चितवनमा एक दशक भन्दा लामो समयपछि ओंत रेकर्ड भएको छ। सौराहा घर भएका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले रत्ननगर–७ बद्रेनी नजिकै राप्ती नदीको किनारमा ओंत रेकर्ड गरेका हुन्।
चितवन राष्ट्रिय निकुञ्जमा ओंत रहेको अनुमान गरिए पनि लामो समय कसैको क्यामेरामा कैद हुन सकेको थिएन।
‘केही दिनदेखि बोटे दाइहरूले खोलामा ओंत देखेको हल्ला गर्नुभएको थियो। पत्यार नलागी–नलागी बुढी राप्ती, राप्तीको किनारतिर डुलिरहेको थिएँ, झाडी र नदीको बीचमा फ्याट्ट ओंत झुल्कियो,’ तामाङले सेतोपाटीसँग भने, ‘क्यामेरा लगेको थिइनँ। हतार, हतार मोबाइल निकालेर फोटो र भिडिओ खिचिहालें।’
चितवन र काठमाडौंका वन्यजन्तु विज्ञहरूलाई फोटो पठाएपछि यो जीव ओंत नै रहेको यकिन भएको उनले बताए।
विश्वमा १३ प्रजातिका ओंतहरू पाइन्छन्। तामाङले रेकर्ड गरेको खैरो ओंत (स्मुथ कोटेड ओटर) हो। नेपालमा कालो ओंत (युरेसियन ओटर), खैरो ओंत (स्मुथ कोटेड ओटर) मात्रै रेकर्ड भएका छन्। सानो ओंत (एसियन स्मल क्लड ओटर) पनि देखिने गरेको भने पनि यो रेकर्ड भएको छैन।
चितवनमा खैरो ओंत सन् १९९८ पछि राप्ती नदी र २०१० पछि नारायणीमा रेकर्ड भएका छैनन्। कालो ओंत सन् १९९१ सम्म कास्कि जिल्लाका बेगनास र रूपा तालमा भेटिएका थिए।
कालो ओंतलाई संकटग्रस्त प्रजातिको रातो सूची निकाल्ने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले निकट भविष्यमा लोप हुन सक्ने प्रजातिको सूचीमा राखेको छ। दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस)को अनुसूची १ मा कालो ओंत, अनुसूची २ मा खैरो ओंत र सानो ओंत छन्। अनुसूची १ मा लोप हुने स्थितिमा पुगेका प्रजाति समावेश छन्। व्यापारको कारणले ती प्रजाति अझै खतरामा पर्ने र लोप हुन सक्ने हुँदा तिनको ब्यापार एवं ओसारपसारलाई नियन्त्रण गरिएको छ। प्रजाति लोप हुने स्थितिमा पुगी नसकेको तर तिनको व्यापारलाई समयमा नियमन र नियन्त्रण नगर्दा निकट भविष्यमा लोप हुन सक्ने अवस्थामा रहेका प्रजातिलाई अनुसूची २ मा समावेश गरिएको छ।
खैरो ओंत तराई क्षेत्रमा बेलाबेलामा रेकर्ड भएको छ। पश्चिममा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा, पूर्वमा कोशी टप्पु वन्यजन्तु आरक्षमा खैरो ओंत रेकर्ड भएको छ। २०७७ सालको फागुनमा बर्दियामा एकै ठाउँमा धेरै खैरो ओंत भेटिएका थिए।
विद्यावारिधिका लागि कोशीमा ‘फिसिङ् क्याट’को विषयमा अनुसन्धान गर्नेक्रममा बायोलोजिस्ट रमा मिश्रले लगाएको क्यामरा ट्रयापमा ओंत रेकर्ड भएको थियो। सन् २०१६ देखि कोशीमा फिसिङ क्याटसम्बन्धी अनुसन्धान गरिरहेकी मिश्रको क्यामेरामा सन् २०२१ मा तीन पटकसम्म ओंत रेकर्ड भएको थियो। फिसिङ क्याट बिरालो वर्गमा पर्ने जीव हो। यसले सीमसार क्षेत्रमा पाइने माछा, मुसा, चरालगायतका जीवहरूको सिकार गर्छ। ओंतको वासस्थान पनि सिमसार क्षेत्र नै हो। उसको मुख्य आहारा माछा हो।
मिश्रले कोशीबाहेकको क्षेत्रमा पनि ओंत रहेको सुने पनि आफूले नदेखेको बताइन्।
‘चितवनमा ओंत भेटिएको खबर सुनेर खुसी लाग्यो,’ अनुसन्धानकाक्रममा कोशीमा रहेकी मिश्रले भनिन्, ‘यसअघि लामो समय यो देखिएको थिएन। क्यामेरा ट्रयापहरुमा पनि परेको थिएन।’
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका प्रजातिहरूका विषयमा लामो समय अध्ययन गरेका राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका पूर्वप्रमुख डा.बाबुराम लामिछानेले करिब चितवनमा करिब एक दशकपछि ओंत रेकर्ड भएको बताए।
‘ओंतकै विषयमामात्रै अध्ययन नगरे पनि विभिन्न प्रजातिको विषयमा अध्ययन गर्नेक्रममा मैले ओंतको बारेमा पनि चासो राख्ने गरेको थिएँ। तर कहिल्यै देखिएन,’ उनले भने, ‘निकुञ्जमा धेरै क्यामराहरू जडान गरिए पनि कुनै क्यामरामा ओंत रेकर्ड भएको थिएन।’
उनले विगतमा वरण्डाभार, बीसहजारी ताल क्षेत्रमा ओंत देखियो भनेर केही मान्छेले सुनाएको भए पनि फोटो नभएकाले यकिन गर्न नसकिएको बताए। ओंतलाई सीमसार र नदी क्षेत्रको स्वच्छ पानीको सूचकको रूपमा लिने गरिन्छ। साना स्तनधारी जीव ओंत ३ करोड वर्षदेखि पृथ्वीमा छ। नदी किनारका झाडी यिनको मुख्य बासस्थान हो।
खोला, नदी, सिमसार क्षेत्रमा मानव चहलपहल बढ्दै जाँदा ओंतहरू लोप हुँदै गएका छन्। जथाभावी नदीजन्य पदार्थ उत्खनन्, बढ्दो नदी प्रदूषणको असर पनि ओंतमा परेको लामिछाने बताउँछन्।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारी निकुञ्जभित्र केही संख्यामा ओंत रहेको अनुमान गर्छन्। ‘क्यामेरामा कैद नभएको त धेरै वर्ष भइसक्यो। वनस्पति, जीवहरू रहे पनि कतिपय रेकर्ड नभएका हुनसक्छन्। विस्तारै भेटिँदै जान्छन्,’ तिवारीले भने, ‘एउटा ओंत रेकर्ड भयो। अन्य पनि हुनसक्छन्।’
सामान्यतया ओंत समूहमा रहनेगर्छ। तिवारीले समूहबाट छुट्टिएर यो ओंत एक्लिएको हुनसक्ने बताए।