बबई नदीमा पानीको सतह बढेपछि डुबान पर्नसक्ने स्थानहरूमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
सो नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्नसक्ने भएकोले सशस्त्र प्रहरी परिचालन गरिएको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७.१७ मिटर पुगेको छ। पानीको सतह अझै बढ्दो क्रममा छ। त्यहाँ पानीको सतह ६.८० पुगेपछि खतराको तह मानिन्छ।
डुबानमा पर्नसक्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र थापाको कमाण्डमा विपद व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजमा परिचालित भएको हो।
त्यस्तै डुबानमा पर्न सक्ने क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद व्यवस्थापन सामग्रीसहित तयारी हालतमा राखिएको छ।