मध्यपुर थिमि नगरपालिकाको आयोजना र प्रायोजनमा तीन दिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरू भएको छ।
मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले स्थानीय कला, संस्कृति, मौलिक पेशा, परिकार, र उत्पादनलाई प्रवर्द्धन गर्ने, मध्यपुरलाई पर्यटन गन्तव्यको रूपमा परिचित गराउने, र यहाँका ऐतिहासिक जात्रा तथा पर्वका बारेमा जानकारी प्रदान गर्दै ती समयमा पर्यटकलाई आकर्षित गरेको छ।
महोत्सवका कार्यक्रमहरू शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश, बोदे, र तिगनिको नीलबाराहीसम्मका ऐतिहासिक बस्ती क्षेत्रमा सञ्चालन भएका छन्।
महोत्सवमा तीन सय ४७ स्टल छन्। यीमध्ये स्थानीय कला, संस्कृति, परम्परा, र हस्तकला प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रदर्शन तीन दिनसम्म हुनेछ।
महोत्सवमा साँस्कृतिक नाच प्रदर्शन अन्तर्गत २५ प्रकारका परम्परागत नाचः अष्टमातृका नाच, इन्द्रअप्सरा नाच, नागचा नाच, लाखे नाच, मयुर नाच, महाकाली नाच आदिको प्रदर्शन हुनेछ।
बाजागाजाका प्रदर्शनीमा धिमे बाजा, गुँला बाजा, बासुरी बाजा, र दाफा भजन लगायतका २६ प्रकारका सांस्कृतिक बाजाहरू प्रदर्शन हुने नगरपालिकाले जनाएको छ। यसका साथै नेवारी वेशभूषा र परम्परागत सामग्री प्रदर्शनीमा नेवारी संस्कार र वेशभूषा, माटोका भाँडाकुँडा, सेरामिक्स, मूर्ति र मूर्तिकला प्रदर्शनीमा राखिएका छन्।
नेवाः संस्कारका अलवा नेपाली मुद्रा र सिक्का प्रदर्शनी, परम्परागत खेलकुद, र दाफा भजनसहितका भजनकीर्तन पनि प्रदर्शन भइरहेका छन्।
इतिहास हेर्ने हो भने यसअघि मध्यपुर महोत्सव पहिलो पटक २०५५, दोस्रो पटक २०५८, र तेस्रो पटक २०६१ मा आयोजना गरिएको थियो । साथै, वः महोत्सव, धिमे बाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, र भजन गायनजस्ता कार्यक्रमले यो संस्करणमा पनि निरन्तरता पाएको छ।
तस्बिरहरू