सामुदायिक विद्यालयमा अध्ययनरत ८ हजार १६ जना विद्यार्थीलाई विद्यालय स्तरबाट खेल विकासका लागि प्रशिक्षण दिन काठमाडौं महानगरपालिकाले छनोट गरेको छ।
महानगरपालिकाको स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई ३ समूहमा बाँडेर छनोट गरिएको खेल सञ्चालन निर्देशक समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए।
उनका अनुसार यसमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थी एउटा समूहमा छन् जसमा कक्षा १० का विद्यार्थी दोस्रो समूहमा छन् भने कक्षा ९, ११ र १२ का तेस्रो समूहमा छन्।
'प्रशिक्षण हुनुपूर्व विद्यार्थीबाट माग गरिएको आवेदनका आधारमा १० हजार ९९५ जना विद्यार्थीले खेलमा रूचि देखाएका थिए,' उनले भने, 'उनीहरूको रूचि, शारीरिक अवस्था, खेलप्रतिको पूर्व ज्ञान र छनोटकै दिन प्रदर्शन गरिएको खेल प्रस्तुतिका आधारमा सम्बन्धित खेलका प्रशिक्षकहरूबाट खेलाडी छनोट गरिएको छ।'
छानिएका विद्यार्थीमध्ये हिउँदे बिदाका समयमा एक हप्ताको विशेष प्रशिक्षण प्रदान गरिने झाले बताए।
एक हप्ताको प्रशिक्षणपछि खेल्ने अवसर दिएर दोस्रो चरणको छनोट हुनेछ। यस चरणबाट छानिएका विद्यार्थीहरूलाई विशेष निगरानी सहितको नियमित प्रशिक्षण प्रदान गरिने बताइएको छ। यसबाट प्रतिस्पर्धाका लागि खेलाडी तयार हुनेछन्।
सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार प्रारम्भिक चरणबाट अगाडि ल्याउन नसकिएका विद्यार्थीहरूको तथ्यांक राखिएको छ। उनीहरूलाई प्रशिक्षणपश्चात् अर्को प्रतियोगिताका लागि तयार गरिनेछ भने छानिएका खेलाडीहरुलाई राष्ट्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण दिइनेछ।
पोखरेलका अनुसार आवेदनमार्फत रूचि राख्ने क्रममा सबैभन्दा धेरै फुटबल खेलमा, दोस्रोमा ब्याटमिन्टन, तेस्रोमा भलिबल, चौथोमा र पाँचौँमा तेक्वान्दो खेलमा रूचि देखाएका थिए। यसरी रूचि देखाउनेमध्ये फुटबल खेलमा १ हजार २०२ जना विद्यार्थी छानिएका छन्।
ब्याडमिन्टनमा ५३५, भलिबलमा ७७४, क्रिकेटमा ६८२, तेक्वान्दोमा ९१५, बास्केटबलमा १७८, कराँतेमा ५१८, कबड्डीमा ७८१ एथ्लेटिक्समा ५१८, बक्सिङमा ५४९, चेसमा २७५, टेबुलटेनिसमा २१५, खोखो खेलमा २७८, हक्कीमा ११७, उसुमा ४६ र जुडोमा ४४ जना छानिएका छन्।
३ महिनाभरि जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ। जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइने जनाइएको छ।
कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइईको तयारीमा प्रोत्साहन गरिने बताइएको छ। खेलका तालिम चलाउन नियमित कक्षा अगाडि, पछाडि, बिदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिने जनाइएको छ। फागुन महिनामा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुका बिचमा प्रतियोगिता आयोजना गरिनेछ।