काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा रहेको रोशी खोलाको बाढीले बिपी राजमार्गको डाइभर्सन बगाएको छ।
सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म परेको अविरल वर्षापछि रोशीमा आएको लेदोसहितको बाढीले रोशी गाउँपालिका–१२ मा रहेको डाइभर्सन बगाएको काभ्रे प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए।
उनका अनुसार नदीको बहाव अहिले घटेको छ। तर रात परेकाले अस्थायी बाटो बनाउन सक्ने अवस्था छैन। त्यसैले सिन्धुलीतर्फबाट आउने र धुलिखेलतर्फबाट जाने सवारी साधन रोकिएका छन्।
त्यस क्षेत्रमा सोमबार ६ घन्टामा ४३.२ मिलिमिटर पानी परेको थियो। पनौती क्षेत्रमा धेरै क्षति भएको छ। सडक, पुल र बालीनालीमा पनि क्षति पुर्याएको छ।
नमोबुद्ध–६ मा पनि खरिबोटमा पनि डाइभर्सन बगाएको छ। सिपाली–महाभारत जाने डाइभर्सन बगाएको स्थानीयले बताएका छन्।
मौसमविदलाई प्रश्न– पनौतीमा एक्कासि कसरी आयो बाढी?
—अक्षर काका
गत असोज १० देखि १३ गतेसम्म परेको रेकर्ड ब्रेकिङ वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्र तहसनहस बनाएको थियो।
रोशी किनारका बस्ती र सडक खण्डहर बनेको थियो। त्यस क्षेत्रमा सञ्चालित क्रसर, ढुंगा तथा बालुवा खानीले उक्त विध्वंशमा सहयोगी भूमिका खेलेको थियो। क्रसर उद्योगहरूबाट निस्किएको धूलो खोला किनारमा थुपारिएको थियो। त्यसलाई बाढीले बगाउँदा भेलबाढीको रूप लिएको थियो। र, तटीय क्षेत्रमा विध्वंश निम्तिएको थियो।
गत असोजमा उक्त क्षेत्र (खोपासी) मा ३३१.६ (असोज १२ गतेको २४ घन्टाको वर्षा मापनका आधारमा) मिलिमिटर पानी परेको थियो। उक्त वर्षा ३ सेप्टेम्बर सन् २०१५ पछिको धेरै वर्षा हो। सन् २०१५ मा उक्त क्षेत्रमा २७६.९ मिलिमिटर पानी परेको अभिलेख छ।
असोज १० देखि १३ गतेसम्मको बाढीले उक्त क्षेत्रमा २०३८ सालपछि ठूलो विपत्ति निम्त्यायो। यद्यपि त्यस क्षेत्रमा २०२८ सालमा पनि बाढी गएको स्थानीय बताउँछन्।
असोजका बाढीले पुर्याएको क्षतिका अवशेषहरू अझै देख्न सकिन्छ। भेलबाढीले बगाएका घरहरू अझै उठ्न सकेका छैनन्। बाढीले बगाएको खानेपानी आयोजना, सडक, पुल–पुलेसा समेत पुनः निर्माण हुन सकेका छैनन्।
अहिले उक्त क्षेत्रमा पुनः बाढी गएको छ।
सोमबार दिउँसो एक बजेदेखि पाँच बजेसम्म परेको अविरल वर्षापछि कुलोमा बाढी आउँदा एक जना महिला बेपत्ता भएकी छन्। उनको अवस्था हालसम्म पनि अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ।
साढे ४ बजेतिर पनौती नगरपालिका–५ स्थित सुब्बा गाउँमा कुलोले बगाउँदा सोही ठाउँ बस्ने अन्दाजी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी काभ्रेका एसपी कोमल शाहले जानकारी दिए।
वैशाखमा पनौती क्षेत्रमा एक्कासि कसरी बाढी आयो भनेर हामीले मौसमविद रोजन लामिछानेलाई सोध्यौं।
उनले खोपासी क्षेत्रमा पछिल्लो ६ घन्टामा ४३ मिलिमिटर पानी परेको बताए। पछिल्लो तीन घन्टामा २० मिलिमिटर वर्षा भएको छ।
मौसमविदका अनुसार यो ठूलो वर्षा होइन। ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा नै भनिन्छ। तर ६ घन्टामै ४३ मिलिमिटर र ३ घन्टामा २० मिलिमिटर हुनु चाहिँ धेरै वर्षा नै हो।
'२४ घन्टामा ४३ मिलिमिटर पानी परेको भए त्यति धेरै क्षति गर्दैन थियो। थोरै समयमा धेरै वर्षा भएकाले एक्कासि बाढी आउने अवस्था बन्यो,' उनले भने।

अहिले प्रि–मनसुन चलिरहेको छ। नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ। स्थानीय वायु पनि सक्रिय भइरहेको छ। त्यसका अतिरिक्त अरब सागरबाट पनि उच्च जलवाष्पसहितको वायु नेपाल भित्रिरहेको छ।
यसका कारण पछिल्ला केही दिनदेखि नेपालको पहाडी भेगमा आंशिक बदली र वर्षा भइरहेको छ। क्षति निम्त्याउने गरी भीषण वर्षा भएको पनौती क्षेत्रमा मात्रै हो।
प्रि–मनसुन याममा मेघगर्जनसहित क्षणिक समयमा धेरै वर्षा हुने हुँदा बाढीको जोखिम हुने मौसमविद लामिछानेले बताए। तर पनौती भेगमा मानिसहरू वैशाख महिनामा आएको बाढीले आश्चर्यमा परेका छन्।
'हामीले वैशाखमा यस्तो बाढी देखेकै थिएनौं। हुन त गत असोजको विध्वंश पनि यस भेगका मानिसले देखेका त के अनुमान पनि गरेका थिएनन्। हाम्रो क्षेत्रमा नसोचेका घटना भइरहेका छन्,' पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले भने।
सोमबारको बाढीले पनि अकल्पनीय क्षति पुर्याएकाले विवरण संकलन गर्ने काम भइरहेको उनले बताए। गत असोजको बाढीपछि अस्थायी रूपमा ल्याएको खानेपानीका पाइप सोमबारको बाढीले बगाएको छ। त्यस्तै प्रदेश सरकारको बजेटबाट बन्दै गरेका दुइटा पुलमा क्षति पुर्याएको छ।

वैशाख २९ गते सोमबार पनौती क्षेत्रमा आएको बाढी हेर्दै स्थानीय। तस्बिर स्रोतः पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी
'वडा नम्बर ९ मा बन्दै गरेको एउटा र १० र ११ नम्बर वडाको सिमानामा बनेको अर्को पुलमा क्षति पुर्याएको छ। एउटा पुलको त आजै (सोमबार) फर्मा ठोकेर ढलान हुँदै थियो,' उनले भने।
गत असोजको बाढीपछि बनाएको तीन किलोमिटर अस्थायी बाटो पनि बगाएको उनले बताए। बाढीले विशेषगरी वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० ज्यादा प्रभावित भएको उनले बताए।
'मनसुन नलाग्दै आएको भीषण बाढीले पुनः पनौतीलाई क्षतविक्षत बनाएको छ। तयार भएको आलुबालीमा ठूलो क्षति पुगेको छ। हामी ठूलो पीडामा छौं,' उनले भने।
गत असोजको बाढीमा परी पनौती नगरपालिकामा मात्रै २२ जनाको निधन भएको थियो। भर्खर पुनः निर्माण हुन थालेको थियो। मेयर भण्डारीका अनुसार रोशी तटबन्धका लागि संघीय सरकारले बजेट विनियोजन गरी भर्खर १ करोड ६२ लाख रूपैयाँको ठेक्का आह्वान भएको थियो।
विभिन्न दातृ निकायको सहयोगबाट अस्थायी रूपमा ल्याएको खानेपानीको पाइप बगाउँदा पनौती क्षेत्र झन् ठूलो संकट उन्मुख भएको उनले बताए।