रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रामानन्द प्रसादले दोहोरो नागरिकता लिएको उजुरी परेपछि जिल्ला प्रशासनले उनीमाथि छानबिन गरिरहेको छ।
दुई महिनाअगाडि वडाध्यक्ष प्रसादमाथि दोहोरो नागरिकता लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
उनीमाथि थुप्रै उजुरीहरू परेका छन्। त्यही सिलसिलामा अनुसन्धान हुँदै गर्दा दोहोरो नागरिकता लिएको उजुरी पनि आएको थियो।
नागरिकता हेर्ने विषय कार्यक्षेत्रमा नपर्ने भएकाले साउन ७ गते सम्बन्धित जिल्लामा पठाइएको अख्तियारको भनाइ छ।
'प्रशासनले उनीमाथि छानबिन गरिरहेको छ,' अख्तियार स्रोतले भन्यो।
वडाध्यक्ष प्रसादको फोटो टाँसिएको भारतको नागरिकता भेटिएको जिल्ला प्रशासन कार्यालयका रौटहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले जानकारी दिए।
'वडाध्यक्ष प्रसादको अनुहार मिल्ने भारतको नागरिकता भेटिएको छ,' उनले भने, 'विवरण फरक-फरक छ तर फोटो मिल्दोजुल्दो छ।'
उनका अनुसार भारतबाट पप्पु यादवको नाममा नागरिकता लिएको नागरिकतामा वडाध्यक्ष प्रसादको फोटो टाँसिएको छ।
त्यही फोटोको मतदाता परिचयपत्रसमेत भेटिएको छ। तर भारतमा र नेपालको नागरिकता बुबा-आमाको नाम, थरसमेत फरक-फरक छ।
फोटो मिल्ने देखिएपछि १०/१५ दिनअघि उनलाई प्रशासनमा बोलाएर सोधपुछसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।
'वडाध्यक्ष प्रसादले आफूले दोहोरो नागरिकता नलिएको बताएका छन्। यसबारे थप बुझ्न हामीले भारतीय दूतावासलाई पनि भनेका छौ। केही जबाफ आएको छैन,' उनले भने।
वडाध्यक्षकै फोटो भएको भारतीय र नेपालको नागरिकताको विवरण राखेर थप अनुसन्धान अगाडि बढाउन प्रहरीलाई पनि भनिएको छ।
नेपाल नागरिकता ऐन, २०६३ अनुसार झुटो विवरण लिएर नागरिकता लिएको देखिएमा थप अनुसन्धान प्रहरीले गर्ने कानुनी व्यवस्था छ। सोही अनुसार प्रहरीलाई पत्रलेखेर थप अनुसन्धान गरी पुष्टि भएका कानुनी कारबाही अगाडि बढाउन भनिएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दिपककुमार राईले पनि दुई साताअगाडि थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउनका लागि प्रशासनबाट पत्राचार गरिएको बताए।
'पत्र आएको हो, हामीले यसमा अनुसन्धान प्रक्रिया अगाडि बढाउँदैछौं तर तत्काल केसमा केही अपडेट भइसकेको छैन,' उनले भने।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा रामानन्द प्रसाद नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई वडाध्यक्ष निर्वाचित भएका थिए।