आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले पाकिस्तानलाई जितका लागि ३३८ रनको लक्ष्य दिएको छ।
कलकत्ताको इडेन गार्डेनमा टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा ३३७ रन बनाएको हो।
फराकिलो योगफल तयार गर्न इंग्ल्याण्डका बेन स्टोक्सले ८४ रन बनाए। उनले ७६ बलमा ११ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै जो रूटले ७२ बलमा ४ चौका प्रहार गरी ६० रन बनाउँदा जोनी बैर्स्टोले ६१ बलमा ७ चौका र १ छक्का प्रहार गरी ५९ रनको योगदान गरे।
डविड मलानले ३१ रन, ह्यारी ब्रुकले ३० रन र कप्तान जोश बट्लरले २७ रन जोडे।
बलिङतर्फ पाकिस्तानका हरिश रौफले ३ विकेट लिए। शाहिन अफ्रिदी र मोहम्मद वासिमले २/२ विकेट लिँदा इफ्तिखर अहमदले एक विकेट लिए।