कोरोना भाइरसको संक्रमण बढ्नसक्ने भन्दै भारतले आइतबारदेखि चीनसहित ६ देशबाट आउने यात्रीलाई नेगेटिभ आरटी–पीसीआर रिपोर्ट अनिवार्य गरेको छ।
चीन, जापान, दक्षिण कोरिया, हङकङ, थाइल्यान्ड र सिङ्गापुरबाट आउने अन्तर्राष्ट्रिय यात्रुले आगामी सातादेखि ‘एयर सुविधा’ फारम भरेर ७२ घण्टा अगाडि आरटी–पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट बुझाउनुपर्नेछ।
पछिल्लो समय चीन र केही अन्य देशहरूमा कोविड संक्रमणको नयाँ भेरियन्ट बिएफ-७ बढेपछि भारतले सतर्क रहन यस्तो नियम बनाएको हो।
यसअघि नै भारत सरकारले अलर्ट जारी गर्दै राज्य र केन्द्र शासित प्रदेशहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहन भनेको छ। सरकारले शनिबारदेखि हरेक अन्तर्राष्ट्रिय उडानमा आउने दुई प्रतिशत यात्रुको कोरोना परीक्षण अनिवार्य गर्ने भएको छ।
भारतमा एकै दिनमा २६८ जनामा कोरोना भाइरस संक्रमणका नयाँ केस आएपछि देशमा हालसम्म संक्रमितको संख्या ४ करोड ४६ लाख ७७ हजार ९१५ पुगेको छ भने उपचाररत बिरामीको संख्या ३ हजार ५५२ पुगेको छ।
बिहीबार बिहान आठ बजे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको अपडेटेड तथ्याङ्कअनुसार महाराष्ट्रमा सङ्क्रमणका बिरामीको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या ५३, लाख ६ हजार ९६८ पुगेको छ।