रसुवामा बाढी प्रभावित ठाउँमा सुरक्षाकर्मीहरूले सम्पर्कबिहीन भएका व्यक्तिहरूको खोजी गरिरहेको छ।
बुधबार बिहानैदेखि नेपाली सेनाको श्रीनाथ गणको टोलीले प्रभावित क्षेत्रमा सम्पर्कबिहीन भएका व्यक्तिहरूको खोजी थालेको हो।
नेपाली सेनासँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले पनि खोजी गरिरहेको छ।
टिमुरे सडक खण्डको विभिन्न स्थानमा पहिरो समेत गएको छ। उक्त पहिरो हटाउन सेनाको टोली गोसाइकुण्ड-५, चिलिमे हाइड्रपावर र रोंगापुल इलाकामा खटिएका छन्।
मंगलबार बिहान ३ बजेतिर रसुवागढीमा आएको बाढीमा परी २० जना बेपत्ता भएका थिए।
बाढीमा नेपाल प्रहरीका तीन जना, चिनियाँ नागरिक ६ जना र बाँकी भन्सारमा कार्यरत कर्मचारी तथा चालकहरू सम्पर्कबिहीन भएका हुन्। त्यसमध्ये नेपाल प्रहरीका सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका-२९ पन्ध्रकिलोस्थित त्रिशूली नदी किनारमा फेला परेको छ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म ९ वटा शव र शरीरका अंग फेला परेका छन्। ती शवको सनाखत हुन बाँकी छ।
रसुवागढीमा आएको बाढीले चीनसँग जोडिने मितेरी पुल भत्किएको छ। त्यस्तै भन्सार यार्डको संरचनामा पनि क्षति पुर्याएको छ। भन्सार यार्डमा राखिएका ६४ वटा गाडी बाढीले बगाएको थियो।