काभ्रेको पनौतीमा कुलोले बगाउँदा एक जना महिला बेपत्ता भएकी छन्।
सोमबार अपराह्न साढे ४ बजेतिर पनौती नगरपालिका-५ स्थित सुब्बा गाउँमा कुलोले बगाएर एक जना महिला बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले जानकारी दिए।
उनका अनुसार सोही ठाउँ बस्ने अन्दाजी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी हुन्।
पनौती/बनेपा क्षेत्रमा सोमबार अपराह्नमा भीषण वर्षा भएको थियो।
वर्षाकै क्रममा कुलो तर्नेक्रममा ती महिला बेपत्ता भएको एसपी शाहले बताए।
अहिले प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी गरिरहेको छ।
पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले आजको वर्षातपछि रोशी खोलामा पुनः बाढी आएको बताए।
गत असोजको बाढीपछि अस्थायी रूपमा ल्याएको खानेपानीका पाइप बगाएको छ भने प्रदेश सरकारको बजेटबाट बन्दै गरेका दुई वटा पुलमा क्षति पुर्याएको छ।
‘वडा नम्बर ९ मा बन्दै गरेको एउटा र १० र ११ नम्बर वडाको सिमानामा बनेको अर्को पुलमा क्षति पुर्याएको छ। एउटा पुलको त आज फर्मा ठोकेर ढलानकार्य हुँदैथियो,’ उनले भने।
गत असोजको बाढीपछि बनाएको तीन किलोमिटर अस्थायी बाटो पनि बगाएको उनले बताए।
आजको बाढीले विशेष गरेर वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० ज्यादा प्रभावित बनेको उनले बताए।
‘वैशाखमा यस्तो बाढी आएको कहिले पनि थाहा थिएन। मनसुन नलाग्दै आएको भीषण बाढीले पुनः पनौतीलाई क्षतविक्षत बनाएको छ। मुखमा आएको आलुबालीमा ठूलो क्षति पुर्याएको छ, हामी ठूलो पीडामा छौं,’ उनले भने।
गत असोजको बाढीमा परी पनौती नगरपालिकामा मात्रै २२ जनाको निधन भएको थियो। भर्खर पुनःनिर्माण सुरू भएको थियो।
उनका अनुसार रोशी तटबन्धका लागि संघीय सरकारले बजेट विनियोजन गरी भर्खर १ करोड ६२ लाखको ठेक्का आह्वान भएको थियो।
विभिन्न दातृ निकायको सहयोगबाट अस्थायी रूपमा ल्याएको खानेपानीका पाइप बगाउँदा पनौती क्षेत्र झन् ठूलो संकटउन्मुख भएको उनले बताए।