आइसिसी यू-१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटमा नेपालले सुरूवाती तीन खेल जितेको छ।
पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमानलाई ८ विकेटले हराएको नेपालले बुधबार तल्लो मुलपानी मैदानमा भएको खेलमा हङकङलाई ९ विकेटले पराजित गर्यो।
लगातार तीन जित निकालेको नेपालले अब शनिबार अफगानिस्तानसँग तल्लो मुलपानी मैदानमा निर्णायक खेल खेल्नेछ।
बुधबार युएईसँग खेलिरहेको अफगानिस्तानले यसअघिका दुई खेलमा लगातार जित निकालेको छ। त्यसैले शनिबार हुने नेपालविरूद्धको खेल अफगानिस्तानका लागि निर्णायक नै हुनेछ।
एसिया छनोटअघि नेपाल र अफगानिस्तान तीन खेलको एकदिवसीय सिरिज खेलेका थिए। तल्लो मुलपानी मैदानमा भएको सिरिजको सुरूवाती खेलमा नेपालमाथि अफगानिस्तान हाबी भएको थियो। यद्यपी दोस्रो र तेस्रो खेलमा नेपालले पुनरागमन गर्यो। दोस्रो खेलमा एक रनले पराजित भएको नेपालले अन्तिम खेलमा जित निकालेको थियो।
अफगानिस्तानसँग मुलपानी मैदानमा अभ्यास सिरिज खेल्दा फाइदा पुगेको नेपालका कप्तान नरेन भट्ट बताउँछन्।
युएईविरूद्धको पहिलो खेलमा अर्धशतक प्रहार गरेका नरेनले बुधबार हङकङसँग पनि उत्कृष्ट ब्याटिङ गरे। पछिल्ला खेलमा लयमा फर्कदा आफ्नो आत्मविश्वास बढेको नरेनको भनाइ छ।
नेपालका लागि लेगस्पिनर युवराज खत्रीले पछिल्ला दुई खेलमा नौ विकेट लिइसकेका छन्। उनी सफल हुँदा टोलीका लागि फाइदा पुग्ने कप्तान भट्टले बताए।
नेपालका प्रशिक्षक शक्ति गौचन पनि युवराज ‘टोलीको ट्रम्प कार्ड’ भएको बताउँछन्।
युवराजले यसअघि अफगानिस्तानविरूद्धको अभ्यास सिरिज खेलेका थिएनन्। उनी घाइते भएका कारण अफगानिस्तानविरूद्ध नखेलेको कप्तान भट्टले जानकारी दिए।
नेपाल र अफागनिस्तानबीचको निर्णायक खेल तल्लो मुलपानी मैदानमा शनिबार हुनेछ। यो खेल जित्न सके नेपालले नवौं पटक युवा विश्वकप खेल्नेछ।
सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा एसियाबाट एक टोलीमा मात्र छनोट हुने व्यवस्था छ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।