जेठको टन्टलापुर घाममा खेतको काम सकेर भोलाराम घर फर्किंदै थिए। अलिक बढी थकानले होला, त्यो दिन भोला बाटामा भेटिने गाउँलेहरूसँग अलमल नगरी सिधै घर हिँडे।
घर पुगेर काँधमा रहेको कोदाली बिसाउन मात्र के लागेका थिए, ‘अंकल छोरा डाक्टर पास भयो रे है’ भन्ने तन्नेरी आवाज भोलाको कानमा ठोक्कियो।
उनले पछाडि फर्केर हेरे। खबर ल्याउने उनकै छोरा रामजी रामका साथी थिए।
छोरा पास भएको खबर सुनेर भोलालाई दिनभर घामले तातेको शरीर एकाएक शितल भएको भान भयो। पसिना ओभाएकै थिएन। हातमा रहेको गम्छा कोदालीसँगै भुइँमा छाडेर उनी खम्बामा झुन्डिएको सर्ट भएतिर लम्किए।
सर्टको गोजीबाट मोबाइल झिकेर छोरालाई फोन लगाए।
कुराकानीको सुरूमै रामजीले बुवालाई आफू एमबिबिएस पास भएको सुनाए।
जवाफमा भोलाले भने, ‘डाक्टर साब, बधाई हो।’
बुवाको मुखबाट पहिलोपटक ‘डाक्टर साब’ भन्ने शब्द सुनेपछि रामजी स्तब्ध भए। त्यसपछि उनले बुवासँग थप कुरा गर्न सकेनन् र आफू पर्सि घर आउने भन्दै फोन राखिदिए।
‘सधैं छोरा भन्ने मान्छेले डाक्टरसाब भन्नुहुँदा अलिक फरक सुनिँदो रैछ। त्यो मेरो लागि गर्वको क्षण थियो,’ यसो सुनाइरहँदा रामजीको आँखाबाट आँसु टिलपिलाइरहेका थिए।
बुवाको यो खुसीले आफूलाई सात वर्षअघिको सम्झना आएको रामजी बताउँछन्।
त्यो बेला पनि बुवा यसरी नै खुसी भएको क्षण सम्झिँदै उनले भने, ‘जुन बेला सर्वोच्च अदालतले मलाई एमबिबिएसमा भर्ना गर्नू भनेर फैसला गरेको थियो, त्यो बेला र यसपालि एमबिबिएस पास गर्दाको बुवाको खुसी उस्तै थियो। बुवाले तिमी मुद्दा लड्नू, म तिम्रो साथ छु भन्नुभएको थियो। त्यो सुनेपछि मलाई अब दुनियाँको कुनै शक्तिले मलाई डाक्टर हुनबाट रोक्न सक्दैन भन्ने लागेको थियो।'
नभन्दै उनै रामजी राम आज डाक्टर भएका छन्। उनले वीरगन्जस्थित नेसनल मेडिकल कलेजबाट एमबिबिएस पास गरेका हुन्।
उनले चमार समुदायबाट डाक्टर हुने आफू जिल्लाकै पहिलो व्यक्ति भएको जनाए।
‘मधेस प्रदेशमै हाम्रो समुदायबाट चार-पाँच जना मात्र डाक्टर छन्। रौतहटमा एमबिबिएस पास गर्ने म मात्रै हो,’ उनले भने।
बुवालाई फोनमा भनेअनुसार रामजी डाक्टर पास भएको पर्सिपल्ट आफ्नो घर इनरूवा पुगे। घर पुग्दा बुवा केटाकेटीलाई पढाइरहेका थिए। आमा बाख्रा चराउन गएकी थिइन्। साँझ मात्र परिवारका सबै सदस्य जम्मा भए।
'कामले गर्दा साँझ मात्र सबै जना भेला भइयो। भेट भएपछि एकछिन त कुराकानी नै भएन। सबै जना एकअर्कालाई हेर्दै मुस्कुराई मात्र राखिम्,' त्यो क्षण सम्झिँदै रामजीले भने, 'हल्लावाला होइन, भित्री आनन्दवाला खुसी थियो। पहिलोचोटि घरमा सबै जना भेला भएर यति धेरै खुसी भएका थियौं।'
हुन पनि रामजीलाई बुवाआमाले धेरै दुःख गरेर डाक्टर पढाएका थिए। आफू मरेको जनावरको सिनो सफा गर्ने काम गरे पनि भोलाले रामजीलाई सानैदेखि स्कुल पढाएका थिए। आमा सोमरियादेवी पनि गाउँमा सुत्केरीलाई स्याहारसुसार गर्ने गर्थिन्। सम्पत्तिको नाममा एउटा झुप्रो थियो। तर पनि राम दम्पतीले रामजीलाई ठूलो मान्छे बनाउने सपना देखेका थिए।
रामजीलाई आज पनि बुवाले आफू खाली खुट्टै आफ्नो हात समातेर स्कुल पुर्याउन गएको याद ताजा छ।
आमाबुवाको दुःख बुझेर होला, रामजी पनि पढाइमा तगडा थिए। उनी कक्षाको पहिलो विद्यार्थी थिए। पढाइमा राम्रो भए पनि जातका कारण स्कुलमा भोगेको विभेद सम्झिँदा रामजीको मन बिझाउँछ। उनले कक्षामा पहिलो भएकै कारण आफूले पिटाइ खाएको सुनाए।
'तल्लो जातको मान्छे किन फस्ट भयो भनेर पिट्नुभएको थियो। त्यति बेला मेरो हात नै काटिएको थियो,' रामजीले बाल्यकालको घटना सम्झिँदै भने।
१२ कक्षासम्म पढ्दा पनि रामजीले जातीय विभेदका धेरै घटनारू भोग्नुपर्यो। क्याम्पस पढ्दा जातकै कारण उनले धेरै ठाउँ डेरा सर्नुपर्यो। पछि त उनले जात नै ढाँट्न थाले। कसैले सोध्दा आफू यादव हो भन्दिन्थे।
‘म बारम्बार भन्छु, मैले रोजेको छु र म कुन जातमा जन्मिन्छु भनेर। मैले रोजेको हो र म नेपालमा जन्मिन्छु भनेर। मैले रोजेको हो र मेरो आमाबुवा को हुनुपर्छ भनेर। त्यसो हो भने मैले नरोजेको जात, लिंग, समुदाय, धर्म र देशको भूगोलसँग भेदभाव किन?’ रामजीको प्रश्न छ।
१२ कक्षा पास गरेपछि रामजीलाई काठमाडौं पढ्न जाने इच्छा थियो। घरको आर्थिक स्थितिका कारण त्यो सम्भव नहुने उनले बुझेका थिए। त्यही बेला उनले इन्जिनियरिङ छात्रवृत्तिमा पढ्न पाइन्छ भनेर अग्रजहरूबाट सुनेका थिए। एकचोटि त्यसैमा प्रयास गर्ने सोच बनाए।
उनले यो कुरा भिनाजुलाई सुनाए। भिनाजुले काठमाडौं जाम, सके पढम्ला, नसके प्रेसर कुकर बनाम्ला भनेर सल्लाह दिए। भिनाजुको आँट देखेर रामजी पनि हौसिए। त्यसको दुईचार दिनमै काठमाडौं हुइँकिए।
पहिलोचोटि काठमाडौं आएका रामजीका लागि यो सहर सबै हिसाबले नौलो थियो। किताबमा मात्र काठमाडौं देखेको आफूलाई कलंकी ओर्लेपछि घरैघर देख्दा रमाइलो लागेको रामजी सुनाउँछन्।
काठमाडौं त ओर्लिए तर कहाँ जाने टुंगो थिएन।
कलंकीबाट टेम्पु चढेर रत्नपार्क ओर्लिए। रत्नपार्कमा दुई-तीन फन्का मारेपछि रामजीलाई गाउँका जोगीहरू टेकुस्थित सुकुम्बासी बस्तीमा बस्छन् भन्ने सम्झना आयो। उनले तिनै जोगीलाई सम्पर्क गरे र सुकुम्बासी बस्ती पुगे।
भोलिपल्ट बिहानै भिनाजु प्रेसर कुकर बनाउन निस्किए। रामजी पनि भिनाजुको पछिपछि लागे। ती दिन सम्झिँदै रामजीले भने, ‘कुकर बनाउन गएका दिनहरू अझै याद छ। पहिलो दिन हामी कोटेश्वरसम्म पुगेका थियौं। त्यहाँ पुगेपछि त म खाली एयरपोर्ट नै हेर्थेँ। त्योभन्दा पहिले देखेकै थिइनँ।’
रामजीको इन्जिनियरिङ पढ्ने सपना बिस्तारै प्रेसर कुकरको सिटीझैं फुस्किँदै थियो।
एकदिन कुकर बनाउन जाने क्रममा रामजीलाई प्रकाशचन्द्र झाको फोन आयो। फोनमा झाले रामजीलाई एमबिबिएस तयारी गर्ने हो भने एक जना सरले सहयोग गर्नुहुन्छ भनेर सुनाए। यो सुन्नेबित्तिकै रामजीले हातमा रहेको कुकरको बिर्को भिनाजुलाई थमाइदिए र झालाई भेट्न पुतलीसडक पुगे। उनले एउटा इन्स्टिच्युटमा तयारी कक्षाका लागि बन्दोबस्त गरिदिए।
एमबिबिएस तयारी गर्न थालेपछि रामजीले सुकुम्बासी बस्तीमै एउटा सानो कोठा भाडामा लिए। त्यसपछि उनी रातदिन मेहनत गरेर पढ्न थाले। पहिलो वर्ष एमबिबिएसमा नाम निस्किएन। तर रामजीले हिम्मत हारेनन्। उनले बुवाले गरेको मेहनत सम्झिए।
‘मेरो बुवाले पाँच कठ्ठा खेतमा कोदालीले एक्लै काम गर्नुहुन्थ्यो। त्यही सम्झेर म पनि मेहनत गर्न थालेँ। म हरेकचोटि किताब अगाडि राखेपछि बुवालाई सम्झिन्थेँ,’ उनी भन्छन्, ‘मेरो लागि बुवा सधैं प्रेरणाको स्रोत हुनुहुन्छ। म मेरो बुवाको स्कुलको राम्रो विद्यार्थी हुँ।’
अर्को वर्ष पनि रामजीको नाम वैकल्पिकमा निस्कियो। त्यही बेला सरकारले डोम, वादी, मुसहर र चमार गरी चारवटा जातिलाई पैसा तिरिदिएर एमबिबिएस पढाउने कार्यविधि ल्यायो। त्यसले रामजीलाई ठूलो राहत दियो।
अन्ततः रामजीले किस्ट मेडिकल कलेजमा नाम निकाले।
जब उनी भर्नाका लागि पुगे, कलेजले उनलाई सरकारले तिरिदिनेबाहेक थप १५ लाख पैसा चाहिन्छ भन्यो। रामजीसँग त्यत्रो पैसा तिर्ने हैसियत थिएन। त्यसपछि उनी सम्बन्धित सरकारी निकायहरू धाउन थाले तर समस्या सुल्झिएन।
कतैबाट पार नलागेपछि उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरे। त्यतिञ्जेल पढाइ सुरू भएको तीन महिना भइसकेको थियो। रामजी भने अदालत धाइरहेका थिए।
अदालतले एउटा सिट थपेर भए पनि रामजी रामलाई भर्ना गर्नू भनेर अन्तरिम आदेश दियो।
वीरगन्ज मेडिकल कलेजमा एउटा सिट खाली थियो। उनी त्यहीँ भर्ना भए।
पढाइ सुरू भयो। पहिलो र दोस्रो वर्षको परीक्षा सकियो। तेस्रो वर्षको परीक्षामा कलेजले रामजीलाई अतिरिक्त शुल्क नतिरेको भन्दै परीक्षामा सामेल गराएन। जबकि सरकारकै निर्देशिकामा अतिरिक्त शुल्क लिन नपाउने स्पष्ट लेखिएको थियो।
रामजी भन्छन्, ‘मैले पहिलो र दोस्रो वर्षको परीक्षा नियमित दिन पाएँ। त्यसपछिको हरेक परीक्षा मैले नियमित दिन पाइनँ।’
पटकपटक निर्देशिका मिचेर रामजीमाथि ज्यादती गर्ने कलेजलाई सरकारले कहिल्यै कारबाही गर्न सकेन।
यसरी अन्तिम समयसम्म उतारचढावसँग लडेका रामजी राम भर्खरै डाक्टर भएका छन्।
एमबिबिएस पास हुँदाको खुसी व्यक्त गर्दै उनले भने, ‘पक्कै खुसी छु। किनकि बुवाआमा खुसी हुनुहुन्छ। अरू धेरै जना खुसी हुनुभएको छ। मेरै पनि सपना पूरा भएको छ। तर अहिले डेलिभरी गर्न सकेको छैन। डाक्टरको खुसी भनेको बिरामी निको पार्नुमा हो। मलाई त्यो खुसी लिनु छ।’
रामजी डाक्टर भएपछि परिवार मात्र होइन, सिंगो इनरूवा गाउँ नै खुसी छ। भर्खरै गाउँ पुग्दा पनि सबै जनाले बधाइ दिएको उनी सुनाउँछन्।
अहिले इनरूवा गाउँमा सबै रामजीको प्रशंसा गर्छन्। गाउँमै एमबिबिएस पास गर्ने उनी एक्ला हुन्। गाउँघरमा छोराको गुनगानले भोलाको छाती गर्वले चौडा भएको छ।
‘अहिले त बुवा मलाई अब तिमी मेरो छोरा रहेनौ, तिमी त अब समाजको छोरा हौ भनेर भन्नुहुन्छ,’ उनले भने।
अब डाक्टर रामजी रामलाई आफ्ना बुवाआमाका लागि केही गर्ने मन छ।
उनी भन्छन्, ‘एउटा आमाबुवाले छोराछोरीका लागि दुःख गर्नुहुन्छ र त्यसमा मेरो आमाबुवा पनि पर्नुभयो। अब उहाँहरूले दुःख सहनुपर्दैन। अब म सजिलै आमाबुवाका लुगा फेर्न सक्छु। उहाँहरूले लुगा लगाउन छठ नै कुर्नुपर्दैन। घर अहिले पनि चुहिन्छ, त्यो पनि बनाउँछु। यो कुरामा म विश्वस्त छु।’
रामजीले अहिलेसम्म जति पनि दुःख खेपे, अहिले सम्झिँदा उनलाई त्यो दुःखजस्तो लाग्दैन। त्यही दुःख भोगेका कारण आफू यो ठाउँमा आइपुगेको उनी बताउँछन्।
‘आफ्नो जिन्दगीलाई हेर्दा म के थिएँ? कुकर बनाउने थिएँ कि? टेकुको सुकुम्बासी बस्तीमा जोगीहरूसँग खाना पकाउने मान्छे थिएँ कि! के थिएँ?’ रामजी भन्छन्, ‘मान्छेको जिन्दगी यसरी नै सुखदुःखमा बित्ने हो। मैले एमबिबिएसको तयारी गर्दासम्म जोगीहरूले ल्याइदिनुभएको कपडा लगाएँ। पछिसम्म पनि साथीहरूले दिएको कपडा लगाउँथेँ। सबैलाई जीवनमा अप्ठ्यारो आउँछ। त्यसलाई जित्न सक्नुपर्छ।’