प्रहरीले माइक्रो बस चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
स्याङ्जा बिरूवा गाउँपालिका-१ घर भइ बनस्थली बस्दै आएका १९ वर्षीय सुदिप थापालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक अपिलराज बोहोराले जानकारी दिए।
उनका अनुसार बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरको पार्किङ स्थलबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रो बस सोमबार (वैशाख २९ गते) चोरि भएको थियो।
'माइक्रो बस चोरी गरी सुदिपले चलाएर धादिङ जिल्ला पुर्याएका थिए,' उनले भने, 'उनलाई उक्त सवारीसाधनसहित जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा नियन्त्रणमा लिएको हो।'
सुदिपमाथि चोरी सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।