ठूला सहर तथा सहर उन्मुख क्षेत्रलाई फलफूल तथा तरकारीमा आत्मनिर्भर बनाउन चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय(एएफयु) र बंगलादेश एग्रीकल्चर युनिभर्सिटी(बिएयु)ले सहकार्य सुरू गरेका छन्।
बढ्दो जनघनत्व तथा जलवायु परिवर्तनको असरले निम्तिन सक्ने खाद्य संकटलाई लक्षित गर्दै दुई विश्वविद्यालयको सहकार्यमा अध्ययन तथा खेतीका लागि सहजीकरण गर्न लागिएको हो।
नेपाल र बंगलादेशका सहरी तथा सहर उन्मुख क्षेत्रमा उन्नत प्रविधिमा आधारित फलफूल तथा तरकारी खेतीका लागि यु.एस.ए.आइ.डी./युनिभर्सिटी अफ क्यालिफोर्नियाको फिड द फ्युचर इनोभेसन ल्याव फर हर्टिकल्चरले लगानी गरेको छ। साढे तीन वर्षको अवधिमा तोकिएको क्षेत्रमा उत्पादन दक्षता र रोजगारी बढाउने उद्देश्यले परियोजना अघि बढेको परियोजना ईन्चार्ज कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्रले बताइन्।
उनकाअनुसार दक्षिण एशियाका लागि ६० वटा कार्यक्रम माग गरिएकोमा नेपालकामात्रै तीन संस्था छनोट भएका छन्। अन्य दुई परियोजना अन्य संस्थाले पाएपनि ती पनि विश्वविद्यालयको परियोजनासँग सम्बन्धित छन्।
‘विश्वविद्यालयले चारवटा सहरहरूमा अध्ययनका लागि एक–एकवटा बागबानी नर्सरी छनोट गरेर त्यसको सुधार, व्यवस्थापन र क्षमता बढाउन सघाउँछ। विज्ञहरू विश्वविद्यालयबाट पठाउँछौं। त्यो नर्सरीलाई केन्द्र बनाएर जिल्लाका अन्य नर्सरीलाई पनि प्राविधिक सहयोग गर्छौं,’ बागबानी विभागकी प्राद्यापकसमेत रहेकी मिश्रले भनिन्, ‘नर्सरीलाई बीउ उत्पादक, विज्ञ तथा किसान तथा ग्राहकसँग जोड्न सघाउँछौं।’
विश्वविद्यालयले मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलवस्तु र पाल्पालाई सहर उन्मुख क्षेत्र भनेर छनोट गरेको छ। ती जिल्लामा रिसर्च नर्सरी छनोट गरेर काम गर्न थालिएको छ।
यो परियोजनाअन्तर्गत एक जना नेपालीलाई बंगलादेश एग्रीकल्चर युनिभर्सिटीमा पिएचडी गर्न पठाइने मिश्रले बताइन्।
बंगलादेशका सहरहरू ढाका, खुल्ना र माइमेनसिङ सहरमा पनि यो परियोजना सुरु भएको छ। यी बंगलादेशका जनसंख्या तिव्ररूपमा बढिरहेका सहर हुन्। त्यहाँ चलिरहेको परियोजनाका ईन्चार्ज बंगलादेश एग्रीकल्चर युनिभर्सिटीका प्राद्यापक डा.अनवरूल अवेदिनले ठूला सहरमा बढ्दो जनघनत्वका कारण खेतीयोग्य जमिन कम हुँदै गएको बताए।
परियोजनाले बंगलादेशका तीन सहरका छत तथा बरण्डामा फलफूल खेती गर्न सघाउँदैछ।
‘जनसंख्या बढ्दै जाँदा खाना र पोषणयुक्त खानेकुराको अभाव हुनसक्छ। जलवायु परिवर्तनले निम्त्याउने खतरा पनि धेरै छ। त्यसैले ठूला सहरमा घरको उपयुक्त ठाउँमा फलफूल, तरकारी खेती गर्न यो परियोजनाले प्रोत्साहन गर्छ,’ अवेदिनले भने।
दुबै देशका परियोजनाका सफल भएका अध्ययनलाई एकअर्कामा कार्यान्वयन गर्ने उद्देश्य रहेको परियोजनाका सहायक ईन्चार्ज प्रशिद्ध थापाले बताए।
‘बंगलादेशका ठूला सहरहरूमा सफल भएको योजनालाई अर्को चरणमा नेपालका ठूला सहरहरू काठमाडौं, भरतपुर र पोखरामा लागू गर्ने लक्ष्य राखिएको छ। नेपालको अध्ययनको सफल कुरालाई बंगलादेशका अन्य सहर उन्मुख क्षेत्रमा लागु गर्ने योजना छ,’ थापाले भने, ‘नेपालबाट एक जनालाई बंगलादेशमा पिएचडी गर्न पठाउनुको कारण त्यही हो।’
अहिलेको परियोजनामार्फत काठमाडौं, भरतपुर र पोखरामा रहेका घरको जिआईएस नक्सा तयार गरिने थापाले बताए। अमेरिकाको न्यू जर्सी युनिभर्सिटीले यी तीन सहरका घरका छतहरूको जिआईएस नक्सा निकाल्नेछ। त्यसबाट घरको छतमा फलफूल तथा तरकारी रोप्न मिल्ने खाली ठाउँ कति छ भन्ने तथ्यांक निस्कन्छ।
‘अघिल्लो दुई वर्षमा गरिने अध्ययनपछि अन्तिम वर्ष भरतपुर र पोखराका घरका छतमा खेतीको परीक्षण गरिनेछ,’ थापाले भने, ‘त्यो सफल भए काठमाडौंमा पनि सुरू गर्ने लक्ष्य राखिएको छ।’
केही वर्षअघि गरिएको एक अध्ययनले काठमाडौंका घरहरूको छतमा एक हजार हेक्टर भन्दा बढी क्षेत्रमा खेती गर्न सकिने तथ्यांक निकालेको यु.एस.ए.आइ.डी.कृषि उच्च शिक्षा परियोजनाका राष्ट्रिय व्यवस्थापक डा. केशवप्रसाद प्रेमीले बताए।
सोही कार्याक्रमअन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद(नार्क)ले माटोबाट तरकारी तथा फलफूलका बिरूवामा सर्ने रोग किराको नियन्त्रणका लागि अनुसन्धान गर्ने परियोजना अघि बढाइरहेको छ। उक्त परियोजनाका ईन्चार्ज डा.रामबहादुर खड्काले माटोको अध्ययन तथा उपचार गरेर रोग प्रतिरोधी बिरूवा उत्पादनमा काम गर्ने बताए।
‘अहिले केरामा रोग लागेर किसानहरू समस्या छन्। अन्य फलफूलमा पनि समस्या देखिएको छ। यसको प्रमुख कारण भनेको विदेशबाट ल्याइएका बिरूवा सिधै खेतमा पुग्नु हो,’ खड्काले भने, ‘रोग व्यवस्थापन अहिलेको महत्वपूर्ण चुनौती हो। हामी किसानको खेतैमा पुगेर माटोको अध्ययन तथा निर्मलीकरण गर्छौं।’
नेपालमा अहिले अधिकांश फलफूलका बिरूवा आयात हुने गरेको प्राद्यापक मिश्रले बताइन्।
‘नेपालमा अहिले ३–४ बिघा जमिनमा कागती खेती गर्नुपर्यो भने पनि बिरुवा पाइँदैन। पाइएका बिरूवा पनि स्तरीय हुँदैनन्,’ मिश्रले भनिन्, ‘देशमै स्तरीय बिरूवा उत्पादन गरेर किसानलाई दिनसक्ने क्षमताका नर्सरी तयार पार्नुपर्छ। त्यसका लागि माटोको सुधार गर्ने काम पनि महत्वपूर्ण छ।’
यु.एस.ए.आइ.डी.को सोही कार्यक्रमअन्तर्गतको फलफूल तथा तरकारी खेती तथा व्यावसायमार्फत युवा तथा महिलालाई प्रोत्साहन गर्ने परियोजना फवार्ड नेपाल नामको संस्थाले पाएको छ। सो परियोजनाका ईन्चार्ज डा.विष्णुकुमार विकेले कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट विज्ञ सहयोग लिएर कृषि उद्यम तथा व्यवसायमा युवाहरु सघाउने बताए।
‘व्यपारमा सघाउने, रोजगारीको अवसर सिर्जना गर्ने, विदेशमा रहेका युवा तथा महिलालाई देशमै फर्किएर काम गर्न प्रोत्साहन गर्ने यो परियोजनाको लक्ष्य हो,’ डा.विकेले भने।
यी सबै कार्यक्रमका लागि १४ लाख डलर बजेट छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले १ लाख ३० हजार, बंगलादेश एग्रीकल्चर युनिभर्सिटीले १ लाख ७० हजार, नार्कले ६ लाख र फर्वार्ड नेपालले ५ लाख डलरको परियोजना सञ्चालन गरेका हुन्।
युनिभर्सिटी अफ क्यालिफोनियाको फिड द फ्युचर इनोभेसन ल्याव फर हर्टिकल्चरकी निर्देशक एरिन म्याकयुइरेले फलफूल तथा पोषणयुक्त खानामार्फत साना किसान तथा समुदायलाई प्रोत्साहन गर्न सकिने बताइन्। अहिले गरिएको सानो कामले भविष्यमा पर्ने जलवायु परिवर्तनको असर, विपद् तथा अन्य संकटको सामना गर्नमा सजिलो हुने उनी बताउँछिन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा.शारदा थपलियाले बसाइसराईका कारण पहाडी क्षेत्र खाली र सहरमा मान्छेको चाप बढ्दै गएकाले खानाका लागि आयातित वस्तुको भर पर्नुपर्ने स्थिति आउँदै गएको बताइन्।
‘पहिले सहरी क्षेत्रलाई खानेकुरा आपुर्ति गर्ने गरेको मध्यपहाडी क्षेत्र खाली हुँदै गएको छ। सहर घरले भरिन थालेको छ,’ उनले भनिन्, ‘अब हामीले बाँझो र अनुत्पादक क्षेत्रलाई उत्पादन क्षेत्र बनाउन ढिला गर्नु हुँदैन।’
उनले नेपालमा उत्पादन क्षेत्र र उत्पादकत्व घटेपनि कृषिमा आधारित मान्छेको संख्या उस्तै रहेकाले उत्पादकत्व बढाएर खाद्य संकट निम्तन नदिन विश्वविद्यालय तथा सरोकारवाला निकायहरूले बेलैमा ध्यान दिनुपर्ने बताइन्।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले बाँकी कृषि योग्य भूमिलाई उत्पादनमा लगाउनुपर्ने बताए।
‘बसाई सरेर पहाडी क्षेत्र खाली भएपनि त्यहाँको जमिनमा खेती गर्न सकिन्छ। ठूलो क्षेत्रमा व्यवसायिक खेती गरेर फलफूल, तरकारी, अन्नबाली उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘सहरमा छतमा गर्ने कृषि पनि गर्नुपर्यो बाँझो जमिनमा खेती गर्ने, ग्रामीण तथा पहाडी क्षेत्रका जमिनको सदुपयोग गर्नेतर्फ लाग्नुपर्छ।’
नेपालमा व्यवसायिक खेती गर्न स्तरीय बीउ र बिरूवा पाउन नसक्नु ठूलो समस्या रहेको रेग्मीले बताए।
‘हामी विश्वविद्यालयमै नर्सरी बनाएर किसानलाई गुणस्तरीय बिरूवा उपलब्ध गराउन सक्छौं। यहाँको ईन्टिग्रेटेड रिसर्च ल्याबको क्षमता वृद्धि गरेर किसानलाई स्तरीय टिस्युकल्चर बिरूवा दिन सक्छौं,’ रेग्मीले भने, ‘अबको दिनमा यसतर्फ ध्यान दिनुपर्छ।’