुटाउन थालें,’ उनले भनिन्, ‘जुन बनले बुबालाई लग्यो त्यसैको संरक्षणमा लागेको छु।’
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र जंगलबाट करिब १५ मिनेटको दूरीमा बसोबास भएकी अस्मिताले यसैमा आफ्नो भविष्य देख्न थालेकी छन्।
जब अस्मिताले आफ्नो बुबाको मृत्यु बाघको आक्रमणबाट भएको थाहा पाइन्, उनलाई जंगल देख्दा पनि डर लाग्थ्यो। जनावरको त कल्पना पनि गर्न चाहँदैन थिइन्।
‘गाउँका मान्छे साग टिप्न भनेर जंगल जान्थे, तर मलाई जान मन लाग्थेन,’ उनी सम्झन्छिन्,‘बरू सागै खान्न, जंगल त जाँदै जान्न भन्थें।’
पछि पढ्दै, बुझ्दै जाँदा वन र वन्यजन्तुको महत्वबारे थाहा पाइन्। सौराहामा नेचर गाइडको तालिम चल्दैछ भन्ने जानकारी पाएपछि उनी साथीहरूसँग तालिममा सहभागी भइन्।
‘बाघले बुबालाई खोज्दै घरमा आएर खाएको होइन, उसको क्षेत्रमा जाँदा होसियार भइएन भने मान्छेलाई पनि छोड्दो रहेनछ भन्ने बुझें,’ उनले भनिन्, ‘वन र बाघलाई शत्रु मान्ने ममा विस्तारै परिवर्तन आउन थाल्यो।’
अन्ततः उनी गाइड बनेर स्वदेशी, विदेशी पर्यटकलाई जंगल घुमाउन सक्ने बनिन्। वन्यजन्तुका विशेषता, आनिबानीबारे बुझाउन सक्ने भइन्।
पर्यटक लिएर घुम्न जाँदा उनले कयौं पटक बाघ देखेकी छन्। सुरूमा बाघ देख्दा बुबालाई सम्झिएर नरमाइलो लागे पनि अचेल उनलाई यो सामान्यजस्तो लाग्न थालेको छ।
‘अहिले त आफू र आफूसँग गएका पर्यटकलाई कसरी जोगाउने, उनीहरूको यात्रालाई रोमाञ्चक बनाउन कसरी सघाउने भन्नेमा ध्यान जान्छ,’ उनी भन्छिन्।
लकडाउनका कारण पर्यटन क्षेत्र राम्रोसँग नचल्दा केही महिनायता उनले काम पाउन छाडेकी छन्। तर अवस्थामा सुधार आउने र पुनः पहिलेजस्तै काम पाउने आशा उनमा छ।
‘अहिले नेचर गाइड छु, सरकारी जागिर खुल्दा गेम स्काउटमा आवेदन दिने सोच छ,’ उनले भनिन्, ‘बाँचुञ्जेल संरक्षणमै लाग्ने हो।’
सौराहानजिकै लौखानी घर भएकी अस्मिता गोदार पनि सानैदेखि वन क्षेत्रसँग नजिक थिइन्। पर्यटक पनि उनका लागि नौला थिएनन्।
पर्यटकहरू वन घुमेर रमाएको देख्ने गरेकी उनलाई अन्ततः यही क्षेत्रमा काम गर्ने अवसर मिल्यो।
करिब तीन वर्षअघि नेचर गाइडको तालिम लिएकी गोदार पर्यटकलाई जंगल घुमाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाउँछिन्।
जीप सफारीमा जाँदा ६०० र जंगल वाकमा जाँदा १ हजार ६०० रुपैयाँसम्म बुझ्ने गरेकी छन् उनले।
यसैबाट आएको कमाइले उनी अहिले स्नातक तह पढ्दैछिन्।
‘कमाइसँगै बोल्ने कलाको पनि विकास भएको छ, केही मान्छेको अगाडि उभिएर नडराई स्पष्ट बोल्न सक्छु,’ उनले भनिन्, ‘वन्यजन्तु, चराचुरूङ्गीहरू चिन्ने भएकी छु, उनीहरूलाई नयाँ साथीको रूपमा पाएको छु।’
२३ वर्षीया गोदार कोरोना महामारीको समयमा कमाइ घटे पनि विस्तारै चहलपहल बढ्ने छाँट देखिएकाले पुनः राम्रो दिन आउने विश्वास गर्छिन्।
२३ वर्षीया आकृति बस्नेतको त पारिवारिक वातावरण नै उस्तै छ।
उनका बुबा प्रकाश बस्नेतले नेचर गाइडको काम गर्न थालेको दुई दशक बढी भयो। सानोमा कहिलेकाहीँ बुबासँग जंगल जाने गरेकी आकृति अन्ततः बुबाकै पेशामा आवद्ध भइन्।
‘बुबा सधैँ वन जानुहुन्थ्यो, पछि मैले पनि कुरा बुझ्न थालें,’ उनले भनिन्, ‘त्यो कामले मलाई पनि तान्यो, बुबाले पनि प्रोत्साहन गर्नुभयो।’
वनमा काम गर्दा वन्यजन्तुको डर हुने भएकाले आमाले त्यति नरूचाए पनि उनलाई अब नेचर गाइडको कामबाट पछाडि फर्कन मन छैन।
‘कतिपयले केटी मान्छे भएर पनि मान्छे डुलाउँदै हिँडेको भनेर नराम्रो कुरा गर्ने रहेछन्। तर मलाई त्यस्ता कुराले कुनै असर गर्दैन,’ आकृति भन्छिन्, ‘अहिलेको जमानामा त्यस्तो सोच राखेर हुन्न, महिलाले पनि पुरूषसरह काम गर्न सक्छन् भनेर देखाउनु पनि छ।’
सुरूआतका दिनमा वन्यजन्तु देख्दा डराउने आकृतीको डर अचेल हराएको छ। उनलाई वन्यजन्तु देख्दा माया लाग्छ।
भन्छिन्, ‘माया गर्यो भने उनीहरूले हामीलाई केही हानी पुर्याउँदैनन्।’
आकृतिले नेचर गाइडको काम गरेर महिनामै ५० हजार रूपैयाँसम्म कमाएकी छन्।
‘अब भविष्य नै यही हो भनेर लागियो, केही समय बन्द भएकोमा ठूलो चिन्ता छैन,’ उनले भनिन्, ‘कहिले पर्यटक आउलान् र काम सुरू होला भन्ने भएको छ।’
नेचर गाइड एसोसिएसन सौराहाका अध्यक्ष राजेन्द्र धामीका अनुसार सौराहामा अहिले २ दर्जन बढी महिला नेचर गाइडहरू छन्। तीमध्ये एक दर्जन सक्रिय रूपमा लागेका छन्।
‘उनीहरूलाई कामको विषयमा धेरैभन्दा धेरै बुझाउने, अध्ययन गरेर बुझेर काममा लाग्न प्रोत्साहन गर्ने कामहरू हामीले गरिरहेका छौं,’ धामीले भने, ‘नयाँ पुस्ताको पनि राम्रो आकर्षण भएको पेशा हो यो। पढेका, बुझेका युवाहरूको संख्या बढे पर्यटकमार्फत देशका राम्रा कुराहरू प्रवाह हुने थिए।’
उनले चितवनमा रहेका ७०० भन्दा बढी नेचर गाइडहरू लकडाउनका कारण कामविहीन बनेको बताए।
‘नयाँ भाइ, बहिनीहरू निरास बन्ने हुन कि भन्ने डर छ,’ अध्यक्ष धामी भन्छन्, ‘उनीहरूलाई प्रोत्साहन गर्न, तालिम तथा सुविधा वृद्धि गर्न सरकारी निकायको सहयोग आवश्यक देखिन्छ।’