इच्छाकामना गाउँपालिका–२ वर्ल्याङस्थित रिद्धी खोला नजिकै जस्ताले छाएको सानो दुई कोठे घरमा केही बालबालिकाहरू भेटिए। कोही आँगनमा खेल्दै, कोही कोठाभित्र बसेर पढ्नमा व्यस्त थिए।
खाटमा बसेर केही लेखिरहेकी थिइन् १३ वर्षीया गीता चेपाङ। गीता यो घरमा बसेर पढ्न थालेको तीन वर्ष भयो।
उनको घर सोही वडाको तोरडाँडा गाउँ हो। उनी ३ कक्षा पढ्दै गर्दा बाबु बिरामी परे। आर्थिक अभावका कारण गतिलो उपचार नपाएर बाबुको मृत्यु भयो। केही समयमा आमाले दोस्रो बिहे गरेर घर छाडिन्। गीता सहितका तीन दिदी–बहिनीहरू अलपत्र परे। खान, लाउनकै समस्या परेपछि उनीहरूले विद्यालय छाडे। ठूलो बुवाको घरमा बसेर जेनतेन गुजारा चलाउँदै थिए।
वडाध्यक्ष पञ्चबहादुर प्रजाको पहलमा २०७८ सालमा वर्ल्याङ छात्रावास सञ्चालन भएपछि गीतासहित तीन दिदी-बहिनीले पढ्ने अवसर पाए।
‘एक वर्ष विद्यालय छोडेर बसेका थियौं। यहाँ छात्रावास खुलेको थाहा पाएपछि आएर पढ्न थाल्यौं,’ गीताले भनिन्, ‘तीन वर्षदेखि यहीँ बसेर खान, पढ्न पाइरहेका छौं।’
गीताकी दिदीले कक्षा ४ मा पढ्दै गर्दा बिहे गरिन्। १६ वर्षको उमेर भागेर विवाह गरेपछि उनले पढ्न छोडिन्। बहिनी कविता गीतासँगै छात्रावासमा बसेर पढिरहेकी छन्।
कमजोर आर्थिक स्थिति, अभिभावकविहीन अवस्था, बालविवाह लगायतका कारण धेरै बालबालिकाहरू विद्यालय नगएपछि छात्रावास सञ्चालन गरेको वडाध्यक्ष प्रजाले बताए।
‘१२–१३ वर्षमै विवाह गर्ने, विवाहपछि विद्यालय जान छाड्ने, केटाहरू अपराधिक गतिविधिमा सहभागी हुने समस्या बढ्दै गयो,’ वडाध्यक्ष प्रजाले भने, ‘यो अवस्था अन्त्य गर्न छात्रावास अपरिहार्य छ भनेर सुरू गर्यौं।’
वडा कार्यालयले २०७७ सालमा वर्ल्याङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयको परिसरमा पाँच लाख रूपैयाँ लगानी गरेर दुई कोठाको छात्रावास भवन निर्माण गरेको थियो। पाँच कक्षासम्म चलिरहेको विद्यालयमा उपल्लोको कक्षा पनि थप गर्ने निर्णय भएपछि छात्रावासलाई कक्षाको रूपमा प्रयोग गरियो।
‘विद्यालय नजिकै रहेको यो घरलाई भाडामा लिएर बालबालिकालाई राख्न थाल्यौं। सुरूको वर्ष १५ जना बालबालिका थिए। अहिले २५ जना छन्,’ वडाध्यक्ष प्रजाले भने, ‘छात्रावास सञ्चालनको सबै खर्च वडाले व्यहोरिरहेको छ।’
२०७८ सालयता वडाको बजेटबाट हरेक वर्ष ५ लाख रूपैयाँ छात्रावासका लागि खर्च गर्ने गरिएको छ। यसले रासन, कपडा, कपी, कलम, उपचार खर्चको व्यवस्थापन गर्ने गरिएको प्रजाले बताए। छात्रावासमा बस्ने बालबालिकाको हेरचाहका लागि एकजना महिला कर्मचारी राखिएको छ।
केही वर्षअघिको कुरा हो, इच्छाकामनाको छेरबाङ घर भएकी सुशीला चेपाङकी आमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भइन्। उनका बाबुले दोस्रो बिहे गरे। घरमा हेला भएपछि सुशीला मामाघरमा बस्न थालिन्। मामलीको आर्थिक अवस्था पनि कमजोर थियो। खान, लाउनकै समस्या भइरहेको बेलामा वर्ल्याङस्थित आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला भण्डारीले सुशीलालाई छात्रावासमा ल्याएर राखिदिइन्। सुशीला अहिले कक्षा ७ को सर्वोत्कृष्ट विद्यार्थी भएकी छन्।
‘घरमा बस्न नसकेपछि मामाघरको शरणमा पुग्यौं। त्यहाँ बसेर पनि राम्ररी पढ्न पाएकी थिइनँ। यहाँ आएपछि मैले पढ्ने अवसर पाएकी छु,’ सुशीलाले भनिन्, ‘पढ्ने अवसर पाइराखें भने भविष्यमा शिक्षक बनेर पढ्न नसकेका विद्यार्थीहरूलाई पढाउने इच्छा छ।’
घुर्केसकी १३ वर्षीया शर्मिला घर्ती अहिले यही छात्रावासमा बसेर कक्षा ६ मा पढ्छिन्। उनको गाउँमा कक्षा ३ सम्म पढ्ने विद्यालय छ। उनका तीन जना दिदीहरूले यही विद्यालयबाट ३ कक्षासम्म पढेर बिहे गरे।
‘गाउँमै भइरहेको भए मेरो पनि अब बिहे हुन्थ्यो होला। कमला मेडमले यहाँ ल्याएर राखिदिनुभएकाले पढ्न पाएकी छु,’ शर्मिलाले भनिन्, ‘पढ्न पाएजति पढ्छु। पढेर गाउँको सेवा गर्ने लक्ष्य राखेकी छु।’
आधारभूत विद्यालय वर्ल्याङमा अहिले ११२ जना विद्यार्थी छन्। छात्रावासमा बसेर पढेका विद्यार्थीहरू अन्यभन्दा उत्कृष्ट बन्दै छन्।
‘यी बाबुनानी अधिकांशको बाबु, आमा नै छैनन्। बाबु वा आमा नभएका पनि यहाँ छन्। कोही विद्यालयभन्दा धेरै परका छन्। विद्यालय आउन उनीहरूलाई एक, डेढ घण्टा समय लाग्थ्यो। यो छात्रावास नभएको भए उनीहरू पढ्ने थिएनन्,’ वडाध्यक्ष प्रजा भन्छन्, ‘पढाइ नहुँदा बालबालिकाहरू बिग्रिने अवस्था देखियो। कुलतमा फसेर अपराधिक गतिविधिमा सहभागी बन्न थाले। त्यसैले हामीले उनीहरूलाई लक्षित गरेर छात्रावास सञ्चालनमा ल्यायौं।’
उनकाअनुसार इच्छाकामना–२ मा एउटा मावि, २ वटा निमावि, दुई वटा १ देखि ५ कक्षासम्मको प्रावि, ७ वटा १ देखि ३ कक्षासम्मको प्रावि र २ वटा बालविकास केन्द्रहरू छन्। यी विद्यालयहरूमा १ हजार २ सय विद्यार्थीहरू अध्ययन गर्छन्। लगभग त्यति नै संख्यामा विद्यार्थीहरू निजी विद्यालय र विभिन्न ठाउँमा रहेका बाल केन्द्रहरूमा बसेर पढ्छन्। यसबाहेक पनि धेरै बालबालिकाहरू विद्यालयको पहुँचभन्दा बाहिर रहेको प्रजाले बताए।
‘हाम्रो लक्ष्य वडाका कोही पनि बालबालिका शिक्षाबाट बञ्चित नबनून् भन्ने छ। घर–घरमा पुगेर बालबालिकालाई पढाउन प्रोत्साहन गरेका छौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर प्रजाले भने।
छात्रावास सञ्चालनका लागि कहिलेकाहीँ केही संस्थाले पनि सहयोग गर्ने गरेका छन्। विदेशमा बसेका नेपाली, नेपालीका संस्थाहरूले छात्रावास सञ्चालनका लागि सहयोग गरेका छन्।
‘तर वडाले छुट्टाउने वार्षिक ५ लाख रूपैयाँभन्दा बढी नियमित स्रोत छैन। आर्थिक अभाव हुँदा जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावकहरूले पैसा जुटाएर व्यवस्थापन गर्ने गरेका छौं,’ वडाध्यक्ष प्रजाले भने, ‘मेरो भत्ता पनि प्रायः यतै खर्च हुन्छ।’
बालबालिकालाई पालनपोषणमा सहज होस् भनेर केही जमिन भाडामा लिएर तरकारी खेती गरिएको छ। एउटा सानो खोर बनाएर त्यसमा कुखुरा पालिएको छ। यहाँ फलेको तरकारीले उनीहरूलाई वर्षभरी खान पुग्छ। हप्तामा एक दिन मासु खाने व्यवस्था गर्न कुखुरा पालिएको हो। तरकारी खेती र कुखुरा पालनमा सहभागी गराएर बालबालिकालाई यससम्बन्धी सीपको विकास गर्ने उद्देश्य पनि रहेको उनले बताए।
केही गैरसरकारी संस्थाले अभिभावक भएका बालबालिकालाई छात्रावासमा राख्न नपाउने भन्दै फर्काउने गरेको वडाध्यक्ष प्रजाले बताए।
वडाले छात्रावास खोल्न पाउने कि नपाउने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन।
वडाध्यक्ष प्रजा बालबालिकाहरूको हितमा काम गर्ने राम्रो मनसायले नै छात्रावास खोलेको बताउँछन्। कहिले भने यसरी बच्चा राख्न नपाइने भन्दै प्रश्न पनि उठ्ने गरेका छन्।
‘बालबालिकालाई सकेसम्म अभिभावकसँगै रहन दिनुपर्छ भन्ने सबैलाई थाहा छ। तर इच्छाकामनाको भूगोल र यहाँका बासिन्दाको कमजोर आर्थिक हैसियतका कारण धेरै बालबालिकाहरू अभिभावकसँग बसेर पढ्ने अवस्था देखिँदैन,’ प्रजा भन्छन्,‘अभिभावकलाई पढाइको महत्व थाहा छैन। उनीहरूलाई दैनिक गुजारा चलाउनै समस्या छ। त्यसैले छोराछोरीको विषयमा धेरै ख्याल गर्दैनन्।’
उनले जनप्रतिनिधि, शिक्षकहरू नै अभिभावक बनेर बालबालिकालाई शिक्षाको व्यवस्था मिलाएको बताए।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले भौगोलिक अवस्थाका कारण विद्यार्थीलाई विद्यालय जान असहज भएको अवस्थामा विद्यालयहरूले छात्रावास सञ्चालन गर्ने गरेको बताए।
‘अहिले विद्यालय स्थापनाको सहमति नै स्थानीय तहले दिन्छ। स्थानीय तहसँग समन्वय गरेर विद्यालयले छात्रावास चलाउँदै आएका छन्,’ सुवेदीले भने।
वडाध्यक्ष प्रजाले इच्छाकामना गाउँपालिकासँग समन्वय गरेर छात्रावास सञ्चालन गरिएको बताए।
गाउँपालिकाकी शिक्षा अधिकृत दुर्गादेवी खड्काले छात्रावास सञ्चालनसम्बन्धी ऐन नै नरहेको बताइन्। गाउँपालिकाका २ वटा विद्यालयले छात्रावास चलाएको जानकारी गाउँपालिकालाई रहेको उनले बताइन्।
‘हात्तीबाङ माविमा केही वर्षदेखि छात्रावास चलेको छ। अहिले कक्षा १० का विद्यार्थी बस्छन्, अब ९ कालाई पनि राख्न खोजिएको छ। वर्ल्याङमा अनाथ बालबालिकालाई राखिएको जानकारी छ। तर यो बाल केन्द्र हो कि छात्रावास स्पष्ट छैन। वडाले आवश्यकता हेरेर चलाइरहेको छ,’ खड्काले भनिन्, ‘यी दुवै छात्रावास गाउँपालिकाबाट औपचारिक रूपमा अनुमति लिएर चलाइएका भने होइनन्।’