अचेल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा छुनुमुनु गरिरहेका भेटिन्छन् राम र देव।उनीहरूको साथमा हुन्छिन् पूजा।
राम र देव भाले बच्चा(केटा) हुन्। पूजा पोथी बच्चा(केटी)। उमेरले राम र देवभन्दा पूजा जेठी हुन्।
जंगललाई राम्ररी चिन्न नपाउँदै मान्छेको संगत सुरू गरेका उनीहरू मान्छेसँग मज्जाले घुलमिल हुन्छन्। दुर्लभ एक सिंगे गैंडा हेर्न मान्छेलाई पनि मन हुन्छ। गैंडाका बच्चा देख्दा त मान्छेहरू हुरूक्कै हुन्छन्। उनीहरूसँग फोटो खिचाउन पाउँदा आफूलाई भाग्यमानी ठान्छन्।
गैँडाका यी तीन केटाकेटीले केन्द्रको चौरमा पलाएका पालुवा घाँस खान्छन्। कर्मचारीले दिएको दूध निप्पलबाट चुस्छन्। पूजा त कार्यालयको कोठा–कोठा चाहर्न भ्याउँछे।
यी तीनैको एउटा समानता छ। उनीहरू भाग्यले बाँचेका केटाकेटी हुन्।
बाघको आक्रमणबाट बाँचेर अहिले सौराहामा नाफाको जिन्दगी बिताइरहेका छन्। सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर षडौलाकाअनुसार पूजालाई सौराहाको राप्ती घाटबाट उद्धार गरेर ल्याइएको थियो।
गएको कात्तिक १० गते भाइटिकीको दिन उद्धार गरेर ल्याइएकाले उनको नाम पूजा राखिएको थियो। रामलाई सौराहा नजिकै रहेको बाघमारा सामुदायिक वनको रामनगर भन्ने ठाउँबाट र देवलाई देवनगर क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो। उद्धार गरिएको ठाउँको नामबाट उनीहरूको नाम राम र देव राखिएको हो।रामलाई दुई हप्ता र देवलाई एक महिनाको छँदा उद्धार गरिएको थियो। राम अहिले ४ महिना र देव साढे ४ महिनाका भए।
‘यी तीनवटै बच्चाहरूलाई बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा उद्धार गरेर यहाँ ल्याइएको हो। उनीहरू माउबाट छुट्टिएर एक्लै बसिरहेका थिए। खुट्टामा बाघले टोकेको घाउहरू थियो। शरीरका अन्य भागमा पनि चोट लागेका थिए। हामीले यहाँ ल्याएर उपचार गर्यौं,’ षडौलाले भने।
राम र देवको स्वास्थ्य उद्धार गरेर ल्याउँदाको भन्दा धेरै सुधार भइसकेको उनले बताए। उनका अनुसार उनीहरू अहिले पनि खुट्टा खोच्याएर हिँड्छन्। पूजा भने लगभग सामान्य अवस्थामा फर्किसकेकी छ।
‘हामीकहाँ गैंडाको संख्या बढिरहेको छ। गैंडाले बच्चा पाउने दर पनि बढिरहेको छ। बाघको संख्या पनि बढेको छ। गैंडाको बच्चा जन्मदै ठूलो, आक्रमण गर्न सजिलो र एक पटक सिकार गरेपछि धेरै दिनलाई आहारा पुग्ने भएकाले बाघले उपयुक्त ठानेको हुनसक्छ,’ षडौला भन्छन्।
विगत ५–७ वर्षयता उद्धार गरेका गैंडाका बच्चाहरू अधिकांश बाघकै आक्रमणमा परेका रहेको उनले बताए।
बच्चालाई अक्रमण गर्न थालेपछि माउ गैंडा बाघलाई लखेट्न कुद्छ। लामो समयसम्म माउ नफर्किँदा बच्चा अपलत्र पर्छन्। सामान्यतया गैंडाका बच्चाहरू ५ वर्षसम्म माउकै साथमा हुन्छन्।
चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७९/०८० भित्र यहाँ २२ वटा एक सिंगे गैंडा मरेका छन्। ती मध्ये १५ वटा ५ वर्षभन्दा कम उमेरका हुन्।
१५ मध्ये ६ वटा केटाकेटी(गैंडाका बच्चा)को मृत्यु बाघको आक्रमणबाट भएको थियो। एउटाको मगर गोही र एउटाको गैंडाकै आक्रमणबाट मृत्यु भयो। चार वर्षको एउटा केटोको विद्युतीय धरापमा परेर मृत्यु भएको थियो। अन्य ६ वटाको मृत्यु प्राकृतिक कारण भएको निकुञ्जको विवरणमा उल्लेख छ। उनीहरू जंगलमा हिंड्नेक्रममा घाइते भएर वा रोग लागेर मरेको भनेर बुझ्न सकिन्छ।
बाघको आक्रमणबाट मृत्यु भएकाहरू २ महिनादेखि ५ वर्षसम्मका छन्। दुई र पाँच महिनाका एक/एक वटा, ६ महिनाका दुईवटा, ३ र ५ वर्षका एक/एक वटा गैंडालाई बाघले आक्रमण गरेर मारेको थियो। ४ वटालाई चितवन र २ वटालाई नवलपरासीको जंगलमा आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए।
गत वर्ष असोजमा एक, मंसिरमा एक, पुसमा एक, माघमा तीन, चैतमा तीन, वैशाखमा तीन, जेठमा दुई र असारमा एउटा गैंडाका बच्चाको मृत्यु भएको हो।
केटाकेटीबाहेक गत आर्थिक वर्षमा एउटा ३५ वर्षको गैंडा बुढो भएर, २० र ८ वर्षका २ गैंडा छुट्टाछुट्टै घटनामा जुधेर, १२ र १४ वर्षका गैंडा वटा विद्युतीय धरापमा परेर, ३० र १८ वर्षका दुई गैंडा प्राकृतिक कारणले मरेका थिए।
२०७७ सालमा भएको गणनामा नेपालमा ७५२ वटा एक सिँगे गैंडा भेटिएका थिए। चितवनमामात्रै ६९४ वटा गैंडा भेटिएका थिए। २०७१ को गणनामा चितवनमा ६०५ वटा गैंडा भेटिएका थिए।
उद्धार गरेर संरक्षण गरिएका राम, देव र पूजालाई भविष्यमा प्राकृतिक वासस्थानमा छाड्नेगरी तालिम दिइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाहले बताइन्।
‘पुष्पा र अञ्जलीलाई कोशी लगेपछि प्राकृतिक वासस्थानमा समायोजन गर्न प्रयास भइरहेको छ। यहाँ रहेका राम, देव र पूजालाई पनि जंगलमा बस्ने बानी पार्न त्यहीअनुसारको वातावरण तयार पार्छौं,’ शाहले भनिन्।
पुष्पालाई २०७६ पुस ५ गते २ महिनाको छँदा नवलपुरको तमासपुरमा दलदलमा फसेको अवस्थामा र अञ्जलीलाई २०७७ सालको चैत १४ गते गैंडा गणनाकोक्रममा नवलपुरकै दिव्यपुरी क्षेत्रबाट एक महिनाको छँदा अलपत्र अवस्थामा उद्धार गरिएको थियो।
यी तीन गैंडाका लागि मासिक २५ किलोका ५ बोरा पाउडर दूध आवश्यक पर्ने शाहले बताइन्। एक बोरा पाउडर दूधको मूल्य २० हजार रूपैयाँ पर्छ। उनीहरूलाई बेला–बेलामा फलफूल पनि खुवाउने गरिन्छ। यसबाहेक उनीहरूको उपचारमा पनि खर्च हुने गरेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले उद्धार गरिएका वन्यजन्तुका लागि अन्यले पनि सहयोग गर्न सक्नेगरी निर्देशिका बनाएको छ।