जिल्ला प्रहरी परिसर काठमाडौंमा एक वर्षभित्र चार लाखभन्दा बढी फोन आएका छन्।
विभिन्न घटनाका सूचना दिनलाई मात्रै एक वर्षमा चार लाख २८ हजार ९६ वटा फोनकल भएको परिसरका प्रमुख तथा एसएसपी विश्व अधिकारीले जानकारी दिए।
उनका अनुसार यो विवरण आर्थिक वर्ष २०८१/०८२ को हो।
सबभन्दा धेरै फोन झगडा भएको भन्नेबारेमा आउने गरेको एसएसपी अधिकारीले बताए।
झगडा भएको भन्ने घटनामात्रै २९ हजार १४८ वटा रहेका छन्।
त्यस्तै २७ हजार ९६८ पटक फोन कल विवादमा भएको प्रहरी परिचालन कक्षको रेकर्डमा देखिएको हो।
त्यसपछि सवारी दुर्घटना १३ हजार ६४५, चोरी सम्बन्धी ६ हजार ४५८, कुटपिट ५ हजार १११, घरेलु हिंसा ४ हजार ५४५, मापसे गरी होहल्ला गरेको भन्ने ४ हजार ३४४, आगलागी सम्बन्धी २ हजार ७२२ र
मानिस हराएको भन्ने १ हजार ६५९ पटक सूचना प्रहरीले प्राप्त गरेको छ।
यौनजन्य दुर्व्यवहारबारे पनि १ हजार ४२१, जुवातास १ हजार २१६ र लागुऔषध १ हजार १९२ पटक सूचना प्राप्त भएको हो।