कोशी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट २०७३ सालमा चितवन ल्याइएका जंगली भैंसी(अर्ना)हरू चितवनमा पाँच वर्ष पनि बाँच्न पाएनन्।
चितवन राष्ट्रिय निकुञ्जको ३० हेक्टर क्षेत्रफलमा तारबार गरेर राखिएका अर्ना बढेर २३ वटासम्म पुगेका थिए। तर कहिले बाघ पसेर मारिदिए, कहिले बाढी र रोगव्याधिले अर्नाहरू मासिए।
२०७४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सातवटा बाह्रसिंगा स्थानान्तरण गरेर चितवन ल्याइएको थियो। ती सबैको विभिन्न कारणले मृत्यु भयो।
२०४१ सालयता चितवनबाट करिब एक सयवटा एक सिंगे गैंडाहरू बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिए। २०७७ सालमा भएको गणनामा बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटामात्रै गैंडा भेटिए।
वन्यजन्तु स्थानान्तरणको प्रमुख उद्देश्य हो वंश विस्तार गर्नु। तर यी तीन प्रजातिको स्थानान्तरणले विस्तार प्रभावकारी देखिएन। अर्ना र बाह्रसिंगा स्थानान्तरण पूर्ण असफल भयो, गैंडाको पनि सफलता कम देखियो।
नेपालमा अहिलेसम्म वंश विस्तारकै उद्देश्य राखेर चार प्रजातिको स्थानान्तरण गरिएको छ। ती मध्ये कृष्णसार(अंग्रेजी नाम व्ल्याकबक) स्थानान्तरणमात्रै सफल भएको विज्ञहरू बताउँछन्।
कृष्णसारको दीर्घकालीन संरक्षणका लागि भनेर २०६७ देखि २०७१ सालसम्ममा नेपालगञ्ज नगरपालिकाको चिडियाखाना, सदर चियाखाना र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुर बाट दुई चरणमा ४२ वटा कृष्णसार कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा स्थानान्तरण गरिएको थियो।
ती बढेर अहिले २५६ वटा भएका छन्। त्यहाँ ५८.८ हेक्टर क्षेत्रफललाई तारजालीले घेरेर कृष्णसार संरक्षण गरिएको छ। बर्दियामा अहिले १९६ वटा कृष्णसार छन्।
कृष्णसारको दीर्घकालीन संरक्षण, वंश विस्तार र यसमार्फत पर्यापयटनको विकासका लागि भनेर शुक्लाफाँटा वा बर्दियाबाट चितवन स्थानान्तरणको पहल सुरू गरिएको पनि एक दशकजति भयो। अर्ना र बाह्रसिंगा स्थानान्तरणको असफल नतिजाले कृष्णसार स्थानान्तरण प्रकृया पनि पछाडि धकेलिँदै आएको छ।
कृष्णसार ल्याएर राख्न रत्ननगर नगरपालिकाको टिकौलीमा १९ हेक्टर क्षेत्रफललाई मेसजाली लगाएर घेरिएको छ। यो पूर्व-पश्चिम राजमार्गबाट करिब २ सय मिटर उत्तरबाट सुरू हुन्छ। भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको सीमा क्षेत्र बरण्डाभार जैविक मार्गमा पर्ने पञ्चकन्या समुदायिक वनमा पर्छ यो ठाउँ।
पूर्व-पश्चिम राजमार्गबाट उत्तरतर्फको बरण्डाभार वन क्षेत्रलाई नेपाल सरकारले २०६७ सालको भदौ ३१ गते संरक्षित वन क्षेत्र घोषणा गरेको थियो। त्यसपश्चात डिभिजन वन कार्यालयले त्यहाँका सामुदायिक वनहरूलाई समुदायमा हस्तान्तरण गरेको थियो।
यहाँ कृष्णसार ल्याउनका लागि अब अन्तिम तयारी भइरहेको छ। पहिलो चरणमा १८ वटा ल्याउनेगरी तयारी गरिएको छ।
संकटापन्न वन्यजन्तुको सूचीमा रहेको कृष्णसार प्राकृतिकरूपमा नेपाल र उत्तरी भारतमामात्र पाइन्छ। तर घट्दो वासस्थान तथा मासु र छालाका लागि गरिने सिकारका कारण यो लोपोन्मुख बन्दैछ।
रत्ननगर नगरपालिकाको आर्थिक व्यवस्थापन, डिभिजन वन कार्यालय चितवनको कानुनी व्यवस्थापन तथा समन्वय र बरण्डाभार संरक्षित वन, जैविक विविधता संरक्षण केन्द्र सौराहा, पञ्चकन्या सामुदायिक वनको सहयोगमा टिकौलीमा संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। स्थानान्तरणका लागि केन्द्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग, प्रदेशमा वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरिएको छ।
अर्ना र बाह्रसिंगामा पूर्ण असफल भएको अवस्थामा कृष्णसार स्थानान्तरण कत्तिको प्रभावकारी बन्ला? राजमार्गबाट नजिकै पर्ने, विद्युत्को प्रशारण लाइन, खगेरी खोला नजिकै बनाइएको इन्क्लोजर कत्तिको सुरक्षित होला? यो विषयमा अहिले धेरैको चासो छ।
कृष्णसार स्थानान्तरणका लागि सकृय रहेका चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेतीलाई मैले यो जिज्ञाशा राखेको थिएँ।
उनले कृष्णसार स्थानान्तरण कार्यक्रम अर्ना र बाह्रसिंगा जस्तो असफल नहुने दाबी गरे।
‘हामीले कृष्णसार ल्याउँदै गर्दा अर्ना र बाह्रसिंगा स्थानान्तरण असफल बन्नुको कारणलाई बेवास्ता गर्नुहुँदैन। ती कार्यक्रम के कारणले पूर्णरूपमा असफल बने भन्ने कुरालाई विचार गरेर काम गर्नुपर्छ,’ रूपाखेतीले सेतोपाटीसँग भने, ‘स्थानान्तरण गरेर शुक्लाफाँटा लगिएपछि कृष्णसारको संख्या वृद्धि भएको छ। चितवनमा त्यताको सिकाइलाई अनुसरण गरेर काम गर्नुपर्छ।’
उनले व्यवस्थापकीय कमजोरी र लापबाही बाहेकका कारणले यो कार्यक्रम असफल हुन नसक्ने बताए।
‘अपवादमा भयो भने त के भन्न सकिन्छ र, हामीले प्राकृतिक प्रकोपलाई पनि नजरअन्दाज गर्न हुँदैन। त्यो त दैवको खेल हो। तर मलाई लाग्छ व्यवस्थापकीय कमजोरी र लापबाहीले मात्र यो असफल हुन सक्छ। त्यस्तो हुन हुँदैन, हुन दिदैनौं भनेर लागेका छौं।’
राजमार्गबाट नजिक हुँदा ध्वनी प्रदुषणले असर गर्छ कि भन्ने चासोमा उनले त्यसको असर कृष्णसारमा खासै नदेखिने बताए। उनकाअनुसार कृष्णसार मान्छेसँग घुलमिल हुने बाख्रा प्रजातीको वन्यजन्तु हो। यो मृग जस्तो मान्छे देखेपछि बुर्कुसी मार्ने प्रजाति होइन। त्यसैले मान्छेको चहलपहलको असर कृष्णसारमा त्यतिधेरै पर्दैन।
‘तैपनि यहाँ राजमार्गदेखि करिब २ सय मिटर परबाट बल्ल मेसजाली लगाएर इन्क्लोजर बनाउन थालिएको छ। भित्री जंगलमा राजमार्गको असर पर्दैन। टिकौली चौरमा विद्युत्को प्रशारण लाइन रहेकाले इन्क्लोजर त्यसभन्दा पर पारेर बनाइएको छ। यसको असर पनि पर्दैन,’ रूपाखेतीले भने।
नजिकै रहेको खगेरी खोलामा कहिले काहीँ बाढी आउँछ। बाढी टिकौली जंगल र मानवस्तीमा पस्ने गरेको छ। यसको असर कृष्णसार राख्नका लागि बनाइएको इन्क्लोजरमा पर्न सक्छ। रूपाखेतीले खगेरीको बाढीको असर अहिलेसम्म नपुगेको क्षेत्रलाई पनि इन्क्लोरभित्र पारिएको छ। ‘१९ हेक्टरमा ७० प्रतिशत क्षेत्र समथर छ। त्यहाँ अल्ली ठूलो बाढी आउँदा असर गर्नसक्छ। बाँकी ३० प्रतिशत क्षेत्र बढी उचाइमा छ। त्यो ढिस्कोमा बाढी पुग्ने संभावना कम छ। खोलामा बाढी आउँदा कृष्णसारहरूले त्यो क्षेत्रमा उक्लिएर ज्यान जोगाउन सक्छन्,’ उनले भने।
तारबार गरेर संरक्षण गरिएका वन्यजन्तुका लागि सबैभन्दा ठूलो चुनौती अन्य वन्यजन्तुको आक्रमण हो। चितवन निकुञ्जभित्रका धेरै अर्नालाई बाघले आक्रमण गरेका थिए। निकुञ्जकाअनुसार २०७९ को साउनमा तारजाली नाघेर छिरेको बाघले एकै दिनमा तीन वटा पोथी अर्नालाई मारिदिएको थियो।
त्यो चुनौति कृष्णसार संरक्षणमा पनि देखिन्छ। डिभिजन वन कार्यालय चितवनकाअनुसार कृष्णसार राख्ने भनिएको राजमार्गबाट उत्तरतर्फको वनमा १२ वटा बाघहरू बस्छन्। त्यो क्षेत्र चितुवा, एक सिंगे गैंडाको पनि वासस्थान हो। यो ठाउँबाट जंगली हात्ती पनि आवतजावत गर्छन्।
रूपाखेती चितुवा उफ्रिँदा पनि भित्र छिर्न नसक्नेगरी तारजालीले घेर्नुपर्ने बताउँछन्।
‘त्यो क्षेत्रलाई पूर्णरूपमा घेरिसकिएको छ। तर थोरै उचाइले बाघ, चितुवा रोक्न सकिँदैन। त्यसैले उचाइ बढाउने र आवश्यक परे विद्युतीय करेन्ट छाड्न सकिनेगरी संरचना बनाउनुपर्छ,’ रूपाखेतीले भने, ‘बाघ त त्यतिधेरै छुद्र स्वभावको हुँदैन। कतै ठाउँ पायो भने छिर्ने हो, चितुवा धेरै उफ्रिन सक्छ, छुद्र पनि हुन्छ। भित्र पसेपछि उसले आक्रमण गरिहाल्छ। त्यसैले संरचना निर्माण गर्दा विशेष ख्याल गर्नुपर्छ।’
अब राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत बनेको प्राविधिक टोली यहाँ तयार भएको संरचनाको अवलोकन गर्न बाँकी छ। प्राविधिक टोलीले अवलोकन गरेपछि उसले दिएको सुझावका आधारमा भौतिक संरचनामा थपघट हुनसक्छ।
शुक्लाफाँटाको प्रगतिले चुस्त, दुरुस्त व्यवस्थापन भयो भने इन्क्लोजरमा पनि कृष्णसारको संख्या बढाउन सकिने रहेछ भन्ने सिकाएको रूपाखेतीले बताए। त्यही अनुभवको आधारमा चितवनमा प्रजातिको विविधता बढाउन सकिन्छ कि भनेर बहस प्रारम्भ भएको रूपाखेती बताउँछन्।
रत्ननगर नगरपालिकाका इन्जिनियर पंकज गिरीले कृष्णसार ल्याएर राख्नका लागि आवश्यक संरचना तयार भइसकेको जानकारी दिए। मेसजालीले घेर्ने, गेट राख्ने, पिउने पानीका लागि पोखरी तयार गर्ने, वासस्थान तयार गर्ने पहिलो चरणको कामहरू भइसकेको उनले बताए।
‘मेसजालीको नजिक रहेका रूखहरूमा चढेर चितुवा छिर्नसक्ने भएकाले ३-४ मिटर परसम्मका रूखहरूमा प्लेन सिट लगाएका छौं। त्यसमा चिप्लिएर चितुवा माथि चढ्न सक्दैन,’ इन्जिनियर गिरीले भने, ‘ढुंगा, मेसजाली र फलामको एंगल गरेर १२ फिट अग्लो बार लगाइएको छ।’
हाल बनेको संरचनाभन्दा माथि विद्युतीय तार जडान गर्ने विषयमा छलफल भएपनि काम सुरू नभएको उनले बताए।
गिरीकाअनुसार गेट र तारबारको काम गर्न रत्ननगर नगरपालिकाले १ करोड ५ लाख रूपैयाँ खर्च गरेको छ। कृष्णसार ल्याएर यहाँको वातावरणसँग घुलमिल हुन थालेपछि टिकट घर र भ्यू टावर बनाउनुपर्ने गिरीले बताए।
कृष्णसार स्थानान्तरणका लागि ५ वर्षमा ५ करोड रूपैयाँ लाग्ने अनुमान गरेर काम सुरू गरिएको थियो। यहाँभित्र भूमिगत पानी तान्नका लागि बोरिङ गाढ्ने, पोखरी निर्माण गर्ने र सोलार जडानको काम डिभिजन वन कार्यालयले गरेको छ। यसका लागि १० लाख रूपैयाँ खर्च भएको उक्त कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।
वन कार्यालयले यहाँ बयर र बबुलका बिरुवाहरु रोपेको छ। कृष्णसार दुबो, काँस, कमलो सिरू, बन्सो मन पराउने जनावर हो। अधिकांश कृष्णसारहरु मुन्टो गाडेर जमिनमा रहेका दुबो, सिरु खान्छन्। भुइँमा खानेकुरा नपाएको अवस्थामामात्रै मुन्टो माथि गरेर खान्छन्। जब जंगलमा सबै खानेकुराको अभाव हुन थाल्छ, त्यो समयमा बयर र बबुलको पात पलाउन थाल्छ। कृष्णसारहरू त्यही खाएर ज्यान जोगाउँछन्।
कृष्णसारको स्वभाव बिहान र बेलुका चर्ने दिउँसो टण्टलापुर घाममा खुल्ला ठाउँमा सुत्ने हुन्छ। पानी परेको बेलामा उनीहरू उभिन्छन्। पानी थापेर तर्काउँछन्। त्यसैले उनीहरुका लागि घाँसे मैदान र खुल्ला चौर दुबै चाहिन्छ।
खनालले अभावको समयमा आवश्यक पर्ने प्रजातिका बीउहरू ल्याएर विरूवा उत्पादन गरी त्यहाँ रोपिएको बताए।
टिकौलीको यो क्षेत्रमा रंगशाला बनाउने पहल गरिएको दुई दशक भन्दा अघिदेखि हो। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे अर्थमन्त्री भएको समयमा यहाँ रंगशाला निर्माणका लागि शिलान्याससमेत गरिएको थियो। तर वन मन्त्रालयले यसका लागि स्वीकृती दिएन।
‘म २०५४ सालमा पहिलो पटक मेयर हुँदाबाटै यहाँ रंगशाला बनाउन पहल गरिएको हो। तर बनाउन सकिएन,' त्ननगर नगरपालिकाका पूर्वमेयर नारायण वनले भने, ‘यहाँ २–२ वर्षमा रत्ननगर महोत्सव गरिन्थ्यो। तर केही दिन गरिने महोत्सवले त यो ठाउँको उपयोग भएन। त्यसपछि कृष्णसार ल्याउन पहल थालिएको हो।’
बर्दियाका कृष्णसार शुक्लाफाँटा लगेर राम्रो भइरहेको देखेपछि वनले सरोकारवाला निकाय तथा व्यक्तिहरूसँग टिकौलीमा ल्याउने विषयमा छलफल थालेका थिए।
‘तेस्रो पर्यटकीय क्षेत्रकारुपमा रहेको चितवनमा वन्यजन्तुको प्रजाति बढ्ने, पर्यटनको नयाँ गन्तव्य हुनसक्ने देखेर मैले निकुञ्ज, विभागतिर कुरा गरेको थिएँ। पूर्वाधार निर्माण, रेखदेख, पालपोषणको काम हामी गर्छौं भनें,’ पूर्वमेयर वनले भने, ‘त्यसपछि यस विषयमा अध्ययन सुरू भयो। ढिलै भए पनि अब स्थानान्तरण होला भन्ने लागेको छ।’
उनले टिकौलीलाई केन्द्र बनाएर पर्यटकलाई खगेरी खोलाको किनार किनारै भम्रण गराउन सकिने बताए। जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी, जिल्लाको सबैभन्दा उचाइमा रहेको पहाड सिराइचुलीसम्म पुर्याएर फर्किनेगरी पर्यटकका लागि प्याकेज तयार पार्न सकिने उनले बताए।
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षकारूपमा मनाउँदैछ। महानगरको सीमा क्षेत्रमा ल्याएर राखिने कृष्णसार पर्यटकका लागि नयाँ गन्तव्य बन्नसक्ने पर्यटन विज्ञ विश्व सुवेदी बताउँछन्।
‘चितवन वन र वन्यजन्तुमा आधारित पर्यटनले चिनिएकाले जैविक विविधता बढ्नु यहाँका लागि खुसीको खबर हो। यसले पर्यटकका लागि नयाँ गन्तव्य थप्नेछ,’ सुवेदीले भने, ‘हामीकहाँ अहिले जंगल सफारीमात्रै छ। यो पर्यटकका लागि नौलो हुनसक्छ।’
पूर्व प्रमुख संरक्षण अधिकृत रूपाखेतीकाअनुसार कृष्णसार स्थानान्तरण गरेर चितवन ल्याउन अध्ययन थालिएको एक दशक हुन थाल्यो। तर यसको प्रकृया नै सुरू भएको भने २०७७ सालबाट हो। त्यतिखेर रूपाखेती चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत थिए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले इकोलोजिष्ट हरिभद्र आचार्यको संयोजकत्वमा प्राविधिक अध्ययन टोली बनाएर संभाव्यता अध्ययन गरेको थियो। त्यो समितिले लामो समय लगाएर प्रतिवेदन तयार गर्यो। विभागले रूपाखेतीलाई पनि यसको अध्ययन गर्न खटाएको थियो। उनले पूर्वी चितवनका चार वटा पालिकाहरू रत्ननगर, खैरहनी, राप्ती र कालिकाको साझेदारी र अपनत्व होस् भनेर प्रतिवेदन बुझाएका थिए। ती दुई प्रतिवेदनको आधारमा कृष्णसार स्थानान्तरणको काम सुरू गर्न सैद्धान्तिक सहमति प्राप्त भएको रूपाखेतीले बताए। त्यसपछि २०७८ सालबाट संरचना निर्माणको काम सुरू भएको थियो।
कृष्णसार स्थानान्तरण गरेर ल्याउनका लागि तयार पारिएको कार्ययोजना रत्ननगर नगरपालिका र डिभिजन कार्यालयमा प्रस्तुत गरिसकिएको छ। वन मन्त्रालयले कार्ययोजना स्वीकृत गरेपछि स्थानान्तरणको काम सुरू हुन्छ।
‘बर्खाको समय छ, बाटो गतिलो छैन। विद्युतीय तार जडान गर्न बाँकी छ। अब यी कामले मात्रै रोक्ने हो। त्यसपछि त ल्याउन सकिन्छ,’ उनले भने, ‘हामी जतिसक्दो छिटो कृष्णसार ल्याउने तयारीमा छौं।’
रत्ननगर नगरपालिकाका इन्जिनियर पंकज गिरीले चितवन ल्याउने कृष्णसारहरू छानेर ठीक्क पारिएको बताए।
‘बर्दियाका कृष्णसारमध्ये चितवन ल्याउनका लागि उपयुक्तहरू छानिसकिएको छ। यहाँ ल्याउनुअघि उनीहरूलाई इन्क्लोजरमा राख्ने बानी पार्न थालिएको छ,’ गिरीले बताए।