नेपाल सरकारले हाल काठमाडौंका दुई अस्पतालबाट मात्रै मुटुका बिरामीहरूले नि:शुल्क अप्रेसन गर्न सक्ने व्यवस्था गरेको छ। १४ वर्षभन्दा कम र ७५ वर्ष भन्दा बढी उमेरका मुटु रोगी तथा मुटुको बाथका सबै बिरामीको काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नि:शुल्क उपचार हुन्छ।
यो सेवा दुई अस्पतालमामात्रै सीमित बन्दा बिरामीले महिनौंसम्म पालो कुर्नुपर्छ।
नि:शुल्क सुविधा पहिले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि थियो। २०७३ सालमा सुरू भएको नि:शुल्क शल्यक्रियाको सुविधा धरानले एक वर्षभन्दा लामो समय दिन पाएन।
प्रतिष्ठानका कार्डियो थोरासिस एण्ड भास्कुलर सर्भिस(सिटिभिएस) सर्जन डा.लोकेश शेखर जैसवालले नि:शुल्क शल्यक्रियाको सेवालाई निरन्तरता दिन आग्रह गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटक–पटक पत्र पठाउँदा पनि बेवास्ता गरेको बताए।
‘मुटु र बाथका बिरामीलाई नि:शुल्क अप्रेसनको व्यवस्था गर्नुपर्छ भनेर सुरूमा मैले नै अग्रसरता देखाएको थिएँ। सरकारले तीनवटा सरकारी अस्पतालमार्फत नि:शुल्क सेवा दिन थाल्यो तर अकस्मात धरानमा बन्द गरियो। किन गरियो मलाई पनि थाहा छैन,’ डा.जैसवालले भने, ‘यता बिरामी सुविधा भएन भन्छन्। सरकार सुरू गरिसकेको सेवा पनि बन्द गर्छ।’
नि:शुल्क सेवा सुरू भएपछि धरानमा २५ जना बिरामीको नि:शुल्क शल्यक्रिया गरिएको थियो। अहिले विपन्न समुदायका बिरामीलाई सरकारले उपलब्ध गराउने एक लाख र स्वास्थ्य बीमाको एक लाख रुपैयाँ बराबरको सेवामात्रै यहाँ निशुल्क हुन्छ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका सिटिभिएस सर्जन प्रा.डा.अनिल आचार्य नि:शुल्क उपचारको सुविधा विकेन्द्रीकरण भए धेरै बिरामीले उपचार पाउने बताउँछन्।
‘मेचीदेखि महाकालीसम्मका सबै बिरामी यो सुविधा लिन काठमाडौं नै पुग्नुपर्ने अवस्था छ। जटिल अवस्थाका बिरामीसँग त त्यहाँसम्म पुग्ने समय पनि हुँदैन,’ आचार्य भन्छन्, ‘चितवनबाट पश्चिमतर्फ लागेपछि मुटुको अपरेसन गर्ने अस्पताल नै छैनन्। कम्तीमा यहाँ त्यो सुविधा भएको भए काठमाडौंको मात्र भर पर्नुपर्ने थिएन।’
टाढादेखि काठमाडौं पुगेका बिरामीहरुले उपचार नि:शुल्क पाए पनि लामो समय त्यहाँ बस्दा अन्य खर्च धेरै हुने गुनासो बिरामीहरूले गर्ने गरेको डा.आचार्यले बताए।
पूर्वमा धरान र विराटनगरमा मुटुको शल्यक्रिया हुन्छ। काठमाडौंमा केही निजी अस्पतालहरूले पनि मुटुको शल्यक्रिया गर्छन्। वीर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्रसँग पनि मुटुको शल्यक्रिया गर्नसक्ने क्षमता छ। तर ती अस्पतालमा पनि सरकारले उपलब्ध गराउने नि:शुल्क सेवा छैन।
‘प्रशस्त पैसा हुनेहरू त उपचारका लागि विदेश पनि जान्छन्। उपचार पाइहाल्छन्। विपन्न समुदायका लागि अप्ठेरो छ। सरकारले सुविधामा विकेन्द्रीकरण गर्न सक्यो भने उनीहरूले पनि सहजरूपमा उपचार पाउने थिए,’ डा.आचार्यले भने।
सेवा, सुविधा विस्तार हुन नसक्दा नेपालमा मुटु रोग सम्बन्धी पढेका जनशक्ति पनि कम रहेको उनले बताए। उनकाअनुसार नेपालमा अहिले वर्षमा ८ देखि १० हजार जना मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरू हुन्छन्। तर वर्षमा ३ हजार जनाकोमात्रै शल्यक्रिया हुने गरेको छ।
‘अन्यले कुर्ने हो। कतिपय रोगीसँग कुर्ने समय पनि हुँदैन। त्यो अवस्थामा समस्या हुन्छ,’ डा.आचार्यले भने।
धरानस्थित प्रतिष्ठानका सर्जन डा.जैसवाल सरकारले नि:शुल्क शल्यक्रियाको कार्यक्रम फेरि पठाए स्तरीय सेवा दिन सकिने बताउँछन्।
‘हामीकहाँ दिल्ली, लण्डनमा पाइने सबै सुविधा पाइन्छ। सरकारले कार्यक्रम दिनुपर्यो स्तरीय उपचार गर्छौं,’ उनले भने। उनले उपचार गर्नसक्ने क्षमता भएका सबै सरकारी अस्पताललाई सो सेवा दिनुपर्ने बताए।
‘सकेदेखि निजी अस्पतालहरूले पनि नि:शुल्क सेवा दिए हुन्छ,’ जैसवालले भने, ‘अहिले त विपन्न बिरामीलाई उपचार गर्नै गाह्रो छ।’
प्रतिष्ठानमा वर्षमा एक सय जनाभन्दा बढी बिरामीको मुटुको अपरेसन (ओपन हर्ट सर्जरी) हुने गरेको छ। दुई सय ५० जनाभन्दा बढी बिरामीको सिटिभिएस (मुटु, फोक्सो, छाती, अन्ननली, रक्तनली) अपरेसन हुन्छ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालले दुई वर्षको अवधिमा पाँच सय बढी ‘सिटिभिएस अपरेसन’ गरेको छ। अस्पतालका सिटिभिएस सर्जन डा.आचार्य नेतृत्वको समूहले २०७८ सालको साउनयता ५ सय बढी शल्यक्रिया गरेको हो। डा.आचार्यका अनुसार यो अवधिमा ५० जनाको मुटु, ३५ जनाको छाती र बाँकीको रक्तनलीको शल्यक्रिया गरिएको हो।
‘दुई वर्षको अवधिमा हामीले एक किलो तौल भएको एक महिनाको नवजात शिशुदेखि ७८ वर्षका वृद्धसम्मको शल्यक्रिया गर्यौं,’ डा.आचार्यले भने।
उनका अनुसार बच्चाहरूमा जन्मजात मुटुको समस्या र वृद्धवृद्धामा मुटुबाट बाहिर निस्कने रक्तनली च्यातिने(टाइप–ए ओर्टिक डिसेक्सन)को समस्या बढी देखिने गरेको छ। वृद्धवृद्धाको बेन्टल अपरेशन(च्यातिएको रक्तनलीको भाग फेर्ने र टाँसिएको मुटुको भल्ब फेर्ने) गरिन्छ। बच्चाहरुमा मुटुबाट बाहिर निस्कने नलीहरु उल्टोपाल्टो भएको(टिजिए) समस्या देखिने गरेको छ। आर्टेरियल स्विच अपरेशन गरेर बच्चाहरुलाई निको बनाएको डा.आचार्यले बताए।
‘प्रायः बिरामी रक्तनली चुडिएको, फुटेको अवस्थामा अस्पताल आइपुग्छन्। यो धेरैजसो दुर्घटनाका कारण हुने गरेको छ। रक्तनली बन्द भएको अवस्थामा पनि बिरामी आउँछन्,’ उनले भने, ‘यी अवस्थाका बिरामीहरूको जतिसक्दो छिटो अपरेसन गर्नुपर्छ। समयमै अपरेसन गरेर हामीले उहाँहरूलाई अंगभंग हुनबाट जोगाउन सकेका छौं।’
चितवन मेडिकल कलेजले पहिलो १० महिनामा १०० जना बिरामीको शल्यक्रिया गरेको थियो। त्यसपछिको १५ महिनामा ४०० शल्यक्रिया गरेको आचार्यले बताए।
‘चितवन मेडिकल कलेजमै क्यान्सर सेन्टर स्थापना भएका कारण फोक्सोको क्यान्सरका बिरामीको संख्या पनि बढेको छ। छातीमा भएका ट्युमर, छातीमा हुने खानाको नली, छातीको चोटपटकका बिरामीहरू शल्यक्रिया पनि हामी गर्छौं,’ आचार्यले भने, ‘हामीसँग दक्ष जनशक्तिको समूह र गुणस्तरीय अपरेसन थिएटर र उपकरणहरू भएकाले उपचारमा सहज भइरहेको छ।’
मुटुको उपचार महँगो छ। मुटुको साधारण प्वाल टाल्न साढे २ लाखदेखि ३ लाख रूपैयाँसम्म खर्च लाग्छ। मुटुको दुईवटा भाल्भ फेर्न ४ लाख रूपैयाँजति लाग्छ। डा.आचार्य विपन्न समुदायका बिरामीलाई मुटुको उपचार गर्न असाध्यै गाह्रो हुने गरेको बताउँछन्।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले मुटुको समस्या भएर आएका बिरामीलाई नेपाल सरकारले उपलब्ध गराउने विपन्न नागरिकको सुविधाबाट पनि सेवा दिने गरेको बताए।
सरकारले विपन्न समुदायलाई जटिल खालका रोगहरुको उपचार गर्न एक लाख रूपैयाँसम्मको सुविधा दिने गरेको छ।
‘एक लाख रूपैयाँ बराबरको उपचार विपन्नको सुविधाबाट गर्न सकिन्छ। बाँकी खर्च जुटाउन बिरामीलाई समस्या भइरहेको छ,’ देवकोटाले भने, ‘उपचारको खर्च महँगो हुने भएकाले विपन्नको एक लाख रूपैयाँ सुविधाले मात्रै पुग्दैन।’