चार देश सम्मिलित महिला टि–२० सिरिजमा तान्जानियाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको छ।
तान्जानियाकी हुड्डा ओमरीले २५, आइसा मोहम्मदले २१, सउम एम्तेइले १६, फातुमा किबसुले ११ र मोनिका पास्कलले १० रन बनाए
बलिङमा नेपालकी संगिता राईले २ विकेट लिइन्। पुजा महतो, रूबिना चौधरी र इन्दु बर्माले एक/एक विकेट लिए।
आइसिसी बरियतामा तान्जानिया १९औं स्थानमा छ भने नेपाल २१औं स्थानमा रहेको । जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।
नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन्।
कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नयाँ कप्तान चयन गरेको हो।
क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दैआएकी थिइन्।
नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।