घडियाल गोहीहरू पुसदेखि फागुनसम्म भाले खोज्दै लामो यात्रा गर्छन्। उनीहरूको सहवास गर्ने समय पुसदेखि फागुनसम्म भएकाले पोथीहरू आफैं भाले खोज्न निस्किने गर्छन्। सहवास सकेपछि भालेसँग छुटिएर पोथीहरू आ-आफ्नो स्थानतर्फ फर्किन्छन् र नदी किनारको बालुवाको ढिस्कोमा अण्डा पार्छन्।
चैत महिनामा पारेको अण्डाबाट जेठको अन्तिमतिर बच्चा निस्कन थाल्छन्। यो घडियाल गोहीले बच्चा जन्माउने प्राकृतिक नियम हो।
प्राकृतिक रूपमा बच्चा जन्मने र बाँच्ने क्रम असाध्यै न्यून हुँदै गएपछि केही वर्षदेखि चितवन निकुञ्जले उपकरणको प्रयोग गरेर गोहीका बच्चाहरू निकाल्न थालेको छ।
घडियाल गोहीहरू कुखुराले जसरी ओथारो बसेर बच्चा कोराल्दैनन्। अण्डा पारेर बालुवामा पुरेपछि रेखदेखमात्रै गर्छन्। समय पुगेपछि अण्डाबाट बच्चा निस्कन थाल्छन्।
विज्ञहरूका अनुसार अण्डाबाट भाले बच्चा निस्कन तापक्रम ३२ डिग्री हुनुपर्छ। तापक्रम योभन्दा माथि वा तल भएको अवस्थामा बच्चा पोथी जन्मन्छ। कृत्रिम रूपमा तापक्रम मिलाएरै भए पनि भाले बच्चा जन्माउने उद्देश्यले घडियाल गोही प्रजनन् केन्द्रमा ‘इनक्युबेटर’ (उपकरण) राखिएको छ। त्यसमा ३२ डिग्री तापक्रम कायम गरेर बच्चा निकाल्ने गरिएको चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए।
यो उपकरणमा पहिलो वर्ष १० वटा अण्डा राख्दा ७ वटा बच्चा निक्लिएका थिए। दोस्रो वर्ष २० वटा राखियो। त्यसबाट १३ वटा बच्चाहरू निस्किएका थिए। गत आर्थिक वर्षमा २० वटा अण्डा राख्दा ती सबै अण्डाबाट बच्चा निस्किएको तिवारीले बताए।
उनका अनुसार प्राकृतिक रूपमा घडियाल गोहीको प्रजनन् र जन्मिएका बच्चाहरू बाँच्ने दर करिब एक प्रतिशतमात्रै छ। त्यसमा पनि भाले बच्चा जन्मने र बाँच्ने दर करिब एक प्रतिशतकै हाराहारीमा रहेको पाइएको उनले बताए। त्यसैले नेपाल र भारतमा मात्रै पाइने यो सरीसृप जीव संकटापन्न अवस्थामा छ।
‘भाले भएन भने त घडियाल गोहीको वंश नै विनाश हुनसक्छ। त्यसैले तापक्रम मिलाएर भाले बच्चा जन्माउने काम थालिएको हो। तीन वर्षको अवधिमा इनक्युबेटरबाट जन्मिएका बच्चाहरू भाले हुने सम्भावना बढी छ,’ उनले भने, ‘यी बच्चाहरू हुर्किएपछि प्रजननमा समस्या हुँदैन भन्ने विश्वास छ।’
सामान्यतया घडियालहरूको लिंग पहिचान गर्न करिब १५ वर्ष लाग्छ।
‘गत आर्थिक वर्षमा इनक्युबेटरमा जति अण्डा राखियो सबैबाट बच्चा जन्मिए तर सबै भाले नहुन पनि सक्छन्। उपकरणले पनि शतप्रतिशत काम नगर्न सक्छ,’ तिवारीले भने, ‘घडियालको दीगो संरक्षण गर्न भाले चाहिन्छ। हाम्रो प्रयास यसैका लागि हो।’
चितवन निकुञ्जमा घडियाल प्रजनन् केन्द्र स्थापना भएको सन् १९७८ हो। बच्चा हुर्काएर १९८१ बाट नदीमा छाड्न थालिएको थियो। त्यसयता यहाँ जन्मिएर हुर्किएका १८ सय ५२ वटा गोहीहरूलाई देशका विभिन्न नदीहरूमा छाडिएको छ। सबैभन्दा बढी राप्ती र नारायणी नदीमा छाडिएको छ। तर पछिल्लो सर्भेक्षण (२०७९ को पुसमा गरिएको) अनुसार यी दुई नदीमा २४९ वटामात्रै गोही भेटिएका थिए। राप्तीमा १३३ र नारायणीमा १०६ वटा गोही भेटिएका थिए। तीमध्ये राप्तीमा एउटा र नारायणीमा दुई वटा मात्रै भाले गोही भेटिएको तिवारी बताउँछन्।
गत आर्थिक वर्षमात्रै यी दुई नदीमा १६० वटा गोही छाडिएको छ। हरेक वर्ष गोही छाड्ने गरिए पनि नदीमा मान्छेको बढ्दो चहलपहल, नदी प्रदूषण, जथाभावी उत्खनन्, बगेर भारत जाने तर नफर्कनेजस्ता कारणले यहीँ रहनेको संख्या कम छ। गोहीको आहारा माछा मान्छेले मारेर खाइदिने, तियारी जालमा फसेर मर्ने जस्ता कारण पनि घडियाल गोही संकटतर्फ धकेलिएका छन्।
प्राकृतिक रूपमा मात्रै जोगाउन सम्भव नभएपछि प्रजनन् केन्द्रमा राखेर गोहीको संरक्षण गर्न थालिएको हो।
यहाँ नदी किनारबाट अण्डा संकलन गरेर ल्याई बच्चा निकाल्ने गरिएको छ। गत आर्थिक वर्षमा १५ वटा गुँडमा रहेका अण्डाहरू हेरिएको थियो। तीमध्ये ९ वटाबाट २५९ वटा अण्डा संकलन गरेर ल्याइयो। २० वटालाई इनक्युबेटरमा हालेर अन्यलाई प्रजनन् केन्द्रभित्रै बालुवामा राखिएको थियो। बाहिर राखिएका अण्डाबाट पनि बच्चा जन्मिएका छन्।
‘प्रकृतिमा रहेकामध्ये केही त्यहीँ छाडेर बाँकी प्रजनन् केन्द्रमा ल्याई बच्चा जन्माउने, हुर्काउने र ठूलो भएपछि फेरि प्रकृतिमै छाड्ने गरिएको छ,’ तिवारीले भने।
घडियाल गोही प्रजनन् केन्द्रमा अहिले साना, ठूला गरेर ८ सय बढी गोही छन्। तीमध्ये दुई वटा मात्रै भाले छन्। भएका दुई वटा पनि प्रजनन् गर्न सक्दैनन्।
यहाँ रहेको एउटा जीवित भाले २०३५ सालमा यहीँ जन्मिएको हो। २०५५ सालदेखि यसमा प्रजनन् क्षमता देखिँदै आएकोमा २०७१ सालदेखि प्रजनन् क्षमतामा ह्रास आएको लामो समय घडियाल प्रजनन् केन्द्रमा काम गरेर चितवन निकुञ्जका पूर्व संरक्षण अधिकृत बेदबहादुर खड्का बताउँछन्। त्यसपछि पनि भाले पोथीको बेला–बेलामा सहवास भएको देखिने गरेको तर पोथीले पारेको अण्डाबाट बच्चा ननिस्केको उनी बताउँछन्।
प्रजनन् केन्द्रमा २०७० सालभन्दा अगाडि दुई वटा वयस्क भाले घडियाल थिए। जुधेर १ वयस्क भालेको मृत्यु भएपछि प्रजनन् उमेरको एउटामात्रै भाले बाँकी रह्यो।
पछि २०–२२ वर्षको अर्को भाले गोही ल्याइयो। यसलाई राप्ती पुल नजिकैबाट उद्धार गरेर ल्याइएको थियो। उद्धारको क्रममा यो भाले हो भन्ने थाहा थिएन। करिब पाँच वर्षपछि मात्रै यो गोही भाले हो भन्ने पहिचान भयो। त्यो पनि अहिले प्रजननमा सक्रिय छैन। प्रकृतिमा सक्रिय रहे पनि प्रजनन् केन्द्रमा ल्याएपछि त्यति सक्रिय नहुने समस्या देखिँदै आएको तिवारीले बताए।
प्राकृतिक रूपमा भाले गोहीको अभाव भएपछि चितवन निकुञ्जले २०७४ सालमा बर्दिया राष्ट्रिय निकुञ्जको बबई खोलाबाट भाले गोही ल्याएको थियो। त्यसलाई नारायणी र राप्तीको दोभान नजिकै रहेको खोरिया मुहान क्षेत्रमा छाडियो। त्यसपछिका दिनहरूमा नदीमा रहेका घडियालका सबैजसो गुँडबाट बच्चाहरू पैदा भएका थिए। उक्त भाले पनि पछिल्लो समयमा देखिन छाडेको छ।
घडियाल प्रजनन् केन्द्र आन्तरिक तथा नेपाल घुम्न आउने विदेशी पर्यटकको रोजाइको गन्तव्य पनि बन्दै गएको छ। पर्यटकहरू यहाँ रहेको साना तथा ठूला गोही देखेर लोभिने गरेका छन्।